कोहलपुरः बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नारायण प्रसाद गौडेल मतदातालाई भेट्न कोहलपुर नगरपालिका वडा नं.९ झण्डवामा पुगे । झण्डवामा मधेशी र थारु समुदायको बसोबास बढी छ । यहाँका मानिसहरु चुनावी नाराभन्दा पनि दैनिक जीवनका वास्तविक समस्या बोकेर बसेका छन् । अन्य ठाउँका घरदैलोमा पुग्दा गौडेललाई स्थानीयले बाटोघाटो, पुलपुलेसा, खानेपानी, सिंचाइँ लगायतका समस्या सुनाउँथे ।
तर यहाँका स्थानीयले भने स्वास्थ्यको बिषय उठान गरे । घरदैलो कार्यक्रमका क्रममा गौडेलसँग भेटेका स्थानीय बलिराम अहिरले सीधा प्रश्न राखे–‘विकास त विस्तारै भइरहेकै छ, तर हाम्रो स्वास्थ्यको मुद्दा के हो ?’ अहिरका अनुसार पछिल्लो समय क्यान्सरका बिरामी उल्लेखिय रुपमा बढेका छन् । त्यससँगै रक्तचाप र मधुमेहका बिरामीहरू पनि बढिरहेका छन् । उनले भने–‘हाम्रो समुदायमा एकैछिन राम्रो र हिष्टपुष्ट देखिने मान्छे अचानक बेहोस भएर ढल्ने गरेका छन् । यस्तो अवस्था किन भइरहेको छ ? यसमा तपाईंको एजेण्डा के छ ?’ यो प्रश्नले अहिरको व्यक्तिगत जस्तै लागे पनि पुरै बस्तीको चिन्ता बोकेको थियो ।
गौडेलले मतदाताको प्रश्न सुन्दै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले भने–‘स्वास्थ्य र शिक्षा हाम्रो प्रमुख प्राथमिकता हो । नेपाली काँग्रेसको केन्द्रीय समितिले प्रतिज्ञापत्र बनाउँदैछ, त्यसमा पनि स्वास्थ्यलाई प्रमुख स्थान दिइएको छ ।’ पछिल्लो समय अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोग बढ्दै गइरहेका छन् । ‘यसलाई भाषणले मात्रै समाधान हुँदैन, नीतिगत पहल आवश्यक छ उनले भने–‘जनचेतना फैलाउनु मात्र पर्याप्त हुँदैन, त्यसअनुसार स्वास्थ्य संरचना पनि विकास गर्नुपर्छ । त्यसका लागि म पहल गर्छु ।’

झण्डवाका स्थानीयले अर्को चिन्ता पनि व्यक्त गरे स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने हो कि भन्ने । गौडेलले त्यसबारे स्पष्ट पार्दै भने–‘स्वास्थ्य बीमा कार्यक्रम गगन कुमार थापा स्वास्थ्यमन्त्री हुँदा सुरु भएको हो । अहिले यो कार्यक्रम संकटमा परेको कुरा हामीलाई पनि थाहा छ । तर काँग्रेसले यसलाई बन्द हुन दिँदैन ।’ उनले थपे–‘कुनै पनि नागरिक पैसाको अभावका कारण उपचारबाट वञ्चित नहोस् भनेर यो कार्यक्रम ल्याइएको थियो । तर व्यवस्थापनको कमजोरीका कारण अहिले समस्या देखिएको छ ।’
गौडेलले मतदातालाई आश्वस्त पार्दै भने–‘यदि कांग्रेसलाई जिताएर पठाउनुभयो भने गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना छ र स्वास्थ्य बीमा कार्यक्रम अझ व्यवस्थित भएर अघि बढ्छ ।’ गौडेल जब झण्डवाको थारु बस्तीमा पुगे, त्यहाँ अर्को फरक स्वास्थ्य समस्या सुन्ने अवसर पाए । सिकलसेल एनिमिया र थालेसेमियाबाट पीडित बिरामीहरुको उपचार सहज बनाउन पहल गरिदिन आग्रह गरे । थारु समुदायमा यी वंशानुगत रोगहरु तुलनात्मक रूपमा बढी देखिने भएकाले उपचार, परीक्षण र औषधि व्यवस्थापनमा राज्यको विशेष ध्यान आवश्यक रहेको उनीहरुको माग थियो ।
गौडेलले उनीहरुको माग सुन्दै भने–‘यी रोगहरुका लागि विशेष कार्यक्रम ल्याउन र उपचार सुविधा विस्तार गर्न म पहल गर्नेछु ।’ यहाँका नागरिकहरु सडक, पुल, भवनभन्दा बढी अस्पताल, औषधि र उपचारको पहुँच खोजिरहेका छन् । यसले के स्पष्ट सन्देश दिएको छ भने मतदाताको नजरमा अब विकासको अर्थ बदलिँदै गएको छ । र, जहाँ ‘स्वास्थ्य सेवा’नै सबैभन्दा ठूलो पूर्वाधार बनेको छ ।









