मोटोपन स्वास्थ्यका लागि राम्रो होइन । तर, समाजमा कतिपय व्यक्तिहरू दुब्लोपनका कारण पनि उत्तिकै समस्यामा परिरहेका छन् । वास्तवमा शरीर स्वस्थ राख्नका लागि उचाइअनुसारको सन्तुलित तौल आवश्यक हुन्छ । अत्यधिक मोटोपन वा अत्यधिक दुब्लोपन दुवै स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । विशेषगरी, पोषक तत्वको कमी, असन्तुलित खानपान तथा विभिन्न रोगका कारण मानिस दुब्लाउने गर्छन् । त्यसैले शरीरलाई सन्तुलित राख्न दैनिक जीवनशैली र खानपानमा विशेष ध्यान दिन आवश्यक छ ।
क्यालोरीयुक्त खाना : तौल बढाउन चाहने व्यक्तिले बिहानको समयमा सकेसम्म बढी क्यालोरीयुक्त खाना खानुपर्छ । बिहान खाएको खाना शरीरले राम्रोसँग उपयोग गर्ने भएकाले ऊर्जा उत्पादनमा सहयोग पुग्छ । समयमा खाना खाने बानी बसाल्नु पनि उत्तिकै महŒवपूर्ण हुन्छ । दिनमा तीनपटक भोजन र बिचमा हल्का खाजा लिनु उपयुक्त मानिन्छ । शारीरिक परिश्रम धेरै गर्ने व्यक्तिलाई बढी क्यालोरी आवश्यक पर्छ । भात, गेडागुडी, दुध, पनिरलगायत डेरीजन्य पदार्थमा पर्याप्त क्यालोरी पाइन्छ । यी पदार्थ नियमित र सन्तुलित मात्रामा सेवन गर्दा तौल बढ्न मद्दत पुग्छ ।
काजु र बदाम : काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व तथा फाइबर पाइन्छ । यिनले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्नुका साथै तौल बढाउन सहयोग गर्छन् । काजुमा म्याग्नेसियम र क्याल्सियमजस्ता आवश्यक खनिज तत्व पाइन्छ, जसले हड्डी मजबुत बनाउनुका साथै मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्राकृतिक एन्टिअक्सिडेन्ट पनि पाइने भएकाले विभिन्न रोगबाट बचाउन सहयोगी हुन्छ । बदाम नियमित खाँदा पाचनशक्तिमा सुधार हुन्छ ।
गहुँको रोटी : नियमित रूपमा गहुँको रोटी खाँदा पनि तौल बढाउन सकिन्छ । गहुँमा प्रोटिन, फ्याट र भिटामिन ‘बी’ पाइन्छ । यसमा पर्याप्त क्यालोरी हुने भएकाले ऊर्जा प्राप्त गर्न सकिन्छ । गहुँको रोटीलाई दाल, तरकारी वा घिउ मक्खनसँग सेवन गर्दा अझ बढी लाभ मिल्छ । तर, अत्यधिक सेवनले मोटोपन बढाउन सक्ने भएकाले सन्तुलन आवश्यक छ ।
प्रोटिनयुक्त पदार्थ : शरीरको वृद्धि तथा मांसपेशी विकासका लागि प्रोटिन अत्यन्त आवश्यक हुन्छ । माछा, मासु, अन्डा, दुध, दही आदि प्रोटिनका राम्रा स्रोत हुन् । यस्ता खाद्यपदार्थ नियमित खाँदा शरीरको तौल स्वस्थ तरिकाले बढ्न सक्छ । व्यायामसँगै प्रोटिनयुक्त भोजन लिँदा मांसपेशी बलियो बन्छ । दुब्लोपनबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या छैन भने दिनमा तीन–चारवटा अन्डा खान सकिन्छ । अन्डामा प्रोटिन, क्याल्सियम, आइरन तथा विभिन्न भिटामिन पाइन्छन् । अन्डा उमालेर वा हल्का पकाएर खाँदा स्वस्थकर हुन्छ । मानसिक तनाव, मधुमेह, थाइराइडजस्ता समस्याका कारण पनि तौल घट्न सक्छ । केरा ऊर्जावद्र्धक फल हो, जसमा कार्बाेहाइड्रेट, भिटामिन र खनिज तत्व पर्याप्त पाइन्छ । नियमित केरा खाँदा तौल सन्तुलित रूपमा बढ्न सहयोग पुग्छ । यसका साथै स्याउ, सुन्तलालगायत मौसमी फलफूल खानु लाभदायक हुन्छ ।
प्रशस्त पानी पिउने : शरीरलाई आवश्यक मात्रामा पानी नपुग्दा पनि कमजोरी र दुब्लोपन देखिन सक्छ । त्यसैले दैनिक कम्तीमा डेढ लिटरदेखि साढे दुई लिटरसम्म पानी पिउनु उपयुक्त हुन्छ । पानीले पाचन प्रक्रिया सहज बनाउनुका साथै शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।
तौल कम हुनुको कारण : उचाइअनुसार तौल हुनु स्वस्थ जीवनका लागि आवश्यक छ । उदाहरणका लागि, करिब पाँच फिट पाँच इन्च उचाइ भएको व्यक्तिको तौल करिब ६० केजी भएमा सामान्य मानिन्छ । यद्यपि, आवश्यकताभन्दा कम तौल हुनुका विभिन्न कारण हुन सक्छन् ।
पहिलो कारण वंशानुगत हुन सक्छ । दोस्रो, समयमा खाना नखानु, असन्तुलित आहार लिनु वा पोषक तत्वको कमी हुनु हो । तेस्रो, क्षयरोग, क्यान्सर, मधुमेह, डिप्रेसन, हाइपर–थाइराइडजस्ता रोगका कारण पनि तौल घट्न सक्छ । अत्यधिक धूम्रपान तथा मद्यपानले पनि शरीर कमजोर बनाउँछ । दुब्लोपनको समस्या भएमा लापरबाही गर्नुहुँदैन । सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त आराम र आवश्यक परे चिकित्सकको परामर्श लिनु उत्तम हुन्छ ।







