नेपालगन्जः ३६ वर्षीय डा उमाकान्त तिवारी मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी) चिकित्सक हुन् । २०४६ साल बैशाख २२ गते जुम्लाको सिंजामा जन्मिएका डा तिवारी पढाइमा अव्वल थिए । पढ्नमा तिक्षण तिवारी कक्षामा कहिले दोस्रो भएनन् । जुम्लामा कक्षा ५ सम्म अध्ययन गरेपछि तत्कालीन सशस्त्र विद्रोहका कारण उनको परिवार विस्थापित भएर कैलाली झर्यो । उनी पनि सँगै आए ।
कैलालीमा कक्षा ६ र ७ सम्म अध्ययन गरे । ८, ९ र १० कक्षा भने किर्तिपुरमा पढे । २०६३ सालमा उत्कृष्ट नतिजासहित एसएलसी उर्तिण गरेपछि उनले २०६५ सालमा सेभिर्यस ललितपुरबाट आइएस्सी गरे । भैरहवा युनिभर्सल कलेजबाट २०७२ सालमा छात्रवृत्तिमा एमबीबीएस गरेका डा तिवारीले २०७९ सालमा छात्रावृत्तिमै पाटन अस्पतालबाट एमडी गरे । उनले जिल्ला अस्पताल कालिकोट, भजनी प्राथमिक स्वास्थ्य केन्द्र कैलाली, पाटन अस्पतालमा बसेर त्यसक्षेत्रका नागरिकलाई सेवा दिएका छन् ।

डा. उमाकान्त तिवारी
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दुई वर्ष काम गरे । त्यसपछि भने उनले कर्णाली प्रदेश आयोगमा आठौं तहमा नाम निकाले । ८ महिना प्रदेश अस्पताल सुर्खेतमा काम गरेका उनको त्यहाँबाट सरुवा भयो हुम्ला । अहिले उनी जिल्ला अस्पताल हुम्लामा कार्यरत छन् । डा तिवारी दुर्गममा जन्मिए, तर सुगममा हुर्किदै पढे ।
संयोग नै मान्नु पर्छ सुगममा हुर्किदै पढेका डा तिवारी अहिले भने आफ्नै जन्मथलो दुर्गम कर्णाली प्रदेशका बिरामीको सेवामा छन् । दुर्गमका बिरामीका कथा र व्यथा नजिकबाट नियालिरहेका छन् । दुर्गमका बिरामीको औषधी उपचारमा तल्लीन छन् । उनी हुम्ला अस्पताल गएको महिना दिन पनि पुगेको छैन । तर दुर्गमको चिकित्सकीय पेसाको शिलशिलामा देखेका केही घटनाहरूले डा तिवारीको मन च्वास्स भइसकेको छ ।
हुम्ला अस्पतालमा पुगे लगत्तै एउटा प्रसंग सम्झिए उनले । प्रसंग तीन हप्ता अगाडिको हो । हावाहुरीले टिनको पाता उडाउँदा १३ वर्षीया बालिकाको मस्तिष्कको ठूलो नसा काटिएछ । उनी रगताम्य भइन् । गाउँकै स्वास्थ्यकर्मीले कटनले हिप्रेसर दिएर जिल्ला अस्पताल पठाए । करिव तीन घण्टा लगाएर आफन्तहरुले ती बालिकालाई राती साढे ८ बजे जिल्ला अस्पतालमा ल्याए । इमरजेन्सीमा मेडिकल अधिकृतहरुले हेरे । अवस्था गम्भीर देखे । टिनले ती बालिकको ठूलो नसा दुई टुक्रा पारेको थियो । त्यतिबेलासम्म बालिकाको करिव एक लिटर रगत वगिसकेको थियो । किनकी शिराबाट आएको रगत रोक्नै गाह्रो हुन्छ ।
ती मेडिकल अधिकृतले डा तिवारीलाई फोन गरे । तिवारी तत्काल पुगे । खास यसको शल्यक्रिया गर्न कार्डियोथोरासिक सर्जन आवश्यक पर्छ । तर हुम्ला अस्पतालमा कार्डियोथोरासिक सर्जन छैनन् । तत्काल बाहिर पठाउने अवस्था पनि थिएन । रातको समय न गाडीको सुविधा । न त तत्काल हेलि । त्यसमा आर्थिक पाटो पनि जोडिने । डा तिवारीले जोखिम उठाए । आफ्नो क्षमता र सीपको प्रयोग गरे । करिव तीन पटकको प्रयासपछि रगत वग्ने नसा बाँध्न सफल भए । यो भनेको फुटेको कुलो बन्द गर्नुजस्तै हो ।
एक पिन्ट रगत चढाए । भोलिपल्ट विहान नै ती बिरामीको स्वास्थ्य अवस्था सुधार भयो । डा तिवारीले बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालका वरिष्ठ कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा निरज भट्टराईलाई घटना विवरण सुनाए । डा भट्टराई यसका विज्ञ सर्जन हुन् । डा भट्टराईले थप उपचारका लागि बिरामीलाई बाँके ल्याउन नपर्ने सुझाव दिए । केही दिन अस्पताल बसाइपछि ती बालिका अस्पतालबाट डिस्चार्ज भइन् । चिकित्सकप्रति आफन्तले शब्दमा त कृतज्ञता व्यक्त गर्न सकेनन् । तर, उनको अनुहार हेर्दा त्यो बुझ्न कठिन थिएन । उनीहरू घर फर्किए । डा तिवारी दंग भए ।
सुत्केरी हुन आएकी २३ वर्षीया महिलाको ब्लडप्रेसर १९०/१३०…
त्यसैगरी अर्का एक जना महिलाको उपचार गरेको प्रसंग डा तिवारीले सुनाए । प्रसंग केही दिन अघिको मात्रै हो । २३ वर्षकी गर्भवती सुत्केरीका लागि अस्पताल आइन् । पहिलो सन्तान जन्माउन लागेकी ती महिलाको अनुहारमा खुसी पनि झल्किन्थ्यो । डर र भयको अनुभूति पनि अनुमान पनि गर्न सकिन्थ्यो ।
नर्सिङ स्टाफहरुले व्लड प्रेसर चेक गरे । १९०/१३० देखियो । सबै आत्तिए । पहिलो बच्चा, दिन पनि पूरा भएको । मेडिकल भाषामा यसलाई इम्पेन्डिङ एक्लेम्सिया भनिन्छ । यो एकदमै जटिल मानिन्छ । किनभने यस्ता शल्यक्रिया पुरै शरीर वेहोस बनाएर गर्नुपर्छ । पाटन अस्पतालबाट एमडी गर्दाको अनुभव उनले सुनाए । व्लड प्रेसर भएका गर्भवतीको शल्यक्रिया गर्दा पुरै शरीर वेहोस बनाएरै गर्नुपर्छ । नत्र बिरामीमा क्षारे आउने जोखिम बढी हुन्छ । हुम्ला अस्पतालमा शरीर पुरै वेहोस बनाएर शल्यक्रिया गर्न सम्भव छैन ।
जोखिमकै बीच ढाडदेखि तलको शरीर वेहोस बनाएर शल्यक्रिया गरियो । आमा र बच्चा दुवैको ज्यान जोगियो । करिव ९ दिन अस्पताल बसेकी ती महिलाको बैशाख १५ गते सोमवार डिस्चार्ज भएको छ । जोखिमका बीच उपचार पाएका कारण आमा र बच्चा दुवै बाँचेको सम्झँदा उनलाई आनन्द अनुभूति भएको छ ।
रगत र पानी चढाउने नसा नै भेटिएन…
हुम्लाको चंखेली भन्दा माथि एउटा दुर्गम गाउँ छ । स्थानीय वर्थिङ सेन्टरमा महिला सुत्केरी भइन् । बैशाख १४ गते बेलुका पाँच बजे सुत्केरी भएकी उनको साल झरेन । स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पतालमा साल निकाल्न सकिएन भनेर फोन गरे । त्यहाँबाट जिल्ला अस्पताल आउन (पैदल र गाडीबाट गरेर) करिव ६ घण्टा लाग्छ । बाटोमा रहेका स्वास्थ्य संस्थाहरुमा सलाइन चढाउँदै ती महिलालाई १५ गते विहान साढे पाँच बजे अस्पताल ल्याए । अस्पताल ल्याउँदा ती महिलाको शरीर हिउँ जस्तै चिसो थियो । हेमोग्लोविन चार थियो ।
ब्लड तथा सलाइन चढाउन नसा नै भेटिएन । शरीरमा रगत र पानी चढाउने नसा नभेट्दा सबै आत्तिए । अझ अर्को कुरा ती महिलाको ब्लड ग्रुप नै थाहा रहिन्छ । उनले गर्भवती भएपछि एक पटक पनि स्वास्थ्य चेकजाँच गराएकी रहिन रहिछिन् । डा तिवारीले बाटोमै पर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई ब्लड लिएर ग्रुप पहिचान गर्न सुझाइ सकेका थिए । किनभने तत्काल रगतको जोहो गर्न सहज होस् भनेर । गाडीमा आउँदा हल्लिएर क्यानुला सबै खसिसकेका थिए ।
सलाइन दिनका लागि नसा नै भेटिएन । शरीरका कुनै पनि ठाउँबाट नसा खोल्न नसकिएपछि अन्तिम विकल्पका रुपमा भिडियो एक्स रे गर्ने युएसजीको मद्दतले योनी र थाइको वीचमा रहेको फिमरल भेनबाट बढो मुश्किलले दुई लिटर नर्मल सलाइन चढाऔं । दुर्भाग्य ती महिलाको लागि आवश्यक पर्ने ब्लड नै हुम्लामा पाउनै सकिएन् । उनलाई ‘ए’ नेगेटिभ ब्लड चाहिने । तर यो ब्लड ग्रुप भएका मानिस एकदमै कम छन् । डा तिवारीले भेरी अस्पताल नेपालगन्जमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीसँग समन्वय गरे ।
रक्तसंचार केन्द्रमा ब्लड भए नभएको सुनिश्चित गरे । संयोगले केन्द्रमा पन्ट ब्लड रहिछ । प्लेनबाट नेपालगन्ज ल्याउन विभिन्न संघसंस्थासँग समन्वय गराए । राझा विमानस्थलबाट मंगलवार भेरी अस्पताल पुर्याइयो । भेरी अस्पतालले आफ्नै एम्वुलेन्सबाट निशुल्क उनलाई अस्पतालसम्म ल्यायो । आइसीयूमा उपचारत उनको अवस्था गम्भीर नै छ । हेमोग्लोविन ३ मात्रै छ । एक पिन्ट चढाइएको छ । थप रगत व्यवस्थापनमा अस्पतालको सिंगो टिम लागिरहेको छ ।
###
करिव तीन हप्ताको हुम्ला उपचार अनुभवले डा तिवारीलाई दुर्गमको स्वास्थ्य अवस्थाले पिरोल्न थालेको छ । विशिष्टिकृत सेवा पाउनु त परैको कुरा दुर्गमका नागरिकहरुले आधारभूत स्वास्थ्य सेवा समेत राम्रोसँग पाइनराखेको डा तिवारी अनुभव गर्न थालेका छन् । यसकालागि राज्यले आवश्यकता आधारमा जनशक्ती परिचालन गर्नुको विकल्प देख्दैनन् उनी । आमनागरिकले सहज तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नका निमित्त ओएनएम गरेर त्यसकैआधारमा जनशक्तीको व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।
ओएनएम पनि तथ्यगत हुनुपर्नेमा उनी जोड दिन्छन् । दुर्गमका अस्पतालमा कम्तीमा पनि कन्सल्टेन्ट एमडीजीपी, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट हाडजोर्नी विशेषज्ञ र कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट एकएक जना हुनै पर्ने बताउँछन् । हुम्ला अस्पतालमा अहिले तिवारी निमित्त प्रमुख छन् । प्रमुख डा प्रतिक्षा महत्तो विदामा छिन् । उनी एमडी अध्ययन गर्न जाने तयारीमा छिन् । छात्रवृत्तिमा एक जना एमडीजीपी, चार जना मेडिकल अधिकृत, एनेस्थेसिया एकजना, नर्सिङस्टाफ, स्वास्थ्यकर्मी, कर्मचारी गरेर करीव २८ जना हुम्ला अस्पतालमा कार्यरत छन् । एनेस्थेसिया नहुँदा एमडीजीपीबाटै एनेस्थिेसियाको काम गर्नुपर्ने अवस्था छ ।
शरीरमा भएका विभिन्न चोटपटक, कुनै रोग वा कुनै चोटपटक जस्ता कारणले हड्डी मर्किएको तथा भाँचिएको, मेरुदण्ड र हाड जोर्नीमा भएका समस्याको औषधी उपचार तथा शल्यक्रियाका लागि बिरामी आउने गरेको उनी सुनाउँछन् । त्यसैगरी नसा च्यापिएर हातखुट्टा झमझमाउने, युरिक एसिड, बाथ लगायतको समस्या भएका बिरामीमा औषधी उपचारका लागि अस्पताल आउने गरेका छन् । गाउँठाउँमा रुख, भीरबाट लडेर चोटपटक लागेर आउने बिरामीको संख्या पनि कम छैन ।
इमरजेन्सी र आमा सुरक्षा कार्यक्रम चौविसैं घण्टा छ । ओपीडीमा दैनिक १२० देखि १५० जना बिरामी आउँछन् । राज्यले कम्तिमा पनि आवश्यकताका आधारमा चिकित्सकहरु खटाउन आवश्यक देख्छन् डा तिवारी । त्यसैगरी स्वास्थ्य संस्था होस् वा, जिल्ला स्वास्थ्य, अस्पताल, प्रदेश र संघीय अस्पताल नै किन नहोस् नेतृत्वको जिम्मेवारी क्षमता र योग्यताका आधारमा दिनुपर्ने मत उनको छ । त्यसो गर्न सकियो भने अस्पतालको पनि विकास हुने र नागरिकले पनि गुणस्तरीय सेवा पाउने उनको भनाइ छ ।