नेपालगन्जः नेपालगन्जस्थित सञ्जिवनी कलेज एण्ड मेडिकल साइन्सेस प्रालिले मस्तिष्कघात भएका बिरामी अस्पतालमा पुगे लगत्तै तत्कालदेखि उपचार गर्ने गरि आजदेखि सुविधा सम्पन्न र अत्याधुनिक ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको छ ।
उक्त सेन्टर मार्फत बिरामीलाई मस्तिष्कघात भएको ४ देखि ५ घण्टाभित्र अस्पताल ल्याएमा तत्काल उपचार सेवा दिएर बचाउन सकिने चिकित्सकहरु बताउँछन् । मस्तिष्कघात बिरामीलाई लक्षित गरेर कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर सञ्चालनमा ल्याउने सञ्जिवनी कलेज पश्चिम नेपालमै पहिलो अस्पताल हो ।
अस्पतालका न्युरो सर्जन डा.मनिष कोलाक्षपतिका अनुसार मस्तिष्कघात हुने बित्तिकै बिरामीलाई ४ देखि ५ घण्टाभित्र अस्पतालमा ल्याउन सके उसलाई आजीवन अपाङ्गता हुन बाट जोगाउन सकिने सम्भावना धेरै हुन्छ ।
मस्तिष्कघात हुँदा नशाहरु मर्दै जाने र उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नशाहरु मरेर पक्षघात भई आजीवन अपाङ्गता हुने सम्भावना रहने डा.कोलाक्षपति बताउँछन् ।
‘सञ्जिवनीमा मस्तिष्कघात भएका बिरामीहरुको शल्यक्रिया त अहिले पनि भइरहेकै छन् उनले भने–कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर नै स्थापना भएपछि अव १६ वेडको छुट्टै डेडिकेटेड न्युरो आइसीयू वार्ड हुनेछ ।’
सञ्जिवनी कलेजमा कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर सञ्चालनमा आएपछि स्ट्रोकका बिरामीहरुलाई उपचारका लागि भारत तथा काठमाडौं जानुपर्ने बाध्यता टरेको अर्का न्युरो सर्जन डा.निरज घिमिरे बताउँछन् ।
न्युरोलोजी विभागका प्रमुख समेत रहेका न्युरो सर्जन डा. कोलाक्षपतिका अनुसार विश्वभर मस्तिष्कघातका विरामीको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्ययनका अनुसार पछिल्लो समय ह्दयघात भन्दा पनि स्ट्रोकबाट मानिसहरुको ज्यान गइरहेको छ ।
एक समय बुढ्यौली व्यक्तिहरु स्ट्रोकको जोखिममा पर्ने गरेकोमा पछिल्लो समय भने युवा अवस्थामै स्ट्रोक हुने गरेको छ । बदलिदो जीवनशैली, सुगर, प्रेसर, मध्यपान लगायतका कारण स्ट्रोकको जोखिम बढ्दै गएको उनी बताउँछन् ।
न्युरो सर्जन डा. घिमिरेले स्ट्रोकबारे समुदायस्तरमा सचेतन फैलाउन आवश्यक रहेको बताउँछन् । उनले सञ्जिवनी कलेजले अव पालिकाहरुसँगको सहकार्यमा समुदायस्तरमा सचेतना फैलाउने गरी योजना अगाडि बढाएको बताए ।
उनले पनि स्ट्रोकबाट जोगिन जीवनशैली परिवर्तन गर्न सुझाव दिन्छन् । नियमित शारिरीक कसरत गर्ने, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्न सकियो भने स्ट्रोकको जोखिम कम गर्न सकिने उनको भनाइ छ । स्ट्रोकपछि कतिपय मानिसहरु आजिवन अपांगता हुने भएकाले त्यस्ता बिरामीलाई राज्यले सहुलियत दिनु पर्ने उनको सुझाव छ ।
सञ्जिवनी कलेजले आफ्ना सेवाहरुलाई थप विशिष्टिकृत गराउँदै लगिएको जानकारी दिँदै सञ्जिवनी कलेज एण्ड मेडिकल साइन्सेस प्रालिका सिइओ डा नितेश कुमार कनोडियाले कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर पनि त्यसैमध्येको एक भएको बताए ।
सबै किसिमका नशा सम्बन्धी समस्याहरुको उपचार सेवा उपलब्ध गराउँदै आएको र मस्तिष्कघातको उपचारका लागि चाहिने जनशक्ती र उपकरण पर्याप्त रहेको पनि सिइओ डा.कनोडियाले जानकारी दिए ।
कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरको नेतृत्व डा. कोलाक्षपतीले गर्नेछन् । उनको नेतृत्वमा न्युरोसर्जन, कार्डियोलोजिष्ट, रेडियोलोजिस्ट, न्युरो क्रिटिकल केयर, एनेथेसियोलोजिष्ट, इर्मजेन्सी तथा न्युरो रिहाबिलिटेसनको समूह सेन्टरमा तैनाथ रहनेछ ।
अत्याधुनिक प्रविधिबाट ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, मेरुदण्डको ट्युमर, मेरुदण्डको नशा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने जस्ता शल्यक्रिया नियमित जस्तो सञ्जिवनी कलेजमा भइरहेका छन् ।
कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरको आज बेलुका नेपालगन्जमा एक कार्यक्रमकाबीच सुभारम्भ हुन लागेको घोषणा गरिँदैछ ।