नेपालगन्जमा ३८औँ विश्व एड्स दिवस विविध कार्यक्रमसहित सम्पन्न

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०८२, सोमबार

नेपालगन्ज: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ३८औँ विश्व एड्स दिवस नेपालगन्जमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै मनाइएको छ । दिवसको अवसरमा आज बिहान नेपालगन्जमा प्रभातफेरी निकालिएको थियो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोक, सदरलाइन, त्रिवेणी मोड, न्युरोड हुँदै बसपार्क पुगेपछि कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरीमा नेपालगन्ज नर्सिङ क्याम्पसका विधार्थी

प्रभातफेरीमा स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीय निकायका प्रतिनिधि तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो । कोणसभामा एड्ससम्बन्धी जनचेतना फैलाउन हाजिरजवाफ, कन्डम फुलाउने प्रतियोगिता र नृत्य प्रस्तुति समेत गरिएका थिए ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै भेरी अस्पतालका फिजिसियन तथा एड्स फोकल पर्सन डा. संकेत रिसालले समाजमा एड्सबारे रहिआएका भ्रम हटाउन सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताए । उनका अनुसार एचआईभी संक्रमण भए पनि समयमै एआरटी उपचार सुरु गरे जीवन सामान्यजस्तै चलाउन सकिन्छ, त्यसैले रोकथाम, परीक्षण र उपचारलाई सहज र प्रभावकारी बनाउनेतर्फ सबैको सरोकार आवश्यक छ ।

त्यस्तै भेरी अस्पतालका ईएनटी सर्जन डा. दिनेश चौधरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द लगायतका वक्ताहरूले एचआईभी/एड्स भएका व्यक्तिहरूलाई भेदभाव नगरी साथ र सम्मान दिन समुदायलाई आग्रह गरे । उनीहरूले समाजमा अझै रहेका गलत धारणाहरू हटाउन निरन्तर सचेतनामूलक अभियान आवश्यक रहेको उल्लेख गरे ।

यसैबिच दिवसकै अवसरमा समाजमा सचेतना जागोस् भन्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुरमा सडक नाटक प्रदर्शन गरिएको थियो । AHF नेपालका कार्यक्रम संयोजक सन्जय पौडेलले स्वास्थ्यपेजलाई जानकारी दिँदै भने, “समाजले अझैपनि एचआईभी संक्रमित भएकाहरुलाई हेर्ने दृष्टिकोण बदलिएको छैन। यसबारे सचेतना र एचआईभी संक्रमणबाट बच्ने उपायबारे जानकारी दिन समुदायमै सडक नाटक प्रदर्शन गरिएको हो ।”

विश्वभर एचआईभी संक्रमण, रोकथाम, उपचार र सचेत जीवनशैलीबारे जनचेतना फैलाउन प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ । नेपालगन्जमा आजको कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

  • १५ मंसिर २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech