औषधिरहित (ड्रगलेस) उपचार पद्धति हो, फिजियोथेरापी । विशेषत: नसा र हाडजोर्नीसम्बन्धी समस्या भोगिरहेकाहरूलाई औषधिको बिना नै गरिने उपचार पद्धतिका रूपमा फिजियोथेरापीलाई लिइन्छ । यसमा शारीरिक अभ्यास र विभिन्न मेसिनको उपयोग गरेर उपचार गरिन्छ । जुनसुकै उमेरका व्यक्तिलाई फिजियोमार्फत नै उपचार गर्दा लाभ मिल्छ । बिरामीको अवस्था हेरेर इलेक्ट्रोथेरापी, एक्सरसाइज थेरापी, रिहाबिटेसनलगायतको माध्यमबाट उपचार गरिन्छ ।
फिजियोथेरापीको साथसाथै खानपान र जीवनशैलीमा परिवर्तन गर्ने हो भने कतिपय समस्या पूर्णतया निको हुन्छ । फेसियल प्यारालाइसिस होस् कि अन्य प्रकारका समस्या उपचार गरेर धेरै ठीक पारेको अनुभव फिजियोथेरापिस्टसँग छ । मांसपेशीमा ऐंठन (स्पाजम)को समस्या भएकाहरूलाई पनि फिजियोथेरापीकै माध्यमबाट उपचार गर्न सकिन्छ ।
विशेषतः धेरै हिँड्ने, उभिएर घण्टौंसम्म काम गर्ने, अग्लो घरबाट भर्याङ चढ्ने—झर्ने, मोबाइल तथा कम्युटरमा घण्टौंसम्म घोत्लिने, लामो समय एउटै पोजिसनका रहेर काम गर्नेहरूलाई प्रायः नसा (न्युरो)सम्बन्धी समस्या देखापर्छ । कम्मर र गर्धन दुखाइको समस्या बढी देखिन्छ । यो समस्या समाधानका लागि जीवनशैली सुधार गर्न आवश्यक छ ।
फिजियोथेरापीमा प्रायः दुई तरिकाले उपचार हुने गर्छ,— एक्सरसाइज थेरापी र इलेक्ट्रोथेरापी । हाम्रो शरीरको घुँडाको जोर्नी, लिगामेन्ट, मस्कुलर, न्युरोलोजिकल दुखाइ हुन्छ । दुखाइमा पनि दुई किसिमको हुन्छ, मेकानिकल पेन र केमिकल पेन । ज्वरो आएर दुखाइ महसुस भएको छ भने त्यो केमिकल पेन हो । नसा च्यापिएर वा ढाड दुखेर महसुस भएको दुखाइ मेकानिकल पेन हो । केमिकल पेनमा फिजियो पद्धतिले काम गर्देन । तर मेकानिकल पेनमा भने फिजियो बढी प्रभावकारी हुन्छ ।
अहिलेको नयाँ पुस्ताको जीवनशैली डिजिटल ग्याजेटसँग जोडिएको हुन्छ । ग्याजेटमा अल्मलिँदा अल्मलिँदै हामीलाई थाहै हुन्न, हाम्रो घाँटी कति तलसम्म झुक्न सक्छ भनेर । अति भएपछि दुखाइको समस्या देखिन्छ । यस्ता समस्याहरू अपरेसनबिना नै फिजियोथेरापीबाट ठीक
भइरहेका छन् ।
शरीरलाई चलायमान गरिरहनुपर्ने हुन्छ । शरीरको बनावटले गर्दा पनि एकै पोजिसन मा धेरैबेर बस्न सक्दैन । चलिराख्नुपर्ने हुन्छ । हाम्रो शरीरलाई पनि केही न केही ब्रेक चाहिन्छ । एउटा व्यक्तिले एक स्थानमा बसेर काम गर्दा घरीघरी उठ्ने र केही पाइला हिँड्ने गर्नुपर्छ । शरीर तन्काउनुपर्छ । व्यस्त भएको बहानामा आफ्नो शरीरलाई ध्यान दिन पाएका छैनौ । शरीरलाई रिल्याक्स पुगेन र व्यस्त जीवनशैलीले शारीरिक अभ्यास पुगेन भने नसा (न्युरो) हाडजोर्नी (अर्थोपेडिक ) मुटु (कार्डियो र छातीको समस्या हुन्छ ।
हाडजोर्नीको बनावट कमजोर छ वा क्याल्सियम, भिटामीन डी वा पोषणको कमी छ भने जोर्नी दुखाइ सुरु हुन्छ । यदि मांसपेशी लचकदार र स्वस्थ छैन भने मांसपेशी दुख्न सुरु हुन्छ । प्रायः जोर्नी र मांसपेशीको दुखाइ समानान्तर रूपमा आइरहने हुन्छ । फिजियोथेरापीमा प्रयोग हुने उपकरण पनि अत्याधुनिक भइसकेको छ । यसले गर्दा नसा च्यापिने तथा हड्डी खिइने समस्याका लागि फिजियोथेरापी उपयुक्त सावित भएको छ । हाडजोर्नी समस्याबाट मुक्ति पाउन खानपान र जीवनशैली परिवर्तन जरुरी छ । फिजियोमा आइसथेरापी पनि गर्न सकिन्छ । खेल्दाखेल्दै चोट लागेमा तत्काल रिलिफको लागि आइसथेरापी लगाउने प्रचलन छ ।