कोहलपुरः बाँकेको कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाले नगरपालिका भित्र रहेका अतिविपन्न क्षयरोगीलाई पौष्टिक आहार वितरण गरेको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य शाखाले आर्थिक रुपमा विपन्न र गरीव परिवारका ३२ जना क्षयरोगीलाई पौष्टिक आहार वितरण गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।
‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने मुल नाराका साथ दिवस मनाउनुका साथै पौष्टिक आहार वितरण गरिएको उनले बताए । उनका अनुसार नगरपालिका १५ वटै वडामा रहेका ८८ जना क्षयरोगीहरु मध्य अतिविपन्न र गरीब परिवारका क्षयरोगीलाई छनोट गरेर पौष्टिक आहार वितरण गरिएको जानकारी दिए । स्वास्थ्य शाखाले सधैभरी पौष्टिक आहार वितरण गर्न नसक्ने भएकाले अन्य दिनहरुमा आफैले किनेर खानपानमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
जसमा १५ केजी चामल,२ केजी दाल, १ केजी भेजिटेबल तेल, १.५ केजी बदाम, १ क्यारेट अण्डा र १ केजी सर्वाेत्तम पिठो प्रदान गरिएको जानकारी दिए । क्षयरोगको जोखिम घटाउन र बच्न सकिने उपायको बारेमा छलफल समेत गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए । क्षयरोग लागे पनि सन्चो हुने र लाग्नबाट पनि बच्न सकिने कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वर्माले बताए । तीनै तहको सरकारले क्षयरोगलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिएको बताए । कोहलपुरमा मात्र नभई देशभर क्षयरोगमुक्त बनाउन सरकार लागि परेको उनको भनाइ थियो। क्षयरोगीहरुले नियमित औषधि सेवन गरे रोग सक्चो हुने र अरुलाई समेत सर्ने जोखिम कम हुने उनले बताए । क्षयरोग न्यूनिकरण गर्न नगरपालिकाले प्रत्येक वर्ष पोषणयुक्त खानेकुरा वितरण गरिरहेको जानकारी दिए ।