बर्दिया अस्पतालमै अव कोरोना जाँच हुने, एम्बुलेन्स थपियो, जोखिम भत्ता बाँडियो

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

 

नेपालगन्ज २४, कात्तिक ।

बर्दिया अस्पताल गुलरियामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन जडान गरिने भएको छ । मेसिन खरिदका लागि प्रक्रिया अघि बढिसकेको अस्पतालले जनाएको छ । स्थानीय तहको सहयोगमा जिल्लामा रहेको एकमात्र बर्दिया अस्पतालमा पीसीआर मेसिन जडानको प्रक्रिया सुरु भएको अस्पताल प्रमुख डा सुभाष पाण्डेले जानकारी दिनुभयो ।

जिल्लामा रहेका ८ वटा पालिकाको २०-२० लाखको सहयोगमा पीसीआर मेसिन खरिद गर्न लागिएको उहाँको भनाइ छ । जिल्लामा पीसीआर मेसिन नहुँदा संकलित स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगन्जमा पठाउने गरिएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार, पहिले पहिले त झन् दाङ समेत स्वाब परीक्षणका लागि पठाउने गरिएको थियो । पहिलो चरणमा ती पालिकाहरुले १०-१० लाख रुपैयाँ जम्मा गरिसकेका छन् ।

‘एक महिनाभित्रैमा मेसिन जडानको काम सक्नेगरी तयारी गरिएको छ प्रमुख डा पाण्डेले स्वास्थ्य पेजलाई भन्नुभयो–‘अहिले कोभिड भवन निर्माणको काम पनि भइरहेको छ ।’ अस्पताल परिसरमै कोभिड भवन बनाउन लागिएको उहाँको भनाइ छ । त्यसका लागि जिल्ला समन्वय समिति र गुलरिया नगरपालिकाले करिव डेढ करोड रकम उपलब्ध गराएका छन् । उपभोक्ता समितिमार्फत अहिले भवन निर्माणको काम धमाधम भइरहेको छ ।

थपियो एम्बुलेन्स
बर्दिया अस्पतालमा एम्बुलेन्स थपिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा अस्पतालमा एम्बलेन्स थपिएको हो । अस्पतालका प्रमुख डा सुभाष पाण्डेका अनुसार मन्त्रालयले दिएको १० लाख ४० हजारमा एम्बुलेन्स खरिद गरी संचालनमा ल्याइएको हो । अस्पतालसँग अव दुई वटा एम्बुलेन्स भएको छ । एउटा एम्बुलेन्सलाई कोभिडका विरामी र शव बोक्न प्रयोग गरिएको छ भने अर्को एम्बुलेन्सलाई ननकोभिडका विरामी बोक्न प्रयोग गरिएको छ । यसअघि अस्पतालसँग एउटै एम्बुलेन्स हुँदा कोभिडका विरामीहरु बोक्नलाई समस्या परेको थियो ।

४० लाख जोखिम भत्ता वितरण
बर्दिया अस्पतालले ४० लाख जोखिम भत्ता वितरण गरेको छ । संघीय सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता वितरण गर्न अस्पताललाई ४० लाख पठाएको थियो । सरकारले पठाएको उक्त रकम दुई दिनमै वितरण गरिएको अस्पताल प्रमुख डा पाण्डेले बताउनुभयो । जोखिम भत्ता वितरणका लागि बनेको कार्यविधि अनुसार नै भत्ता वितरण गरिएको उहाँको भनाइ छ ।

बर्दिया अस्पतालमा १ सय १२ जना कर्मचारी छन् । तीमध्ये दुईजना अध्ययन विदामा छन् । अस्पतालले १ सय १० जना कर्मचारीलाई जोखिम भत्ता वितरण गरेको जनाएको छ । स्थायी, करार ज्यालादारीलगायतका सबै कर्मचारीलाई भत्ता वितरण गरिएको हो ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech