कोरोना बिमामा गैरजिम्मेवार बनेका इन्स्योरेन्स

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७७, शुक्रबार

 

नेपालगन्ज २८, कात्तिक ।

बिमा गराउने बेला १ वर्षभित्रमा कोरोना लागेर पीसीआर पोजेटिभ आए त्यही रिपोर्टको आधारमा रु १ लाख पाउनुहुन्छ भनेर सुरुसुरुमा धमाधम बिमा गराइयो। कोरोनाले समायो, पीसीआर पोजिटिभ पनि आयो। बिमा एजेन्टलाई फोन गरियो । पोजेटिभ आएको ७ दिनभित्र दावी गर्नुपर्छ भन्ने मौखिक सूचना पाइयो। त्यहीअनुसार पत्रकार दामोदर भण्डारीले पनि शिखर इन्स्योरेन्समा जानकारीसहित सबै कागजपत्र तयार पारेर पठाउनुभयो ।

उहाँले कागजपत्र पठाएको महिना दिन वितिसक्यो तर अहिलेसम्म विमा रकम पाउनु भएको छैन् । ‘बिमा गराउने बेला एजेन्टहरुले कोरोना पुष्टि भएको सातदिन भित्रै विमा पाउनु हुन्छ भनेर बिमा गराए उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘तर कोरोना पुष्टि भएको अढाइ महिना वितिसक्दा समेत विमा रकम पाएको छैन् ।’ उहाँलाई भदौ १५ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै नेपालगन्जका अधिबक्ता पूर्ण ढकालले पनि बिमावाफतको रकम पाउनुभएको छैन् । उहाँलाई नेको इन्स्योरेन्सले बिमा गराएको थियो । दुई महिना वितिसक्दा समेत बिमा कम्पनीले रकम नदिएको उहाँले बताउनुभयो । उहाँलाई भदौ २७ गते भाइरस संक्रमण पुष्टि भएको थियो । मंसिरसम्म बिमा रकम नपाए कानुनी प्रक्रिया खोज्ने चेतावनी ढकालको छ । अधिवक्ता ढकाल र पत्रकार भण्डारीमात्र होइन् कोरोना बिमा गराएका बाँकेका अधिकांशको पीडा यस्तै छ ।

सुरुको लटमा बिमा गराएकाहरुले रकम पाएपनि पछिल्लो दुई महिना यता बिमा गराएकाहरुले आफुलाई संक्रमण पुष्टि भएपछि बिमा दावीको सबै कागजपत्र तयार पारेर इन्स्योरेन्स कम्पनीलाई बुझाएपनि रकम भने पाएका छैनन् । बिमा गराउँदा सात दिनभित्र पाइहाल्नु हुन्छ भन्दै एजेन्टहरुले बिमा गराएका थिए । तर दुई महिना वितिसक्दा समेत बिमा रकम उपलब्ध गराउन नसक्दा बिमितहरु इन्स्योरेन्स कम्पनीप्रति आक्रोसित भएका छन् ।

अघिल्लो सातामात्रै सरकारले समेत सात दिनभित्र बिमितहरुलाई बिमा रकम उपलब्ध गराउन निर्देशन दिइसकेको छ । बिमा गराइसकेपछि भनेकै समयमा बिमितलाई रकम उपलब्ध गराउन नसक्नु इन्स्योरेन्स कम्पनीहरुको ठगीधन्दा भएको एकजना बिमितले स्वास्थ्य पेजलाई बताए । बिमा रकम नदिने भए किन बिमा गराउ भन्दै हारगुहार गरेर घरघर र अफिसअफिस एजेन्टहरुलाई खटाएको ? उनले इन्स्योरेन्स कम्पनीप्रति आक्रोसित हुँदै भने–‘यो सरासर ठगी हो ।’ नेपालगन्जमा करिव २० को हाराहारीमा इन्स्योरेन्स कम्पनी छन् । ती सबैले कोरोना बिमा गराएका छन् । त्यसमा पनि सबैभन्दा धेरै बिमा गराउनेहरुको सूचिमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स, सिद्धार्थ, सगरमाथालगायत छन् ।

धेरै बिमा गराएका यीनै कम्पनीहरुले समेत बिमितहरुलाई रकम दिन सकेको छैनन् । बीमा कम्पनीले बाँकेमा २५ हजारबढीको कोरोना बिमा गरेको छ । त्यसमध्ये अहिलेसम्म तीन सय बिमितहरुले दाबी गरिसकेका छन् । त्यसमा ५० जनाको कागजपत्र अझै नपुगेको कम्पनीका नेपालगन्ज शाखा प्रमुख नवीन पौडेलले बताउनुभयो । सरकार तथा बिमा समितिले एकहप्तामै बिमितहरुलाई रकम दिन भने पनि त्यो सम्भव नभएको उहाँको भनाइ छ ।

‘कागतपत्र र प्रक्रिया पुर्याउनमै १०–१५ दिन लाग्छ उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘सात दिनमा कसरी रकम दिन सकिन्छ ?’ कम्पनीले बिमितहरुलाई रकम दिन ढिला भएको भने स्विकार गरेको छ । उहाँले तिहारपछि बिमितहरुले रकम पाउने दावी गर्नुभयो । ‘बिमितहरुले समयमै रकम पाउनु पर्नेमा कुनै शंका छैन तर प्रक्रिया पुर्याउनै समय लाग्छ’ उहाँको थप भनाइ थियो ।

कोरोना बिमा गरेकाले संक्रमण पुष्टि भइसकेपछि बिमा रकम पाउन कम्पनीलाई संक्रमण भएको जानकारी पत्र, दावी पत्र, पीसीआरको सक्कली पत्र, अस्पताल वा आइसोलेसनबाट डिस्चार्ज गरेको कार्ड, नागरिकता, होम आइसोलेसनमा बसेको भए वडाको सिफारिस, कार्यालय भए कार्यालयको सिफारिस, बिमा गराएको पत्र पेश गर्नु पर्ने हुन्छ ।

तर यी सबै कागजपत्र बुझाएकाहरुले पनि बिमा रकम पाउन नसकेको गुनासो सुनाएका छन् । सरकार र बिमा समितिले कातिक १८ गते इजाजत प्राप्त बिमा कम्पनीलाई संक्रमण पुष्टि भएको सात दिनभित्र बिमा रकम भुक्तानी गर्न परिपत्र नै गरेको छ ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech