नेपालगन्जमा कोरोनाको त्रासः अस्पतालहरुमा के छ सावधानी ?

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

नेपालगन्ज १८, साउन ।
बाँकेमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालहरुले पनि उच्च सावधानी अपनाएका छन् । पश्चिम नेपालका रेफरल भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजलगायतले उच्च सावधानी अपनाएर सेवा दिइरहेको बताएका छन् ।

शनिवारराती १२ बजेदेखि बाँकेमा निषेधाज्ञा जारी गरिएपनि अस्पतालको सेवालाई भने रोकिएको छैन् । भेरी अस्पताल नेपालगन्जका निमित्त मेसु डा.खगेन्द्र जंग शाहले अन्य दिनकोजस्तै आइतवारपनि ओपिडी सेवा खुल्लै रहेको बताउनुभयो । भाइरस संक्रमण फैलिएसँगै अस्पतालले भने उच्च सजगता अपनाएर सेवा दिइरहेको उहाँको भनाइ छ । मुल गेटमा ज्वरो स्क्यान गरेरमात्र अस्पताल प्रवेश गर्न दिइएको छ ।

अस्पतालका कोरोना फोकलपर्सन डा.संकेत रिसालका अनुसार, अस्पताल पुग्ने विरामी र आफन्तलाई मास्क अनिवार्य गरिएको छ । सामाजिक दुरी कायम गरेर विरामीलाई उपचार सेवा दिइरहेको डा.रिसालले बताउनुभयो । उहाँले भन्नुभयो–‘विरामी र विरामी लिएर आउनेहरु पनि सजग हुनुपर्छ । अस्पताल परिसरमा ठाउँठाउँमा हातधुने व्यवस्था मिलाइएको छ । त्यसको सदुरुपयोग गरेर कोरोना भाइरसको जोखिमबाट आफु बचौं र अरुलाई पनि बचायौं ।’

लकडाउन खुलेसँगै बाँकेमा संक्रमणको दर बढ्न थालेपछि नेपालगन्ज मेडिकल कलेजले पनि अस्पतालमा उच्च सावधानी अपनाएको जनाएको छ । मेडिकल कलेजका सहायक निर्देशक डा.नितेश कनोडियाका अनुसार, भाइरसको जोखिम बढेसँगै उच्च सावधानी अपनाइएको छ । यहाँपनि मुल गेटमा अनिवार्य ज्वरो स्क्यान गरेरमात्र अस्पताल भित्र प्रवेश गर्न दिने गरिएको छ ।

अस्पतालका सबै सेवा नियमित रहेको जानकारी दिँदै उहाँले ओपिडी वार्डमा विरामीको भिडभाड बढी हुने भएकाले सामाजिक दुरीलाई कडाइ गरिएको जानकारी दिनुभयो । शंकास्पद विरामीहरुलाई अस्पतालमै रहेको कोभिड–१९ क्लिनिकमा पठाउने गरिएको छ । ‘विरामीको सेवामा कुनै कसर बाँकी राखिएको छैन’ सहायक निर्देशक डा. कनोडियाले भन्नुभयो ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech