डोल्पाः डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गर्न आउने गर्भवती महिलाका लागि निः शुल्क क्याल्सियम वितरण सुरु गरिएको छ । हिमालयन फेमली हेल्थ केयर र डोल्पा घर भई हाल अमेरिका बस्ने प्रकाश शाहीको आर्थिक सहयोगमा निःशुल्क क्याल्सियम वितरण आजबाट सुरु गरिएको हो ।
नेपाल सरकारले स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न आउने सबै गर्भवती महिलालाई निःशुल्क आइरन चक्की वितरण गरे पनि क्याल्सियम भने किन्नुपर्छ । देश विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर जिल्लामा निःशुल्क क्याल्सियम वितरण गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायले बताए ।
उनले भने ‘सरकारले आइरन चक्कीमात्र निस्शुल्क दिन्छ, क्याल्सियम किन्नुपर्छ, कतिपय गर्भवतीले क्याल्सियम किनेर खाने अवस्था छैन्’, भन्छन्, ‘त्यस्तालाई निःशुल्क क्याल्सियम दिन्छौं, जसले आमा बच्चाको स्वास्थ्य राम्रो होस भन्ने उदेश्य हो ।’
यसै अभियान अन्तर्गत दुई महिना अघिमात्र ९० जना गर्भवतीलाई निः शुल्क क्याल्सियम वितरण गरिएको थियो । यसबाट एउटा गर्भवतीको तीन हजारसम्म रकम जोगिने बताइएको छ ।
गर्भवती भएको महिनाबाट तीन महिना कटेदेखि सुत्केरी भएको तीन महिनासम्म आइरन चक्की र क्याल्सियम खानुपर्ने र यसले हड्डी बलियो बनाउनुका साथै रक्तचाप, कोल्डस्टोर नियन्त्रण गर्ने चिकित्सकहरु बताउँछन् । जिल्लाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिकाले पालिकाको बजेटबाट खरिद गरेर निस्शुल्क क्याल्सियम वितरण गर्ने गरेको छ ।