नेपालगन्जः विश्व क्षयरोग दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी सोमवार मनाइएको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने मुल नाराका साथ बाँकेमा पनि दिवस मनाइएको हो । दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, क्षयरोग विरुद्ध क्रियाशील अन्य संघसंस्थाहरुले सोमवार दिउँसो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
क्षयरोगका बिरामीहरुसँग अन्तरक्रिया तथा पोषण सामाग्री वितरण कार्यक्रम गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । क्षयरोगीका बिरामी तथा जोखिम समुदायलाई बोलाएर गरिएको कार्यक्रममा मनिकापुर स्वास्थ्य संस्था प्रमुख प्रकाश श्रेष्ठले क्षयरोगको परिचय, सर्ने तरिका र उपचार विधिबारे जानकारी दिएका थिए । त्यसक्रममा नुरिश–२ परियोजना अन्तगर्त सावित्री बस्नेत फाउण्डेस र बिएनएमटी युकेको आर्थिक सहयोगमा औषधीउपचारमा रहेका बिरामीलाई पोषण सामाग्री वितरण गर्ने कामलाई समेत निरन्तरता दिइएको परियोजना संयोजक दिपेन्द्र पाण्डेले जानकारी दिए ।
विपन्न तथा गरीव समुदायको त्यस्ता बिरामीहरुलाई ६ महिनासम्म पोषण सामाग्री वितरण गर्ने गरिएको उनले बताए । उनले बाँके जिल्लामा ४० जनालाई चामल, अण्डा, दाल, तेल, बदाम, स्वायविन र सर्वोत्तम पिठो समेटिएको प्याकेज वितरण गर्ने गरिएको जानकारी दिए । नियमित औषधी सेवन तथा पौष्टिक आहारको सेवनले गर्दा निको हुने दर बृद्धि हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
बाँकेमा क्षयरोगीको संख्या बढ्दै गएको तथ्यांकका बीच यसको जोखिम घटाउन सकिने उपायको खोजीमा कार्यक्रम गरिएको स्वास्थ्य महाशाखा प्रमुख चन्दको भनाइ छ । क्षयरोगीको पहिचान गर्ने कुरा त छदै छ पहिचान भएका बिरामीले नियमित औषधी नखाइदिने गरेका कारण स्वास्थ्यकर्मीहरुलाई अर्को चुनौति बन्दै आएको छ ।