विद्यालय केन्द्रित एचपीभी खोप कार्यक्रम व्यवस्थित रूपमा अघि बढाउन डंगोलको आग्रह

    • स्वास्थ्य पेज

  • २७ माघ २०८२, मंगलवार

काठमाडौं, २७ माघ: काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएकी छन् ।

मंगलबार डिल्लीबजारस्थित पद्यकन्या माध्यमिक विद्यालयमा सो कार्यक्रम उद्घाटन गर्दै उनले महानगरपालिका स्वास्थ्य विभाग र अन्य सरोकारवालाहरुलाई अभियान सफल बनाउन समन्वय र सतर्कता अपनाउन आग्रह गरिन् ।

सरकारले पाठेघरको मुखको क्यान्सर रोक्ने एचपीभी खोप नि:शुल्क उपलब्ध गराएको छ । कार्यवाहक प्रमुख डंगोलले किशोरीहरुलाई यस अवसरको पूर्ण लाभ लिन र कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग गर्न समेत आग्रह गरिन् ।

“अघिल्लो वर्षदेखि यो कार्यक्रम सुरु भएको हो । पहिले खोप लिन पैसा तिर्नुपर्थ्यो, अब शहरका सबै विद्यालयमा यो नि:शुल्क उपलब्ध छ । हाम्रो चाहना छ कि सकेसम्म धेरै बहिनीहरुले यसको लाभ उठाउन सकून्,” उनले भनिन् । “महानगरभरीका सबै विद्यालयमा कार्यक्रम सफलतापूर्वक सञ्चालन होस् भन्ने कामना गर्दछु र यसको व्यवस्थित कार्यान्वयनका लागि सबैको सहयोग चाहिन्छ।”

यो अभियान पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने जोखिम कम गर्न सरकारको जीवनरक्षक पहलको रूपमा सञ्चालन गरिएको हो । काठमाडौं महानगरपालिकाले सबै विद्यालय र समुदायमा सक्रिय सहभागिताको अपील गरेको छ ।

  • २७ माघ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech