अनियमित महिनावारी धेरै महिलाहरुको आम समस्या हो। सामान्यतया महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुन्छ। जुन नियमित महिनावारी हो। २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी हुने महिनावारीलाई अनियमित महिनावारी भनिन्छ। अनियमित महिनावारी हुनुको विभिन्न कारणहरु छन्। जसमध्ये प्रमुख कारण हो, हर्मोनल गडबडी।
जंक फूड खाने, निश्क्रिय जीवनशैली, मोटोपना, तनावले पनि हर्मोनल गडबडी हुन्छ। शरीर मोटो भए बोसो धेरै हुन्छ। र, बोसोले यो हर्मोनहरु निकाल्छ। पिसिओडीले गर्दा मोटोपना हुन्छ। र, मोटोपनाले पिसिओडी पनि हुन्छ। बोसोले हर्मोनल गडबडी गराउँछ नै मधुमेह पनि गराउँछ। त्यसैले एकापसमा अन्तर सम्बन्धित छ।
हर्मोनल गडबडीमा हामीले बिरामीलाई स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार खाने औषधि दिन्छौ। तर कतिपयलाई यो औषधि परिवार नियोजनमा खाने चक्की (पिल्स) हो की भन्ने भ्रम पनि छ। कोही १५ वर्षकी किशोरी अनियमित महिनावारीको समस्या लिएर आएकी छिन् भने मैले उसलाई यो चक्की खानु भनेर प्रेसक्र्याइब गर्छु।
तर ‘यो त पिल्स चक्की निलोकन ह्वाइट पो हो त किन मेरो छोरीलाई यो दिनु भएको’ भनेर प्रश्न गर्नु हुन्छ। ‘किन दिनु भएको यो औषधि मेरो छोरी ?’ यो त दिनु हुँदैन भन्नु हुन्छ। यस किसिमको भ्रम अझै पनि मानिसमा छ। हामीले यो औषधि परिवार नियोजनको लागि दिएको होइन। हामीले हर्मोनको रुपमा दिएको हो।
परिवार नियोजनको औषधि पनि यस्तै हुन्छ। तर त्यो धेरै डोजको हुन्छ। त्यो परिवार नियोजन गराउन र बच्चा नबस्नको लागि दिइएको हो। तर हामीले हर्मोनल गडबडी हुँदा दिने औषधि थोरै डोजमा र शरीरलाई आवश्यक मात्रामा मात्र दिन्छौ। बिरामीको अवस्था र आवश्यकता अनुसार स्वास्थ्य परीक्षणपछि मात्र हामीले यो हर्मोनल औषधि दिन्छौ।