भारत र तेस्रो मुलुकबाट आउनेलाई बर्दियामा १० दिन होम क्वारेन्टिन अनिवार्य

    • स्वास्थ्य पेज

  • ९ चैत्र २०७७, सोमबार

गुलरियाः जिल्ला प्रशासन कार्यालय बर्दियाले भारत तथा तेस्रो मुलुकबाट जिल्ला भित्रिने नागरिकहरुलाई १० दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिने क्रम बढेपछि भारतसँग जोडिएको बर्दिया जिल्लाले उच्च सावधानी अपनाउन सबै नागरिकलाई भनेको हो ।

जिल्ला प्रशासन कार्यालयले सोमवार एक विज्ञप्ती जारी गरी जिल्ला भित्र कुनै प्रकारका राजनीतिक भेला, गोष्ठि, सभा, सम्मेलन, महोत्सव, खेल गतिविधिमा समेत रोक लगाएको छ ।

पहिलो चरणको कोरोना भाइरस महामारीबाट बर्दियामा ६ जनाले ज्यान गुमाएका थिए । १ हजार ५ सय ८ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् ।

शंकास्पदलाई क्वारेन्टिन

सरकारले छिमेकी मुलुक भारतको सीमा नाकाबाट नेपाल प्रवेश गर्नेलाई क्वारेन्टिनमा राख्‍ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा कृष्ण पौडेलले भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने बताउनुभयो ।

सोमबारमात्रै विभिन्न नाका भएर ३३ सय जना नेपाल प्रवेश गरेका छन् । उहाँले सोमबार मात्रै भारतीय १४ सीमा नाकाबाट ३३ सय मानिस नेपाल भित्रिएको बताउँदै संक्रमणको शंका लागे क्वारेन्टिनमा राख्नेक्रम सुरु भएको बताउनुभयो । उहाँका अनुसार अन्‍य ५१ शंकास्पद सक्रिय संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech