बाँकेमा ८० नयाँ एचआइभी संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०८२, सोमबार

नेपालगन्जः बाँकेमा पछिल्लो एक वर्षमा ८० नयाँ एचआइभी संक्रमित थप भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन रविन्द्र कुमार साहका अनुसार ८ हजार ६९७ जनामा गरिएको परीक्षणमा ८० जना नयाँ संक्रमित फेला परेका हुन् ।

यस अवधीमा ‘प्रिभेन्सन अफ मदर–टु–चाइल्ड ट्रान्समिसन’ (पीएमटिसिटी) कार्यक्रमअन्तर्गत २८ हजार २३४ गर्भवती आमाको एचआइभी परीक्षण गरिए पनि कुनै नयाँ संक्रमित नदेखिएको साहले बताए ।

भेरी अस्पतालमा हाल ६१३ जना एचआइभी संक्रमितहरुले नियमित रूपमा एआरटी सेवामा रहेको पनि उनले बताए ।

उनका अनुसार जिल्लामा एचआइभी रोकथाम र उपचार कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता र सहकार्य अपरिहार्य बन्दै गएको छ।

संक्रमणको रोकथाम तथा व्यवस्थापन, गुणस्तरीय सेवा विस्तार, समुदायमा अझै रहेको कलंक–भेदभावको न्यूनीकरण र संक्रमितहरुको जीवनस्तर सुधारका लागि जीविकोपार्जन कार्यक्रम मजबुत बनाउनु चुनौतीपूर्ण रहेको पनि उनले बताए ।

स्थानीय सरकारलाई अझ संवेदनशील र जिम्मेवारीपूर्वक अघि बढ्न आवश्यक रहेको अभियान्ताहरु बताउँछन्। एड्सविरुद्धको अभियानलाई सफल बनाउन सबै तह–तप्काबाट ऐक्यबद्धता र निरन्तर योगदान आवश्यक रहेको उनले बताए ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदीहरु, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, र रोजगारीका लागि विदेश जानेहरु पर्दछन्। यीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अन्य जोखिम समूहभन्दा उच्च रहेको छ।

‘अवरोधहरु पार गरौं, एड्स प्रतिकार्य रुपान्तरण गरौं’ भन्ने नाराका साथ आज ३८ औं विश्व एड्स दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

  • १५ मंसिर २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech