नेपालमा स्वास्थ्य सेवा विस्तार हुँदै गएको भए पनि नागरिकको स्वास्थ्य अवस्था भने अपेक्षित रूपमा सुधार हुन सकेको छैन। पछिल्ला वर्षहरूमा अस्पताल पुग्ने बिरामीको संख्या बढ्दो क्रममा छ, भने जसको मुख्य कारण स्वास्थ्यप्रति बढ्दो लापरवाही हो । अधिकांश बिरामी सामान्य लक्षणलाई लामो समय बेवास्ता गरेर मात्र अस्पताल पुग्ने गरेका गर्छन । जस्तै टाउको दुखाइ, थकान, चक्कर, अपच र अनिद्राजस्ता समस्या लाई ‘सानो’ ठान्दा यसले नै पछि गएर मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिर्गौला रोग जस्ता जटिल समस्या देखिने गरेको छ।
नेपालमा पछिल्ला वर्षहरूमा अस्पतालको भीड बढ्दै गएको छ। नयाँ–नयाँ स्वास्थ्य संस्था खुलेका छन् । तर बिरामी घटेका छैनन्। यो विषयमा चिकित्सकका रूपमा मेरो दैनिक अनुभवले एउटा गम्भीर यथार्थ देखाउँछ। हामी स्वास्थ्य बारे कुरा धेरै गर्छौं, तर व्यवहारमा त्यसलाई लागू गर्न चुकेका छौँ। रोग लागेपछि मात्रै स्वास्थ्यको महत्व बुझ्ने प्रवृत्तिले समाजलाई झन् अस्वस्थ बनाइरहेको छ। अधिकांश रोगहरूको कारण गलत जीवनशैली हो। असन्तुलित खानपान, शारीरिक व्यायामको कमी, धूम्रपान, मद्यपान र अत्यधिक तनावले उच्च रक्तचाप, मधुमेह, मुटु रोग, मोटोपन जस्ता समस्या बढाइरहेको छ।
विशेषगरी युवापुस्तामा जंक फुडको अत्यधिक सेवन र मोबाइल–कम्प्युटरमा लामो समय बिताउने बानीले भविष्यमा गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ। जसको कारण हामीले हाम्रो अमुल्य जीवनलाई क्रुखेर फालिरहेका हुन्छौँ। स्वास्थ्य लाई स्वस्थ राख्न हामीले समयमै खानपानमा ध्यान दिने, धूम्रपान र मद्यपान त्याग्ने तथा दैनिक शारीरिक गतिविधि बढाउने हो भने धेरै रोगबाट बच्न सकिन्छ।”
शरिर लाई पर्याप्त निद्रा, तनाव व्यवस्थापन र सकारात्मक सोचले मानसिक स्वास्थ्य सुदृढ बनाउँछ। जसको प्रत्यक्ष असर शारीरिक स्वास्थ्यमा पनि पर्छ। “मानसिक स्वास्थ्य कमजोर हुँदा शरीरमा पनि विभिन्न समस्या देखिन थाल्छन्,। आजभोली अधिकांश बिरामी सामान्य स्वास्थ्य समस्यालाई लामो समय सम्म बेवास्ता गर्छन्। टाउको दुखाइ, थकान, निद्रा नलाग्ने, अपचजस्ता लक्षणलाई ‘सानो समस्या’ ठान्ने तर यिनै लक्षणहरू पछि गएर घातक रोगको सुरुआत हुने चिकित्सकीय तथ्य छ।
गलत जीवनशैली: आधुनिक रोगको मूल कारण
आजभोली देखिने ७० प्रतिशतभन्दा बढी रोगहरू जीवनशैली सँग सम्बन्धित छन्। अत्यधिक चिल्लो, गुलियो र तयारी खाना, शारीरिक श्रमको कमी, धूम्रपान र मद्यपानले शरीरलाई बिस्तारै रोगतर्फ धकेल्छ। मोबाइल र कम्प्युटरमा घण्टौँ बिताउने बानीले आँखाको समस्या, मोटोपन र मानसिक तनाव बढाइरहेको छ। अत्यधिक तनाव, अनिद्रा र मानसिक दबाबले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गर्दछ।
युवापुस्तामै देखिँदैछ गम्भीर रोग
पहिले ५०–६० वर्षमा देखिने मधुमेह र उच्च रक्तचाप अहिले २५–३० वर्षमै देखिन थालेको छ। वास्तवमा यो एउटा अत्यन्त चिन्ताजनक अवस्था हो। असन्तुलित खानपान र राति अबेरसम्म जागा बस्ने बानीले युवापुस्ताको स्वास्थ्य कमजोर बनाइरहेको छ।
सन्तुलित खानपान र नियमित व्यायाम नै सस्तो औषधि
स्वास्थ्य जोगाउन महँगो औषधि आवश्यक पर्दैन। सन्तुलित आहार, पर्याप्त पानी, नियमित व्यायाम र समयमै सुत्ने बानी नै सबैभन्दा प्रभावकारी उपचार हो। दिनमा कम्तीमा ३० मिनेट हिँडडुल, योग वा सामान्य व्यायामले धेरै रोगबाट बचाउन सक्छ।
मानसिक स्वास्थ्य: लुकाइने होइन, बुझिने विषय
हाम्रो समाजमा मानसिक समस्या अझै पनि लाजको विषय बनाइन्छ। तनाव, डिप्रेसन, चिन्ता जस्ता समस्यालाई ‘कमजोरी’ ठानिन्छ। तर मानसिक स्वास्थ्य बिग्रँदा शारीरिक रोग पनि बढ्ने चिकित्सकीय प्रमाण छ। समयमै परामर्श र परिवारको सहयोग पाए मानसिक रोग पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिन्छ।
नियमित स्वास्थ्य परीक्षण किन जरुरी ?
धेरै गम्भीर रोगहरू सुरुआती अवस्थामा लक्षण नदेखिने हुन्छन्। नियमित स्वास्थ्य परीक्षणले रोग चाँडै पत्ता लगाउन मद्दत गर्छ। वर्षमा कम्तीमा एकपटक रक्तचाप, रक्तचिनी, कोलेस्ट्रोल र अन्य आधारभूत परीक्षण गराउनु आवश्यक छ। स्वस्थ नागरिक बिना समृद्ध राष्ट्र सम्भव छैन। अस्पताल बढ्नु सफलता होइन, स्वस्थ नागरिक बढ्नु नै विकास हो। सरकार, स्वास्थ्यकर्मी र नागरिक सबैले आ–आफ्नो भूमिका जिम्मेवारीका साथ निर्वाह गर्नुपर्छ। त्यसकारण अबदेखि आफ्नो बानी बदलौँ। रोग लागेपछि अस्पताल धाउनु भन्दा आजैबाट जीवनशैली सुधार्न तिर लागौँ। स्वास्थ्य हाम्रो व्यक्तिगत सम्पत्ति हो ।,र यसको संरक्षण हामी आफैंले गर्नुपर्छ। आजको सचेत निर्णयले हामी लाई नै भोलिको पीडाबाट बचाउँछ।
(डा केसी वेस्टर्न न्यू लाईफ हस्पिटल रुकुम पश्चिममा कार्यरत छन् ।)









