गैरकानुनी काम गर्ने ७ जना औषधि व्यवसायी विरुद्ध मुद्दा दर्ता, ४३ जनालाई विभागीय कारबाही

    • स्वास्थ्य पेज

  • १ आश्विन २०८१, मंगलवार

नेपालगन्ज: गैरकानुनी काम गर्ने ७ जना औषधि व्यवसायी विरुद्ध नेपालगञ्जस्थित औषधि व्यवस्था विभागले मुद्दा दर्ता गरेको छ । गत आर्थिक बर्ष २०८०/८१ मा औषधि व्यवसायी विरुद्ध ७ वटा मुद्दा अदालतमा दर्ता गरेको कार्यालय प्रमुख निनु श्रेष्ठले बताइन् ।

यस्तै आर्थिक बर्ष २०८०/८१ मा ४३ जनालाई विभागीय कारबाही समेत गरिएको छ । विभागले बाँकेका ३, कैलालीका २ र दाङका २ जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको श्रेष्ठले जानकारी दिइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा लुम्बिनीका ६ वटा जिल्ला कार्य क्षेत्र रहेको औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार विभागीय कारबाहीमा पर्नेमा सबैभन्दा बढी बाँकेका १९ जना छन् ।

यस्तै कैलालीका ८, बर्दियाका ६, सुर्खेतका ५, कालिकोट र बर्दियाका २ /२ र दाङका १ जना विभागीय कारबाहीमा परेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिइन् । औषधि व्यवस्था विभागले अनुचित र गैरकानुनी काम गर्ने औषधि व्यवसायीलाई दुई प्रक्रियाबाट कारबाही गर्ने गर्दछ ।

औषधि ऐन २०३५ र अदालती प्रक्रियाबाट कारबाही गर्ने व्यवस्था रहेको श्रेष्ठले जानकारी दिइन् । औषधि पसलहरूले चोरी पैठारी गरेर औषधि भित्र्याउने, औषधिको अनुचित प्रयोग तथा दुरुपयोग गर्ने लगायतका समस्या बढी देखिएको श्रेष्ठको भनाई छ ।

कम जनशक्ति र ठूलो कार्य क्षेत्र भएकाले सोचे जसरी अनुगमन गर्न नसकिएको औषधि व्यवस्था विभाग नेपालगन्जले जनाएको छ ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech