करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । किनभने अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुन्छ । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो ।
तिते करेलाको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी १२, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । सकेसम्म करेलालाई उसिनेर सेवन गर्नु राम्रो हो ।
ताजा करेलाको अचार, जुस बनाएर खान सकिन्छ ।
करेला खानुका केही फाइदाहरु :
– डायबेटिजको समस्या भएका बिरामीहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।
– करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत पुर्याउँदछ ।
– बान्ता, हैजा आदि रोग लागेमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गर्दा शिघ्र स्वास्थ्य लाभ हुन्छ ।
– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी मानिन्छ ।
– कब्जियत हुन दिँदैन ।
– पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
– दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।
– तिते करेलामा फेस्फोरस हुने भएकाले यसले घाटीमा जमेको कफलाई हटाउँछ ।
– करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।
– करेलामा बिटा–क्यारोटीन र भिटामिन ए पर्याप्त मात्रामा हुन्छ । जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ ।
– करेला शितल खाद्य सामाग्री भएकोले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।