काठमाडौंः चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा निजी मेडिकल कलेजहरुको सिट घटाएर निकालेको म्याचिङको सूचनाप्रति परीक्षार्थीहरुले असहमति जनाएका छन्। परीक्षार्थीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग गरेका छन्।
‘आयोगद्वारा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा स्नातकोत्तर (एमडीरएमएसरएमडीएस) को सिट संख्या थप गर्ने निर्णय गरिए पनि निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई म्याचिङको सूचना निकालेर आधा भन्दा कम सिट निर्धारण गरिएको छ, सिट संख्या टुंगो नलागेसम्म म्याचिङ प्रक्रिया तत्कालै रोकिनुपर्ने’ पीजी परीक्षार्थी डा सरोज यादवले भने।
आयोगले सर्वोच्च अदालतसमक्ष दिएको जानकारी विपरीत निर्णय लिएको र यसले अदालतको अवहेलना भएको उनको तर्क थियो। चैत्र १४ गते प्रकाशित सूचनामा म्याचिङ प्रक्रिया अधुरो रहेको भन्दै परीक्षार्थीहरूले आयोगलाई आफ्नो निर्णय सच्याउन आग्रहगरे पनि आयोगले त्यसको वेवास्ता गरेको उनीहरुको आरोप छ। परीक्षार्थीहरूले आयोगले माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
चिकित्सा शिक्षा आयोगले यस वर्ष सरकारी तथा निजी मेडिकल कलेजहरू गरी १३४१ सिट तोकेको छ। परीक्षा अगाडि माघ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १६ औँ बैठकमा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता नेपाल सरकारको आठौं तह सरह रु ४८,७३७ उपलब्ध गराउने निर्णय भएको थियो।
उक्त निर्णय कार्यान्वयनका लागि परिपत्र पनि भएको छ। तर सो निर्णयको कार्यान्वयन गर्न नसक्ने निजी मेडिकल कलेजहरूले बताउँदै आएका छन्।