नेपालगन्जः डा. सुरेन्द्र बस्नेतको जन्म वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतमा भएको हो । उनका बुवा पूर्णबहादुर बस्नेत र आमा कमला बस्नेत हुन् । उनको परिवारमा दुई भाइ र पाँच दिदीबहिनी छन् । बुवाको व्यवसायिक पृष्ठभूमि रहेको परिवारमा जन्मिएका बस्नेत सुर्खेतमै हुर्किए । उनले कक्षा १ देखि १० सम्मको अध्ययन सुर्खेतकै एसओएसमा गरे । यस विद्यालयमा भर्ना हुन प्रतिस्पर्धात्मक रूपमा नाम निकाल्नुपर्ने हुन्थ्यो, जसमा उनी सफल भए । पढाइमा मेधावी बस्नेतलाई कक्षा १ मा भर्ना भएको तीन महिनामै शिक्षकले कक्षा २ मा स्तरोन्नति गरिदिएका थिए । कक्षा ३ मा पनि उत्कृष्ट प्रदर्शन गरेपछि उनी कक्षा ४ नपढी सिधै कक्षा ५ मा भर्ना भए ।

वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट डा.सुरेन्द्र बस्नेत
२०३८ सालमा जन्मिएका बस्नेतले २०५४ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उच्च अध्ययनका लागि उनी काठमाडौं गए । उनले दिपेन्द्र प्रहरी स्कुलबाट प्रथम श्रेणीमै प्लस टु उत्तीर्ण गरे । प्लस टु अध्ययनको समयमा उनलाई आफ्नो भविष्यको लक्ष्य स्पष्ट थिएन । गाउँघरमा पाइलट, इन्जिनियर र डाक्टर पेशाको चर्चा बढी हुने भएकाले शिक्षकहरूले पनि उनलाई इन्जिनियर वा डाक्टर बन्न सुझाव दिन्थे । प्लस टु पूरा गरेपछि उनले भारतको मालभिया नेशनल इन्स्टिच्युट अफ टेक्नोलाजी जयसपुरमा सिभिल इन्जिनियरिङ र भैरहवास्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा दिए ।
दुवै क्षेत्रमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि उनले डाक्टर बन्ने निर्णय गरे । उनले २०६३ सालमा एमबीबीएस पूरा गरे र त्यसपछि पाल्पास्थित मिसन अस्पतालमा इन्टर्नसिप गरे । यस अस्पतालमा इन्टर्नसिप गर्न पनि प्रतिस्पर्धात्मक रूपमा नाम निकाल्नुपर्ने हुन्थ्यो, जहाँ विदेशी चिकित्सकहरूसँग काम गर्ने अवसर पाइने भएकाले निकै आकर्षण रहन्थ्यो । सीमित कोटामध्ये उनले स्थान सुरक्षित गरे । इन्टर्नसिपपछि उनी छात्रवृत्ति करारमा बाँकेको बनकटुवा प्राथमिक स्वास्थ्य चौकीमा सेवा दिए । करिब डेढ वर्षपछि उनले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी आठौं तहमा नाम निकाले । उनको पहिलो पोस्टिङ जिल्ला अस्पताल मनाङमा भयो ।
डा.वस्नेतका अनुसार लेजर प्रविधिबाट हुने सेवा बाहेक अन्य सबै युरोलोजी सेवा भेरी अस्पतालमा उपलब्ध छन् । उनी भन्छन्–‘यस्तो सेवा, प्रविधि र जनशक्ति पश्चिम नेपालका अन्य अस्पतालमा दुर्लभ छ ।’
सेवाकै क्रममा उनले २०६९ सालमा वीर अस्पताल अन्तर्गत न्याम्पसबाट एमएस (मास्टर्स अफ सर्जरी) मा पूर्ण छात्रवृत्तिमा अध्ययन सुरु गरे, र २०७२ सालमा डिग्री पूरा गरे । त्यसपछि एक वर्ष वीर अस्पतालमै कार्य गरे । २०७३ सालमा उनी सेती प्रादेशिक अस्पताल धनगढीमा सरुवा भयो । त्यहाँ कार्यरत रहँदा उनले नवौं तहका लागि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरे । साथै, २०७९ सालमा न्याम्सबाटै एमसीएच पनि पूरा गरे । यस अवधिमा उनको स्वतः बढुवा पनि भएको थियो । एमसीएच पूरा गरेपछि करिब दुई वर्षसम्म उनले सेती प्रादेशिक अस्पतालमै सेवा दिए । २०८२ सालको जेठदेखि भने उनी नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत छन् ।
सेती प्रादेशिक अस्पतालमा युरोलोजी विभागका विभागीय प्रमुखका रूपमा काम गरिसकेका बस्नेत एक कुशल सर्जनका रूपमा परिचित छन् । उनकै नेतृत्वमा सेती प्रादेशिक अस्पतालमा युरोलोजी विभागको स्थापना सम्भव भएको थियो । उनी भन्छन्–‘भेरी अस्पतालमा सेवा सुरु हुनुअघि नै हामीले धनगढीमा ल्याप्रोस्कोपिक सर्जरी सुरु गरिसकेका थियौं । अहिले म भेरीमा आएपछि त्यो सेवा बन्द भएको भन्ने सुनेको छु ।’

सेती प्रादेशिक अस्पतालमा कार्यरत रहँदा डा.वस्नेतसहितको ओटी टिम ।
हाल भेरी अस्पतालको युरोलोजी सेवा पश्चिम नेपालमै सबैभन्दा सशक्त मानिन्छ । एमसीएच गरेका तीन जना चिकित्सकहरु यहाँ कार्यरत छन् । वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डाक्टर दिपेश गुप्ताको नेतृत्वमा डा. सुरेन्द्र बस्नेत र डा. अञ्जित फुयाँलले हप्तामा तीन दिन ओपीडी सेवा तथा दुई दिन शल्यक्रिया सेवा प्रदान गरिरहेका छन् ।
डा.वस्नेतका अनुसार लेजर प्रविधिबाट हुने सेवा बाहेक अन्य सबै युरोलोजी सेवा भेरी अस्पतालमा उपलब्ध छन् । उनी भन्छन्–‘यस्तो सेवा, प्रविधि र जनशक्ति पश्चिम नेपालका अन्य अस्पतालमा दुर्लभ छ ।’ सुर्खेतमा जन्मिएर नेपालगन्जमा कर्मथलो बनाएका डा.बस्नेतकी श्रीमति पनि चिकित्सक हुन् ।

डाक्टर दम्पती, ठुलो छोरीसँग ।
सञ्जीवनी अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.सजिप्ता पन्थ नेपालगन्जमै कार्यरत छिन् । दुई छोरीलाई सँगै हुर्काइरहेका डा.बस्नेत नेपालगन्जमै बसेर पश्चिम नेपालका बिरामीहरुलाई युरो सेवा प्रवाह गर्ने अठोट लिएका छन् ।
तीन दिनसम्म ब्यागिङ गरेर अक्सिजन दिँदा बाँचेका ती युवक
करिब २० वर्षअघिको घटना हो । त्यतिबेला डा. बस्नेत इन्टर्नसिपका लागि पाल्पा ममशन अस्पतालमा कार्यरत थिए । एकदिन करिब ३० वर्षका एक पुरुष आकस्मिक कक्ष (इमरजेन्सी) मा ल्याइए । उनलाई विषालु सर्पले डसेको रहेछ । अवस्था निकै गम्भीर थियो । उनी सास फेर्नसमेत संघर्ष गरिरहेका थिए । त्यो समयमा अस्पतालमा भेन्टिलेटरको सुविधा थिएन । बिरामीलाई बुटवल पठाउने कुरा उठ्यो, तर उनको अवस्था झन् जटिल बन्दै गइरहेको थियो । यस्तो संकटपूर्ण अवस्थामा डा. बस्नेतले एउटा साहसी निर्णय लिए बिरामीलाई ‘ब्यागिङ’ गरेर अक्सिजन दिने । ‘ब्यागिङ’ भन्नाले हातले चलाउने विशेष उपकरण (Ambu bag) प्रयोग गरेर बिरामीलाई कृत्रिम रूपमा सास फेर्न सहयोग गर्ने प्रक्रिया हो । यो सामान्य काम होइन—लगातार ध्यान, शक्ति र धैर्य आवश्यक पर्ने प्रक्रिया हो ।
डा. बस्नेत सम्झिन्छन्–‘तीन दिनसम्म म कोठामा नै गइन । बिरामीका दुई जना आफन्तलाई पनि ब्यागिङ गर्न सिकाए । एक्लैले सम्भव थिएन । हामीले आलोपालो गरेर लगातार तीन दिनसम्म अक्सिजन दिइरह्यौं ।’

सर्पदंशका ती बिरामीको स्वास्थ्य चेकजाँच गर्दै डा.वस्नेत
डा. बस्नेत सम्झिन्छन्–‘तीन दिनसम्म म कोठामा नै गइन । बिरामीका दुई जना आफन्तलाई पनि ब्यागिङ गर्न सिकाए । एक्लैले सम्भव थिएन । हामीले आलोपालो गरेर लगातार तीन दिनसम्म अक्सिजन दिइरह्यौं ।’ तीन दिनसम्म निरन्तर प्रयासपछि चमत्कारजस्तै भयो । बिरामीको अवस्था विस्तारै सुधार हुन थाल्यो । सर्पदंशका कारण पक्षघात जस्तो अवस्था पुगेका ती युवक क्रमशः सामान्य जीवनमा फर्किए । यो घटना डा. बस्नेतका लागि केवल एउटा चिकित्सकीय अनुभव मात्र होइन, जीवनभर सम्झिने भावनात्मक क्षण बनेको छ । आज पनि उनी त्यो संघर्ष, समर्पण र सफलताको क्षणलाई कहिल्यै बिर्सन सक्दैनन् ।
जौँको सिंगो बाला खाँदा आन्द्रा फुटेर आएका ती युवक
डा. बस्नेतले आफ्नो कार्यकालमा देखेका अनौठा र चुनौतीपूर्ण घटनाहरू मध्ये अर्को घटना पनि उत्तिकै स्मरणीय छ । त्यो बेला उनी सेती प्रादेशिक अस्पतालमा कार्यरत थिए । एकदिन करिब ३४–३५ वर्षका एक पुरुष असह्य पेट दुखाइका साथ अस्पतालमा आए । उनी सुदूरपश्चिमको बझाङ जिल्लाका थिए । बिरामीको अवस्था हेर्दा नै निकै गम्भीर देखिन्थ्यो । आवश्यक परीक्षण गर्दा चकित पार्ने तथ्य बाहिर आयो—ती व्यक्तिले जौँको सिंगो बाला खाएका रहेछन्, जसले आन्द्रा छेडेर बाहिर निस्किएको थियो ।
यसले गर्दा पेटभित्र गम्भीर संक्रमण (इन्फेक्सन) फैलिसकेको थियो । स्थिति अत्यन्त जटिल भए पनि डा. बस्नेतको नेतृत्वमा तुरुन्त शल्यक्रिया (अपरेशन) गर्ने निर्णय गरियो । जोखिमपूर्ण भए पनि शल्यक्रिया सफल रह्यो । केही दिनसम्म अस्पतालमै राखेर उपचार गरियो । क्रमशः स्वास्थ्यमा सुधार आएपछि ती युवक पूर्ण रूपमा निको भएर घर फर्किए ।









