क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक किटाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । यो बाहेक यसका अन्य प्रजातिहरु पनि हुन्छन । प्रायजसो यो रोग श्वासप्रश्वासबाट सर्ने गर्छ । शरीरमा क्षय आउने भएकोले यो रोगलाई क्षयरोग भनिएको हो ।
कसरी सर्छ यो रोग ?
संक्रमित व्यक्तिले खोक्दा, हाच्छियु गर्दा हास्दा नजिक बस्ने व्यक्तिलाई सर्ने गर्दछ । श्वासप्रश्वास फेर्दा निस्कने कणहरु हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने हुन्छ । जुन सबैभन्दा पहिला फोक्सोमा जाने र अन्य भागमा पनि फैलिने सम्भावना हुन्छ । यो रोग अवसरवादी हुन्छ । शरीर कमजोर भएको अवस्थामा यसले आक्रमण गर्छ ।
नेपालको सन्दर्भमा गरीबी, कुपोषण र एचआइभी ठुलो चुनौतिको रुपमा रहेको छ । किनभने रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा यो रोग छिटो विकसित हुन्छ। क्षयरोगले हाम्रो शरीरको अंगमध्ये सबैभन्दा बढी यसले फोक्सोमा संक्रमण गर्छ । र, फोक्सो बाहेक शरीरको अन्य भागमा ग्रन्थी, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन, छाला, आँखा र टाउको आदिमा पनि लाग्न सक्छ । यसको अंगअनुसार लक्षण फरक हुन्छन । तर, सामान्यतया यी लक्षणहरु देखिन्छन ।
-ज्वरो आउने
-राती पसिना आउने
-खानामा अरुचि
-श्वास फेर्न कठिनाइ हुने
-खकारबाट रगत आउने
माथि उल्लेखित लक्षणहरूको साथै फोक्सोमा क्षयरोग हुँदा देखिने लक्षणः– दुई साता भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु
-शरीरको तौल घट्नु
-बेलुकापख ज्वरो आउनु
-छाति दुख्नु
-खाना अरुची हुनु
-श्वासप्रश्वासमा कठिनाइ
-खकारमा रगत देखिनु आदि
यो खकारको परीक्षण गर्दा संक्रमण भएको नभएको पत्ता लगाउन सकिन्छ । त्यस्तै, छाला र हड्डीमा क्षयरोग देखिएको छ भने बायोस्पी गरेर पत्ता लगाउन सकिन्छ।
यसको उपचार विधि:
यो रोगको उपचार गरेमा ९५ प्रतिशत ठिक हुने हुन्छ । क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ । उपचार अवधि भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ । समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्याधिक हुन्छ । उपचार नगराउँदा ५५ प्रतिशतमा मृत्यु हुने पनि देखिन्छ ।
‘औषधीबीचमा छाड्न हुँदैन’
औषधी खाएर आफुलाई ठिक भएको महसुस गर्ने बित्तिकै बीचमै औषधी छाड्ने पनि गरेको देखिन्छ । जुन निकै गलत हो । केहि समयको लागि निको भएको जस्तो गराए पनि शरीरको भित्रि भागमा भएको ब्याक्टेरिया नास भैसकेको हुँदैन। त्यसको परिणामस्वरूप झन् किटाणुहरु एन्टी बायोटीकल विरुद्ध झन् बलियो भएर आउँछ र प्रयोग गरिरहेको औषधीले समेत काम नगर्ने हुन्छ ।
त्यस्ता बिरामीको लागि लामो समयसम्मका लागि कडा औषधी चलाउन पर्ने अवस्था सृजना हुन्छ । क्षयरोगको औषधी प्रयोग गरिरहँदा वाकवाकी लाग्ने, जण्डिस देखिने, हातखुट्टा झमझमाउने, आँखा चिलाउने जस्ता साइडइफेक्ट देखिएर पनि बीचमै छाड्ने गरेको पाइएको छ । साइड–इफेक्ट देखिदैमा औषधी छाड्नु भन्दा तुरुन्त चिकित्सकसँग परामर्श लिन सकिन्छ जसले उचित उपचार गर्न सहज हुन्छ ।