चुनाव लडेका ८ जना पूर्व स्वास्थ्यमन्त्री पराजित

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०८२, आईतवार

नेपालगन्जः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा अधिकांश पूर्व स्वास्थ्य मन्त्रीहरू पराजित भएका छन्। पराजित हुनेमा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, गगनकुमार थापा, पदम गिरी, प्रदीप यादव, शेरबहादुर तामाङ र उपेन्द्र यादव रहेका छन्।

प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री तथा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल यसपटक २०७९ को निर्वाचनमा विजयी भएको क्षेत्र काठमाडौं–५ बाट कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मीत पोखरेल ले झण्डै साढे तीन गुणा मतान्तरले पराजित गरेका छन्।

भानुभक्त ढकाल

पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि यसपटकको निर्वाचनमा पराजित भएका छन्। नेकपा एमालेका तर्फबाट तेह्रथुम–१ मा उम्मेदवार बनेका ढकाललाई सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा ले झिनो मतान्तरले पराजित गरेका हुन्।

गिरिराजमणि पोखरेल

दुई पटक स्वास्थ्य मन्त्री बनेका गिरिराजमणि पोखरेलले यसपटकको निर्वाचनमा पराजय भोग्नुपरेको छ। नेकपाबाट महोत्तरी–१ मा उम्मेदवार बनेका पोखरेललाई रास्वपाका प्रमोदकुमार महतोले झण्डै तीन गुणा बढी मतान्तरले पछि पारेका हुन्।

गगनकुमार थापा

सर्लाही–४ बाट निर्वाचनमा होमिएका नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा पनि पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा अमरेशकुमार सिंह ले पराजित गरेका हुन्।

पदम गिरी

पूर्व स्वास्थ्य मन्त्री पदम गिरी पनि यसपटक पराजित भएका छन्। उनी नेकपा एमालेका तर्फबाट पर्वत–१ बाट उम्मेदवार बनेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल सँग पराजित भएका हुन्।

प्रदीप यादव

पर्सा–१ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पूर्व स्वास्थ्य मन्त्री प्रदीप यादव पनि पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्त उक्त क्षेत्रबाट निर्वाचित भएका छन्।

शेरबहादुर तामाङ

सिन्धुपाल्चोक–२ बाट प्रतिस्पर्धामा रहेका पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ तेस्रो स्थानमा रहे। नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलालले १९ हजार ८०० मत प्राप्त गरी विजयी भए।

उपेन्द्र यादव

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरी ३२ हजार ८७५ मत ल्याई विजयी भएका छन्। उनले जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई १७ हजार ६३६ मतान्तर ले पराजित गरेका हुन्।

  • २४ फाल्गुन २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech