अनुहारको पक्षघात किन हुन्छ ?

    • प्रा. डा. राजीव झा स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

  • ६ फाल्गुन २०८२, बुधबार

अनुहारको पक्षघात एक यस्तो अवस्था हो, जसमा अनुहारका मांसपेशीहरू कमजोर भई काम गर्न छोड्छन् । यो समस्या स्नायुमा अचानक आएको गडबडीका कारण देखिन्छ, जसले अनुहारको एक भागको स्वरूप नै बिग्रन सक्छ ।

प्रायः यो रोगले अनुहारको एकापट्टि मात्र असर गर्छ, तर दुर्लभ अवस्थामा दुवै भागमा पनि असर पर्नसक्छ । नेपालमा यो रोगको प्रकोप पछिल्लो समय बढ्दै गएको छ ।

तथ्यांकअनुसार, हरेक वर्ष करिब ५ हजार यो समस्याबाट प्रभावित हुन्छन्, र जीवनमा ७० मा १ जनाले यो रोगको अनुभव गर्छन् । केही अध्ययनले ८ देखि २४० प्रति १ लाख जनसंख्या सम्मको फरक दर देखाएका छन्, जुन विधि र भौगोलिक क्षेत्रअनुसार फरक पर्छ।

पहिला बुझौं, अनुहारको स्नायुबारे ।

मस्तिष्कमा १२ जोडी क्रानियल स्नायु हुन्छन् । ती मध्ये अनुहारको दाँया बाँया भागमा सातौँ क्रानियल मस्तिष्कबाट निस्केर कानको तलको सानो टनेल हुँदै अनुहारका मांसपेशीमा पुग्छ ।

यो स्नायुले अनुहारका स–साना मांसपेशीहरूलाई नियन्त्रण गर्छ, जसले हाँस्ने, अनुहार खुम्च्याउने, आँखा बन्द गर्ने र जिब्रोको स्वाद मस्तिष्कमा पुर्‍याउने काम गर्छ । जब यो स्नायुमा कुनै समस्या आउँछ, अनुहारका मांसपेशीहरूमा गडबडी हुन्छ, जसले अनुहारको पक्षघात निम्त्याउन सक्छ ।

अनुहारको पक्षघात किन हुन्छ ?

यसको मुख्य कारण अझै पूर्ण रूपमा स्पष्ट छैन । तर, धेरै अध्ययनले भाइरल इन्फेक्सनले हुनसक्ने उल्लेख गरेको छ । भाइरल संक्रमणका कारण स्नायु वरिपरि सुन्निएर आउँछ । र, यसरी सुन्निँदा स्नायु च्यापिएर काम गर्न छाड्छ । अनि, पक्षघात हुनसक्छ ।

मौसमी प्रभाव पनि कारक

चिसो मौसम वा भाइरल इन्फेक्सनको मौसममा यो रोगको जोखिम बढ्न सक्छ । उदाहरणका लागि, हर्पस सिम्प्लेक्स भाइरस सँग सम्बन्धित हुन सक्छ ।

कसलाई अनुहार पक्षघात हुन्छ ?

जो कोही पनि यस रोगबाट प्रभावित हुनसक्छ । प्राय १५ देखि ६० वर्षको बीचको गर्भवती महिला, प्रतिरोध क्षमता कमजोर भएका, मधुमेह  र एचआईभी भएका बिरामीमा बढी देखिन्छ। यसबाहेक अनुहारको मांसपेशी भाँचिनु, शल्यक्रिया गर्दा स्नायुमा क्षति, स्ट्रोक भएर पनि हुनसक्छ ।

केही अध्ययनले अनुहारको पक्षघात परिवारमा पहिलेदेखि भएका व्यक्तिहरूलाई बढी जोखिम हुन सक्ने देखाएको छ ।

लक्षण

अनुहार पक्षघात प्रायः अचानक सुरु हुन्छ । केही घण्टाभित्रै अनुहार सुस्त भएको जस्तो अनुभव हुन्छ । त्यसपछि अनुहारको एक भागमा कमजोरी हुनु वा चल्न छोड्न सक्छ ।

अनुहार खस्रिने, हाँस्दा आधा अनुहार मात्र चल्ने, आँखा राम्रोसँग बन्द गर्न नसक्ने, जिब्रोमा स्वाद कम हुने वा प्रभावित भागमा झमझम हुने, खाना चपाउन गाह्रो हुने, र्‍याल बाहिर निस्किनु, निधारमा रेखा बनाउन नसक्नु, गाला फुलाउन वा सिठ्ठी बजाउन नसक्नु र बोलीमा अस्पष्टता आउने जस्ता लक्षण देखिन्छ ।

यो पक्षघात हुँदा प्रायः दुखाइ हुँदैन । तर कहिलेकाहीँ कान नजिक हल्का दुखाइ हुन सक्छ । आवाज प्रति संवेदनशीलता बढ्न सक्छ ।

पहिचान कसरी हुन्छ ?

शारीरिक जाँच — अनुहारको मांसपेशीको कार्यक्षमता जाँच (जस्तै, आँखा बन्द गर्ने, गाला फुलाउने)।

इलेक्ट्रोमायोग्राफी — स्नायु र मांसपेशीको विद्युतीय गतिविधि जाँच ।

एमआई/सीटीस्क्यानः स्ट्रोक, ट्युमर, वा अन्य कारणहरू पत्ता लगाउन ।

रक्त परीक्षण — भाइरल इन्फेक्सन वा मधुमेह जाँच गर्न ।

उपचार

औषधि

स्टेरोइड : करिब १० दिनसम्मका लागि चिकित्सकले सिफारिस गर्न सक्छन् । यसले स्नायु वरिपरि सुन्निएको घटाउँछ र स्नायुलाई पुनः काम गर्न सजिलो बनाउँछ । एन्टिभाइरल औषधि : यदि भाइरस शंका गरिन्छ भने स्टेरोइडसँगै एन्टीभाइरल औषधि प्रयोग गर्न सकिन्छ ।

आँखाको हेरचाह

यदि आँखाको पातलो बन्द गर्न सकिँदैन भने आँखामा क्षति हुन सक्छ । त्यसको लागि आइ प्याड दिनमा प्रयोग गर्न सकिन्छ । आइ ड्रप रातमा लगाउन सकिन्छ । राति सुत्दा टेपले आँखा बन्द गरेर सुरक्षित राख्न सकिन्छ ।

शल्यक्रिया र अन्य उपचार

९० प्रतिशतभन्दा बढी केसमा शल्यक्रिया आवश्यक पर्दैन । आफै निको हुनसक्छ । तर, दश प्रतिशतको स्नायुमा गम्भीर क्षति भएमा वा लामो समयसम्म सुधार नदेखिएमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । अनुहारको आकृति राम्रो पार्न बोटक्स, स्थायी कमजोरी भएमा अनुहारको स्वरूप सुधार्न प्लास्टिक सर्जरी गर्न सकिन्छ ।

अनुहारको स्वरूप परिवर्तनले मानसिक तनाव निम्त्याउन सक्छ, जसका लागि परामर्श उपयोगी हुन्छ । त्यस्तै, अनुहारका मांसपेशीलाई सक्रिय राख्न व्यायाम गर्नुपर्छ । आँखा बिस्तारै बन्द गर्ने, सिठ्ठी बजाउने प्रयास गर्ने, हाँस्ने अभ्यासले गालाको मांसपेशीको अवस्था सुधार्न मद्दत गर्छ ।

यसरी सुरुमा प्रगति नदेखिए पनि निरन्तर यी अभ्यासले सुधार ल्याउँछ ।

रोगको प्रगति

— धेरै बिरामीमा बिस्तारै सुधार देखिन्छ ।

— २–३ हप्तामै सुधार सुरु हुन्छ ।

— करिब २ महिनाभित्र प्रायः निको हुन्छ ।

— केही अवस्थामा पूर्ण निको हुन ६–१२ महिना लाग्न सक्छ ।

— अलिकति कमजोरी स्थायी रहन सक्छ, तर पूर्ण निको नहुने घटना दुर्लभ हुन्छ ।

सावधानी

अनुहार पक्षघात स्ट्रोकसँग मिल्दोजुल्दो देखिन्छ । त्यसैले, सुरुमा चिकित्सकले स्ट्रोक हो कि होइन छुट्याउनुपर्छ । उच्च रक्तचाप, मधुमेह, वा गर्भवती अवस्थामा अनुहारमा यस्तो समस्या देखिए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

औषधि आफैंले सुरु नगरी चिकित्सकको सल्लाह लिनुपर्छ ।

  • ६ फाल्गुन २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech