अव संसद्मा देखिने छन् जनस्वास्थ्य अभियान्ता डा.चन्द

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०८२, आईतवार

कैलालीः त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा सेवा गरे डा.आनन्द बहादु चन्द । शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रको अभियानमा उनी लामो समयदेखि सक्रिय थिए।

बैतडीमा जन्मिएका चन्दको बाल्यकाल सुदूरपश्चिमको कठिन भौगोलिक र सामाजिक यथार्थसँगै बित्यो। पछि परिवारसहित कैलाली झरेपछि धनगढी उपमहानगरपालिका–८ उनको स्थायी बसोबास बन्यो। यही यात्राले उनलाई सुदूरपश्चिमको पीडा, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर दियो।

शिक्षा उनको जीवनको आधारस्तम्भ बनेको छ। जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी पूरा गरेका छन्। अध्ययन र अनुसन्धानप्रतिको उनको रुचि अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित अनुसन्धानमार्फत देखिन्छ।

जनस्वास्थ्यका सवालमा पनि चन्द सक्रिय अभियन्ता हुन्। सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोगविरुद्धको अभियानमा उनी अग्रपंक्तिमा देखिन्छन्। धूम्रपान नियन्त्रण, सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, विज्ञापन नियन्त्रणजस्ता नीतिगत सुधारका विषयमा उनले सरकारलाई सुझाव दिने मात्र होइन, कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने काम पनि गरेका छन्।

उनै चन्द कैलाली निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभामा निर्वाचित भए । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भएको मतगणनाको अन्तिम परिणाम अनुसार उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरे ।

  • २४ फाल्गुन २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech