बेलझुण्डी कोरोना अस्पतालका स्वास्थ्यकर्मी भन्छन्–‘तिहार रमाइलोसँग मनाउनु होला हामी त डिउटीमा छौं ।’

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

 

प्रियास्मृति ढकाल-
दाङ ३०, कात्तिक ।
कोरोना विशेष अस्पताल बेलझुण्डी दाङका हेल्थ असिस्टेन्ट दोर्ण बहादुर वलीलाई संक्रमितको व्यवस्थापन र उपचारमा खटिएकै बेला कात्तिक ६ गते कोरोना भाइरस संक्रमण पुष्टि भयो । दशैं आउन चार दिन बाँकी रहेका बेला उहाँलाई भाइरस संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पतालमै संक्रमितहरुसँगै दशैं मनाउनुभयो ।

‘संक्रमितहरुलाई टीका लगाइदिए, छिट्टैभाइरस संक्रमण मुक्त भएर घर फर्किनुहोस् भनेर शुभकामना दिए’ उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो । उहाँमात्र होइन् कोरोना विशेष अस्पतालमा खटिएका सबैले दशैं अस्पतालमै मनाए । दशैंमात्र होइन् तिहारपनि उनीहरुले अस्पतालमै मनाउने छन् । अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक , ६ जना मेडिकल अधिकृत, १३ जना नर्स, २ जना प्यारामेडिक्स र ६ जना कार्यालय सहयोगीगरी ३३ जना खटिएका छन् ।

साउन महिनादेखि संक्रमित विरामीको उपचारमा खटिएका उनीहरु बिदा बसेका छैनन् । ‘हामी त युद्धमा होम्मिएका सिपाइ हौं अस्पतालको कमाण्ड सम्हाल्दै आउनुभएका राप्ती प्रादेशिक अस्पतालका मेसु डा सर्बेश शर्माले भन्नुभयो–‘चाडपर्व अर्को बर्ष मनाउला तर यसपालि युद्ध जित्नु छ ।’ युद्ध जित्नु भनेको कोरोना भाइरस संक्रमणबाट विरामीलाई निको बनाएर घर फर्काउनु हो ।

यसैपनि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई चाडपर्व परिवारसँग मनाउने वातावरण कमै मिल्छ । तर यसपालि भने स्थिति फरक छ । भाइरस संक्रमणका कारण संक्रमितहरु थपिनेक्रम रोकिएको छैन् । उनीहरुको उपचारमा अहोरात्र खटिरहनु पर्ने अवस्था छ । अझ महामारी भएका कारण सिधै घरपरिवारसँग नजिक हुन पनि गाह्रो छ । किनकी त्यहीबाट परिवारका सदस्यहरुमा भाइरस संक्रमण सर्ने जोखिम बढी हुन्छ ।

हेल्थ असिस्टेन्ट वलीले चार महिनादेखि आफुहरु बिदा नलिएर विरामीको उपचारमा निरन्तर खटिएको बताउनुभयो । ‘तपाईहरु तिहार रमाइलो गरी मनाउनुहोस् उहाँले भन्नुभयो–‘हामी त डिउटीमा हुने छौं ।’ कोरोना बिशेष यो अस्पतालमा संक्रमितको उपचारमा खटिएका अधिकांश जनशक्तिलाई भाइरस संक्रमण समेत पुष्टि भइसकेको छ ।

 

उनीहरु त्यही उपचार गरेर संक्रमण जितेका छन् । र, फेरी संक्रमित विरामीकै उपचारमा खटिएका छन् । त्यहाँ खटिएका जनशक्ति त्यही बस्छन्, त्यही खान्छन् । उनीहरुलाई खाना, बस्न, भत्ता र तलव सबैको व्यवस्था गरिएको मेसु शर्माले बताउनुभयो । मेसु शर्माले चाडपर्वमा पनि कोरोना भाइरस संक्रमितहरुले नियमित उपचार पाउने बताउनुभयो । ‘सामान्य दिनमा जुन तरिकाले सेवा पाउनु भएको थियो, त्यही तरिकाले तिहारमा पनि पाउनु हुने छ’– उहाँको थप भनाइ थियो ।

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech