दरवन्दी भेरीमा, चिकित्सक अन्यत्र: बिरामी हेर्ने को ?

भेरी अस्पतालमा २०४३ सालमा स्वीकृत दरवन्दी १५४ जना हो । तर अहिले ९९ सय जना मात्रै कार्यरत छन् । ५३ दरवन्दी रिक्त छन् । १४ जना काजमा अन्यत्र छन् ।


    • प्रियास्मृति ढकाल

  • १७ मंसिर २०८२, बुधबार

नेपालगन्जः प्रमुख कन्सल्टेन्ट अब्सट्रेटिक्स तथा गाइनोक्लोजिष्ट डा.भक्तबत्सल राउतको दरवन्दी भेरी अस्पतालमा छ । २०७९ साल फागुन २९ गते डा.राउतले भेरी अस्पतालमा हाजिर लगाए । तर उनी १९ दिन पनि बसेनन् । काज मिलाएर २०७९ चैत १० गतेदेखि उनी लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा कामकाज गर्दै आएका छन् । अर्का प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.किशोर प्रसाद खत्रीको दरवन्दी पनि भेरीमै हो । उनी झन दुई दिन पनि भेरी अस्पतालमा बसेनन् ।

२०७८ बैशाख १० गते अस्पतालमा हाजिर भए त्यसको पर्सि पल्टै बैशाख १२ गते काज मिलाएर उनी पनि लुम्विनी प्रादेशिक अस्पताल बुटवल गए । बरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट डा.सविता विश्वकर्माको दरवन्दी पनि भेरीमै छ । २०८० बैशाख १५ गते भेरीमा हाजिर भइन् । उनी पनि लामो समय भेरीमा बसिनन् । र, अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा काजमा छिन् । रेडियोलोजिष्ट डा.वसन्त रेग्मीको दरवन्दी पनि भेरीमा छ । तर उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लुम्विनीमा काज मिलाएर उतै बसेका छन् ।

यी त केही प्रतिनिधिमात्रै हुन् । पश्चिम नेपालको प्रेषण र दैनिक करिव सात सय बिरामीको उपचार सेवा प्रदान गर्दै आएको भेरी अस्पतालमा दरवन्दी ‘होल्ड’ गरेर चिकित्सकहरुले आफ्नो सुविधाको लागि काज मिलाएर अन्य ठाउँमा जाँदा अस्पतालको सेवा प्रभावित भएको छ । दरवन्दी होल्ड हुँदा पद रिक्त नदेखिने र नयाँ मान्छे पदस्थापन भएर आउन नपाउने, चिकित्सक नहुँदा अस्पताल र बिरामी दुवैलाई समस्या हुने गरेको छ । सुपर–स्पेसियालिटी सेवाका लागि आवश्यक पर्ने प्रमुख कन्सल्टेन्ट पिडियाट्रिसियन, प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट, प्रमुख कन्सल्टेन्ट सर्जन लगायतको दरवन्दी अहिले पनि रिक्त छ ।

प्रमुख मेडिकल अधिकृत, वरिष्ठ कन्सल्टेन्ट पिडियाट्रिसियन, बरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट न्यूरोसर्जन लगायतको दरवन्दी पनि रिक्त छ । स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा.श्याम सुन्दर यादव आयोगले नै आवश्यक दरवन्दी नखुलाउँदा विशेषज्ञ चिकित्सकहरुको अभाव भएको बताउँछन् । उनी भन्छन्–‘सुपर–स्पेसियालिटी सेवा प्रवाह गर्ने अस्पतालमा आवश्यक दरवन्दी व्यवस्थापनमा सरकारले चासो नै दिएन भेरी अस्पतालका पूर्व मेसुको जिम्मेवारी समेत सम्हालिसकेका डा.यादव भन्छन्–‘मन्त्रालयमा मैले धेरैपटक यो विषयमा कुरा उठाए तर सुनुवाइ भएन् ।’

पूर्व अतिरिक्त सचिव डा.यादव पनि दरवन्दी भएकै स्थानबाट चिकित्सकले सेवा दिनुपर्ने बताउँछन् । तर चरम दलीयकरणका कारण सहजै समस्या समाधान हुनेमा भने उनी विश्वस्त देखिदैनन् ।

सुपर–स्पेसियालिटी सेवाका लागि आवश्यक दरवन्दी रिक्त त छदैछ । भएका चिकित्सकहरु समेत काज मिलाएर आफुलाई पायक पर्ने अस्पतालमा काज सरुवा मिलाएर जाँदा त्यसको मार अस्पताल र बिरामी दुवैले खेप्नु परेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे ओपीडीमा एउटै चिकित्सकले दिनमै सयौं बिरामी हेर्नुपर्ने बाध्यात्मक अवस्था रहेको सुनाउँछन् । जटिल समस्या भएका बिरामीलाई गहिरोसँग उनीहरुको समस्या सुन्न र काउन्सिलिङ गर्नै मुश्किल रहेको उनको भनाइ छ । बिरामीको सबैभन्दा बढी चाप हुने मध्ये प्रसूति विभाग र हाडजोर्नी विभागकै प्रमुख कन्सल्टेन्ट लामो समयदेखि काजमा छन् ।

प्रसूति विभागमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.उर्मिला पराजुली र डा.कीर्तिपाल सुवेदीबाहेक अन्य करारका चिकित्सक छन् । त्यस्तै अर्थोपेडिक विभागमा पनि वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनद्धय डा तिर्थेन्द्र खड्का र डा प्रकाश थापा बाहेक अन्य सबै करारका छन् । तत्कालीन स्वास्थ्यमन्त्री मोहन वस्नेत हुन वा प्रदीप पौडेल । दुवै मन्त्री हुँदा काजमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई साविककै दरवन्दी भएको ठाउँमा गएर सेवा दिन पटकपटक निर्देशन दिए । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले दरवन्दीको चिकित्सक काज मिलाएर बस्दा यहाँका बिरामीले सेवा पनि नपाउने र अर्कोतर्फ उक्त दरवन्दीमा अर्को चिकित्सक पनि ल्याउन नमिल्ने अवस्था रहेको सुनाउछन् । उनी भन्छन्–‘चिकित्सकहरुको यो सिण्डिकेट नतोडिएसम्म समस्या समाधान हुँदैन ।’ पूर्व अतिरिक्त सचिव डा.यादव पनि दरवन्दी भएकै स्थानबाट चिकित्सकले सेवा दिनुपर्ने बताउँछन् । तर चरम दलीयकरणका कारण सहजै समस्या समाधान हुनेमा भने उनी विश्वस्त देखिदैनन् ।

सुपर–स्पेसियालिटी सेवाका लागि आवश्यक पर्ने नेफ्रोलोजिष्ट, कार्डियोलोजिष्ट, चेष्ट फिजिसियन, सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट, प्लाष्टिक सर्जन, पेड्याट्रिक सर्जन लगायतका सबै पद रिक्त छन् । अस्पतालमा सुपर–स्पेसियालिटी सेवा दिने एक जना चिकित्सक पनि भेरीमा दरवन्दी वा पदस्थापना भएको छैन ।

करिव १३५ वर्षको विरासत बोकेको भेरी अस्पतालमा २०४३ सालको एक सय शैयाको स्वीकृत दरवन्दीबाट सेवा दिनु परेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदी बताउँछन् । ३९ वर्षदेखि दरवन्दी थपिएको छैन् । तथापी, सीमित स्रोतसाधन र जनशक्तीका बीच पनि अस्पतालले विरामीलाई सेवा प्रवाह गर्दै आएको डा.सुवेदी बताउँछन् । सुपर–स्पेसियालिटी सेवाका लागि आवश्यक पर्ने नेफ्रोलोजिष्ट, कार्डियोलोजिष्ट, चेष्ट फिजिसियन, सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट, प्लाष्टिक सर्जन, पेड्याट्रिक सर्जन लगायतका सबै पद रिक्त छन् । अस्पतालमा सुपर–स्पेसियालिटी सेवा दिने एक जना चिकित्सक पनि भेरीमा दरवन्दी वा पदस्थापना भएको छैन ।

भएका सुपर–स्पेसियालिटी सेवा पनि काज र छात्रावृत्ति करारकै चिकित्सकको भरमा सञ्चालन गर्नु परेको बाध्यात्मक अवस्था सुनाउँछन् डा.सुवेदी । उनका अनुसार एक सय शैयाको स्वीकृत भएपनि अस्पतालले अहिले लेभररुपमा १० शैया, डायलाइसिसमा १२ शैया, अपरेशन थियटरमा ७ र इमरजेन्सीमा २५ शैयाबाहेक २९५ शैयाको सेवा दिँदै आएको छ । भेरी अस्पतालमा १५४ जनाको दरवन्दी हो । तर अहिले ९९ सय जना मात्रै कार्यरत छन् । ५३ दरवन्दी रिक्त छन् । १४ जना काजमा अन्यत्र छन् । अरु सबै करारबाट सेवा प्रवाह गर्नुपरेको छ ।

भेरी अस्पतालमा पाँच शय शैयाका लागि तीन वर्ष अघि नै संगठन तथा व्यवस्थापन (ओएनएम) गरेर स्वास्थ्य मन्त्रालयमा पठाइयो । कार्यान्वयनको प्रक्रियामा रहेको उक्त पत्र अहिले अर्थ मन्त्रालयमा अड्किएको छ । अस्पतालको सेवाप्रति बिरामीको एकातिर बढ्दो चाप छ भने अर्को तर्फ स्रोतसाधन र जनशक्तीको अभावसँग भेरी जुधिरहेको छ । कम्तिमा दरवन्दीमा भएका चिकित्सकहरु यही बसेर सेवा दिने र रिक्त दरवन्दी पूरा हुने हो भने यसक्षेत्रका नागरिकहरुले गुणस्तरीय सेवा पाउने उपभोक्ता अधिकारकर्मी वसन्त गौतम बताउँछन् ।

  • १७ मंसिर २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech