थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०८२, सोमबार

चितवन: भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गरे ।

कँडेलले उनीहरूको स्वास्थ्य बिमावापतको दुई लाख ४१ हजार ५०० हस्तान्तरण गरेका हुन् । सन् २००५ देखि थालेसेमियाका बिरामीको उपचारमा सहयोग गर्दै आएको यस समाजले स्वास्थ्य बिमा कार्यक्रम लागु भएसँगै बिमावापतको रकम प्रदान गर्दै आएको उनले बताए ।

सुरुआतमा ३३ बिरामीलाई सेवा दिएर सुरु गरिएको यस कार्यक्रममा अहिले ६९ बिरामी पुगेका छन् । थालेसेमियाका बिरामीले महिनामा कम्तीमा दुई पटक रगत फेर्नुपर्ने हुन्छ ।

समाजले गरेको बिमाबाट बिरामीका परिवारले लाभ लिन पाउने छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलका अनुसार यस रोगका बिरामीको रक्तसेलमा समस्या हुने र सामान्य रक्तसेल निर्माण नहुने हुँदा रगत फेर्नुपर्ने हुन्छ ।

  • २४ कार्तिक २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech