सुखले हैन अनवरत दुःखले सिर्जिनु पर्ने पेशा मेरो नर्स हो ।
न त म कसैको पैँसा फलाईदिने बोट हो ।
न त समाजले फैलाइदिने खोट हो ।
कोही सोच्लान् पैँसाले भरिएको पर्स हुँ ।
हा..हा… हाँसो उठ्छ म त केवल नर्स हुँ ।
हो म नर्स हुँ ।
म त्यही नर्स हुँ ।।
खाली पेट एसिडले भरिएर जलिरहँदा,
कहिल्यै काम खाली हुँदै नहुने हात
बिरामीका चोट र औषधी चलाईरहेका हुन्छन् ।
आफ्नै दिनभरको intake output nil हुँदा ।
बिरामीको intake output को चासो मलाई ।
कामको चापले आफ्नै फोक्सो निसासिदा,
बिरामीको फोक्सो सुन्न stethoscope को पासो मलाई ।
हो म नर्स हुँ।
म त्यही अव्यक्त सकसमा सेवा गरिरहेकी नर्स हुँ ।।
यतिका वर्ष अस्पतालमा practice गरेर पनि
पढाई सक्ने बित्तिकै जागिर दिन unpractical भयो रे ।
विश्वबाट दासत्व हट्दा पनि मेरो कामलाई दासत्वमै राखिराख्ने ?
बिना पारिश्रमिक Volunteer गराउने system कहिले जाने ?
यति धेरै नर्स उत्पादन भईरहँदा सम्मानका साथ
उचित तलब पाएर जागिर मैले कहिले खाने ?
हो म नर्स हुँ ।
म यीनै मौन प्रश्नको जवाफ खोजिरहेकी नर्स हुँ ।।
जसलाई समाजिक संजालमा
असामाजिक तरिकाले दिनहँ troll को सिकार बनाइन्छ ।
देख्नेहरुलाई मेरा हालत सायद सजिलै लाग्दो हो।
तर उनीहरु के जान्दा हुन् ?–
मेरो मस्तिष्कमा लुकेका अक्षरमा नअटाउने तनावहरु ।
मेरो चिटिक्क परेको uniform,समिएको चुल्ठो
अनि ओठको भ्रामक मुस्कानले नदेखाउने गहिरा भावहरु ।
मेरो देशमा मेरो कामको सम्मान नभएको देख्ने कमै छन् ।
म विदेशिएकोमा PR green card वाला troll बनाउनेहरु हो !
म भन्दिन respect देउ,
त्यो त आफ्नै व्यवहारले कमाउने हो ।
मेरो कार्यक्षेत्र काम गर्न योग्य बनाउने जिम्मेवारी त
राष्ट्रले पो समाउने हो ।
नवजात शिशुले आमाको कोख छोडेर
संसारमा आउँदाको पहिलो आशावादी चित्कार
अनि मृत्युको भयावह चित्कार….
उफ्…समेत भन्न नपाई सुनिहेको म मजबुर कर्ण हो ।
हो म नर्स हुँ।
म त्यही नर्स हुँ ।।
(प्रिति, भेरी अस्पतालकी नर्स हुनुहुन्छ )