भेरी र मेडिकल कलेजले पाए प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

नेपालगन्ज १९, साउन ।
सरकारले भेरी अस्पताल नेपालगन्ज र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको उपचार प्लाज्मा थेरापी विधिबाट गर्न अनुमति दिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गर्न बाँकेका दईसहित १२ अस्पतालले स्वीकृति पाएका छन् । प्लाज्मा थेरापी विधिबाट उपचार गर्न स्वीकृति पाएका अस्पतालमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल ,पाटन एकेडेमी अफ हेल्थ साइन्स, शुक्रराज ट्रपिकल अस्पताल छन्।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल ,नारायणी अस्पताल, भक्तपुर अस्पताल र सेती अस्पतालले पनि यो विधिबाट उपचार गर्ने स्वीकृती पाएका छन्। मेडिसिटी, ग्रान्डी इन्टरनेसनल अस्पताल र ह्याम्स अस्पतालले स्वीकृति पाएको परिषदका सदस्य सचिव डा.प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
कोभिड १९ लेभल थ्रि अस्पतालका रुपमा रहेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमित पाएसँगै त्यसको तयारीमा जुटेको जनाएको छ ।

अस्पतालका सहायक निर्देशक डा.नितेश कनोडियाले स्वास्थ्य पेजसँग भन्नुभयो –‘सरकारले विश्वास गरेर मेडिकल कलेजलाई अनुमित दिएको छ, उत्साहीत छौं विज्ञहरुसँग छलफल गरेर हामी तयारीमा जुट्छौं ।’ प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा ब्लड बैंकको आवश्यक पर्ने डा. कनोडियाको भनाइ छ । त्यसका लागि रक्त सन्चार केन्द्रसँग समन्वय गरिने उहाँले जानकारी दिनुभयो । मेडिकल कलेज कोहलपुरले तीन जना कोरोना संक्रमितको शल्यक्रिया गरेको छ । चार जना उपचारका लागि भर्ना भएकोमा तीन जनाको शल्यक्रिया सफल भएको थियो । अर्का विरामीे भने नर्मल उपचारपछि निको भएका थिए ।

संक्रमण भएर ज्यान नै जोखिममा रहेको अवस्थाका बिरामी रहेको पुष्टि भएपछि मात्र प्लाज्मा विधिबाट उचपार गर्न सकिने छ । अस्पतालको सघन कक्षमा उपचार गराइएका व्यक्तिको अवधि, अस्पतालमा बस्दा देखा परेका प्रतिकूल घटना र बिरामीमा देखिएका सुधारहरू हेरेर चिकित्सकको सिफारिसमा मात्र यो विधिबाट उपचार गरिन्छ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech