सुमित्रा पण्डित ।
नेपालगञ्ज: नेपालगञ्ज–६ की ५० वर्षीया गुड्डी यादवले ६ महिनासम्म सेतो पानी बग्ने समस्याबाट पीडित थिइन् । एक जना साथीकै सल्लाहमा तीन महिना पहिले आयुर्वेद केन्द्र पुगेकी गुड्डीले निःशुल्क औषधि सेवन गरेपछि अहिले पूर्ण रूपमा स्वस्थ महसुस गरिरहेको बताइन् । ‘‘सुरुमा लाज लाग्थ्यो, पछि गएर उपचार गर्दा अहिले आराम छ, अब अरूलाई पनि यही सल्लाह दिन्छु,’’ उनले भनिन् । त्यस्तै, वडा नम्बर ९ की ४० वर्षीया शकुन्तला भट्टराईलाई वर्षौंदेखि घुँडामा पीडा थियो । धेरै ठाउँ उपचार गराउँदा पनि खासै सुधार भएन ।
योग गर्न आयुर्वेद केन्द्र जाँदा चिकित्सकले थेरापी र तेल मालिस सिफारिस गरे । अहिले उनी सजिलै भर्याङ चढ्न सक्ने भएकी छन् । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले महिला स्वास्थ्य, पोषण र जीवनशैली सुधारका लागि सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमले गुड्डी यादव र शकुन्तला भट्टराई जस्ता धेरै महिलालाई लाभ पुर्याएको छ । लुम्विनी प्रदेश सरकारअन्तर्गत महिला लक्षित कार्यक्रममार्फत सन्चालित यी अभियानले आमा–शिशु स्वास्थ्यदेखि भान्सा सुधारसम्मको चेतना जगाएर समुदायमै सकारात्मक परिवर्तन ल्याएको छ ।
स्वास्थ्य केन्द्रले हरेक वर्ष भान्सा सुधार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सस्तो, सहज र आयुर्वेद सिद्धान्तमा आधारित पोषणीय आहारमार्फत स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नु कार्यक्रमको मूल उद्देश्य हो । यही कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८०÷८१ मा बाँकेका विभिन्न पालिकामा सयौं महिलाहरूले सहभागिता जनाए । पछिल्लो आर्थिक वर्षमा बैजनाथ गाउँपालिका–३ र ८ नम्बर वडामा आयोजना गरिएको कार्यक्रममा ४० देखि ८० जना महिला सहभागी भए । राप्तीसोनारी गाउँपालिकामा पालिकास्तरीय कार्यक्रम तथा कोहलपुर नगरपालिकामा स्वयंसेविका र आमासमूहको सहकार्यमा ६० देखि ८० महिलाले सेवा लिएका थिए ।
कार्यक्रमको उद्देश्य घरेलु आहारमा सन्तुलन ल्याउने, पत्रु खानेकुरा प्रतिको आकर्षण कम गर्ने र पोषणीय खाद्य संस्कारको ज्ञान समुदायसम्म पु¥याउने रहेको स्वास्थ्य केन्द्रका सूचना अधिकारी गीता रेग्मी बताउँछिन् । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि जेठसम्मको अवधिमा कुल ४ हजार १ सय ९३ जना महिलाले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सेवा लिएका छन् । सेवा लिनेहरूमध्ये ७ महिनादेखि ११ महिनासम्मका २ जना बालिका, १–४ वर्षका ४८ जना, ५देखि १६ वर्षका १ सय ११ जना, १७ देखि ५९ वर्षका ३ हजार ३२ जना र ६० वर्षभन्दा माथिका एक हजार जना महिला थिए ।
उनीहरूले प्रायः तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारी गडबडी, बाथ, पायल्स, फिस्टुला, फिसर, अम्लपित्त, पिसावसम्बन्धी समस्या लिएर सेवा लिएका थिए । सूचना अधिकारी रेग्मीका अनुसार गर्भवती तथा स्तनपान गराउने आमालाई लक्षित गरी केन्द्रले दुग्धवर्धक औषधिहरू समेत निःशुल्क वितरण गर्दै आएको छ । यसमा पुष्यानुग चूर्ण, चन्द्रप्रभा वटी, त्रिफला चूर्ण, अभयारिष्ट लगायतका आयुर्वेद औषधि समावेश छन् । यी औषधिहरू प्रदेश सरकारबाट उपलब्ध हुने गरेका छन् । कार्यक्रमले मातृ–शिशु स्वास्थ्य सुधारसँगै पोषणीय संवेदनशीलता पनि बढाएको बताइन्छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा १ हजार ५ सय ५१ जना महिलाले पंचकर्म सेवाको प्रयोग गरेका छन् ।
पंचकर्म अन्तर्गत स्नेहन, एकाङ्ग, सर्वाङ्ग, र सिरोधारा थेरापीबाट लाभ लिनेहरू क्रमशः ५ सय ८४, ७ सय ८१, १ सय ८१ र ५ जना रहेका छन् । थकान, बाथ, शारीरिक दुर्बलता, मानसिक अशान्ति लगायतका समस्यामा आयुर्वेदिक थेरापी प्रभावकारी देखिएको सेवा लिनेहरूको अनुभव छ । बाँके, बर्दिया, रूकुम, कर्णाली प्रदेशका साथै भारतको बाबागञ्ज, नानपारा र रूपैडिहाबाट समेत महिलाहरू बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका छन् । यो विश्वासको आधार बनेको सूचना अधिकारी रेग्मी बताउँछिन् ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले आधुनिक चिकित्सा सुविधामा पहुँच नपुगेका महिला, बालबालिका, किशोरी र वृद्धवृद्धालाई लक्षित गरी सेवा पु¥याउँदै आएको छ । यसले परम्परागत आयुर्वेदिक प्रणालीको पुनर्जागरण मात्र होइन, जनस्वास्थ्य क्षेत्रमा पनि सकारात्मक छाप छोडेको छ । मुख्य रुपमा भान्सा सुधार, पोषण शिक्षा, मातृ–शिशु सुरक्षाको सन्देश, पंचकर्म जस्ता प्राकृतिक थेरापी, र सहज उपचार प्रवाहले गर्दा आयुर्वेद स्वास्थ्य केन्द्रप्रति समुदायको विश्वास अझ बढ्दो छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा मात्र दिएको छैन, चेतना जगाएको छ । यसले महिलाहरूलाई स्वस्थ जीवनशैलीतर्फ डोर्याउने मार्गचित्र कोरेको छ — जो आजको स्वास्थ्य संकटको युगमा साँच्चिकै प्रेरणादायी छ ।