नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकामा थप ४ जना महिलामा भिआइए पोजेटिभ देखिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ स्थित आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जमा भएको महिलाहरुको पाठेघर सम्वन्धी स्क्रिनिङ स्वास्थ्य शिविरमा ४ जनामा भिआइए पोजेटिभ देखिएको हो । यसअघि बुधवार वडा नं. ६ स्थित आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडामा प्रजनन् उमेर समूहका एक सय जना महिलाको भिआइए विधिबाट चेकजाँच गर्दा ५ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको थियो भने ४ जनाको पाठेघर खस्ने समस्या देखिएको थियो ।
विहीबार आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जमा गरिएको चेकजाँचमा थप ४ जना महिलामा भिआइए पोजेटिभ देखिएसँगै दुई वटा वडामा ९ जनामा पाठेघरको मुखको क्यान्सर देखिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार शम्शेरगन्जमा चेकजाँच गरिएकामध्ये १ जनामा पाठेघर खस्ने समस्या देखिएको छ । ‘विहीबार प्रजनन् उमेर समूहका ९७ जना महिलाहरुको भिआइए विधिबाट चेकजाँच गर्दा ४ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको छ । १ जनामा पाठेघर खस्ने समस्या देखियो’– केसीले भने ।
भेरी अस्पताल नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.सन्देश आचार्य, नेपाल परिवार नियोजन संघ बाँकेका स्टाफ नर्स कुसुम श्रेष्ठले महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धी भिआइए परीक्षण गरेका थिए । राप्तीसोनारी गाउँपालिकाले ९ वटै वडामा महिलाहरुको पाठेघर सम्वन्धी स्क्रिनिङ स्वास्थ्य शिविर आयोजना गरेको छ ।
बुधवारदेखि सुरु भएको शिविर अन्तर्गत् शुक्रबार वडा नं.३ स्थित आधारभूत स्वास्थ्य केन्द्र भवानियापुरमा आयोजना गरिएको छ । पूर्वनिर्धारित अन्य ६ वटा वडाको शिविर भने तत्कालका लागि स्थगित भएको केसीले जानकारी दिए । उनका अनुसार फत्तेपुर स्वास्थ्य चौकी, खासकुश्मा स्वास्थ्य चौकी, विनौना स्वास्थ्य चौकी, राप्तीसोनारी अस्पताल बैजापुर, कचनापुर स्वास्थ्य चौकी र महादेवपुरी स्वास्थ्य चौकीमा आयोजित शिविरहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
पछिल्लो समय अझ पाठेघरको मुखको क्यान्सर सम्वन्धी समस्या महिलाहरुमा विकराल देखिएको चिकित्सकहरु बताउँछन् । समयमै रोगको पहिचान गरे पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् । त्यही भएर स्थानीय सरकारले गाउँघरमै शिविर राखेर महिलाहरुले झेल्दै आएका स्वास्थ्य समस्याको परामर्श, उपचार र निदानका लागि उनीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यका साथ स्क्रिनिङ शिविरको आयोजना गरिएको पालिकाले जनाएको छ ।