काठमाडौं — अनुभव, सेवा र नीतिगत सुधारको स्पष्ट एजेन्डासहित आसन्न नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी वरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । नेपाल चिकित्सक संघलाई केवल औपचारिक संस्था होइन, देशभरका चिकित्सकहरूको आस्था, भरोसा र साझा आवाजको केन्द्रका रूपमा विकास गर्ने दृढ संकल्पसहित उनी नेतृत्वदायी भूमिकामा पुग्न चाहेका हुन् ।
नीतिगत सुधारका सवालमा विगतका नेतृत्वबाट अपेक्षित प्रभाव देखिन नसकेको उल्लेख गर्दै डा. सुवेदी संस्थागत सुधार र परिणाममुखी नेतृत्व आजको आवश्यकता भएको बताउँछन् । चिकित्सकको पेशागत हकहितको संरक्षण, सम्मानजनक पारिश्रमिक, सुरक्षित तथा मर्यादित कार्य वातावरण सुनिश्चित गर्नुका साथै पछिल्लो समय कमजोर बन्दै गएको चिकित्सकप्रतिको जनविश्वास पुनःस्थापना गर्नु आजको प्रमुख चुनौती भएको उनको धारणा छ ।
डा. सुवेदी आफू केवल पदका लागि होइन, परिवर्तनका लागि नेतृत्वदायी भुमिकामा पुग्न चाहेको स्पष्ट पार्छन् । नैतिकता, नेतृत्व क्षमता, स्पष्ट भिजन र काम गरेर देखाउने इच्छाशक्ति भएका चिकित्सकहरूको सक्षम टिमसहित देशभर परिवर्तन चाहने चिकित्सकहरूको समर्थन आफूलाई प्राप्त रहेको उनको दाबी छ ।

डा. कीर्तिपाल सुवेदी
उनको नेतृत्व यात्राको सुरुवात विद्यार्थी जीवनबाटै भएको देखिन्छ । नेपाल मेडिकल कलेजमा अध्ययनरत रहँदा उनले स्टुडेन्ट वेलफेयर कमिटी गठन गरी विद्यार्थीका शैक्षिक, प्रशासनिक तथा पेशागत अधिकारका विषयमा संगठित आवाज उठाएका थिए । “त्यही समयले मलाई सिकायो—समस्या एक्लैले होइन, संस्थागत रूपमा समाधान गर्नुपर्छ,” उनी विगत सम्झँदै भन्छन् ।
पेशागत जीवनमा प्रवेश गरेपछि पनि डा. सुवेदी संगठनात्मक भूमिकामा निरन्तर सक्रिय रहँदै आएका छन् । सरकारी चिकित्सक संघमा एक कार्यकाल केन्द्रीय सदस्य र त्यसपछि अर्को कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका उनले सरकारी चिकित्सकका सेवा सुविधा, कार्य सुरक्षा तथा नीतिगत हकहितका विषयमा निरन्तर आवाज उठाउने काम गरेका छन् ।
विशेषगरी स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजनको संवेदनशील चरणमा चिकित्सकको हकहित सुरक्षित हुने गरी नीतिगत व्यवस्था हुनुपर्ने मागसहित उनले सम्बन्धित निकायसँग निरन्तर लबिङ गरेका थिए । “समायोजन प्रक्रियाले चिकित्सकलाई थप असुरक्षित होइन, थप सशक्त बनाउनु पर्छ भन्ने हाम्रो अडान थियो,” उनी भन्छन् ।
चिकित्सकीय सेवामा पनि डा. सुवेदीको योगदान उल्लेखनीय छ । थापाथलीस्थित प्रसूति गृह अस्पतालमा कार्यरत रहँदा पाँच भ्रूण भएको गर्भवती महिलाको सफल शल्यक्रिया गरी उनले राष्ट्रियस्तरमै चर्चा कमाएका थिए । २०७९ भदौदेखि भेरी अस्पताल नेपालगन्जमा कार्यरत उनले अस्पतालमा ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गर्दै आधुनिक प्रसूति तथा स्त्रीरोग सेवाको विस्तारमा महत्वपूर्ण योगदान दिएका छन् ।

बिरामीको उपचारमा डा.सुवेदी
सेवा, संगठन र नीतिगत नेतृत्व—तीनै तहको अनुभव बोकेका डा. कीर्तिपाल सुवेदी एनएमए निर्वाचनलाई केवल चुनाव नभई चिकित्सक पेशाको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेर्छन् । चिकित्सकलाई सुरक्षित, सम्मानित र भविष्यप्रति आशावादी बनाउने लक्ष्यसहित उनी दृढताका साथ चुनावी मैदानमा छन् ।
डा. सुवेदी आफ्नो उम्मेदवारी व्यक्तिगत पद वा प्रतिष्ठाका लागि नभई सिंगो चिकित्सक समुदायको हकहितका लागि भएको बताउँछन् । “मेरो जित कुनै पद प्राप्त गर्नु मात्र होइन, देशभर कार्यरत चिकित्सकहरूको आवाज एकताबद्ध भएर नीतिनिर्माण तहसम्म मजबुत रूपमा पुग्नु हो,” उनी भन्छन् । एनएमए नेतृत्वमार्फत चिकित्सकका साझा एजेन्डालाई अझ प्रभावकारी र निर्णायक आवाज बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।









