नेपालगन्ज: ‘आँखा जतिबेला पनि रिस्कमा छ, जसको पनि रिस्कमा छ,’ भिजन आँखा अस्पताल नेपालगञ्जका नेत्ररोग विशेषज्ञ डा.प्रचण्ड गौतम आँखाको जोखिम र संवेदनशिलताबारे भन्छन्–‘तर मानिसहरु आँखा स्वास्थ्यबारे खासै प्राथमिकता नदिएको पाइन्छ ।’ शरीरमा जुन कुनै अस्वस्थता हुँदा आँखामा समस्या पर्न सक्छ । तर, प्रायः मानिसहरुले आँखा स्वास्थ्यबारे ध्यान दिएको पाइँदैन ।
एक किसिमले भन्ने हो भने आँखा भनेकै एउटा शरीर हो । आँखाको नियमित चेकजाँच गर्ने कुरा त परै जावस् समस्या हुँदा पनि तत्काल विशेषज्ञ चिकित्सकलाई भेट्न गएको पाइँदैन् । ‘ढिला गरी चिकित्सककहाँ पुग्दा आँखाको अवस्था गम्भीर भइसकेको हुन्छ,’ उनी भन्छन्–‘जसका कारण अन्धोपनको जोखिम उच्च हुन्छ ।’ पछिल्लो समय मोतियाविन्दु र जलविन्दु अन्धोपन हुने मुख्य कारण बनेका छन् ।
पश्चिम नेपालमा आँखा उपचार सेवालाई विशिष्टिकृत बनाउँदै लगेको भिजन आँखा अस्पतालले अन्धोपन निवारणमा आफूलाई अब्बल बनाउँदै लगेको छ । लुम्विनी प्रदेशको भैरहवा बाहेक कर्णाली र सुदूरपश्चिम प्रदेशमा उच्चस्तरीय प्रविधिमार्फत आँखा उपचार सेवा प्रवाह गर्दै आएको भिजन आँखा अस्पतालले ‘तपाईंको भिजन तपाईंको लागि भिजन’ भन्ने मुख्य अभिप्रायका साथ सस्तो, सुलभ र छिटोछरितो सेवा प्रवाह गर्दै आएको डा.गौतम बताउँछन् ।
वि.सं. २०७५ साल माघ १५ गते स्थानीय तहबाट १५ शैयाको अस्पताल संचालनका लागि स्वीकृत प्राप्त भिजन आँखा अस्पतालमा जनरल वार्डका बिरामीलाई शैया निःशुल्क छ । अस्पतालले ३ वटा स्पेशल क्याबिन बनाएको छ । ‘आँखासम्बन्धि कुनै पनि समस्या नेपालगञ्जमै उपचार हुने गरी हामीले काम गरिरहेका छौं,’ उनी भन्छन्–‘अबको दुई वर्षभित्र आँखाको उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’ भिजन आँखा अस्पतालले वि.सं. २०७८ माघको दोस्रो सातादेखि नेपालमै पहिलोपटक आँखाको शल्यक्रिया गर्न ‘मोडुलर अप्रेसन थियटर’ भित्र्यायो ।
अस्पतालले झण्डै ५० लाख रुपैयाँको लागतमा एउटा मोडुलर र अर्को सेमीमोडुलर गरी दुई वटा अप्रेसन थियटर निर्माण गरेको छ । ‘मोडुलर अप्रेसन थियटरको अभावमा शल्यक्रिया सेवा प्रदान गर्दा कारणबश बिरामीमा कुनै किसिमको इन्फेक्सन हुने जोखिम हुन्छ,’ उनी भन्छन्–‘मोडुलर अप्रेसन थियटरबाट त्यस्तो संक्रमणको जोखिम हुँदैन ।’ भारतबाट समेत उपचारका लागि बिरामी आउने भिजन आँखा अस्पतालमा खासगरी जलबिन्दु, मोतियाबिन्दु र दृष्टि पर्दाका बिरामीहरु शल्यक्रियाका लागि आउने गरेका छन् । अस्पताल सञ्चालनपछि हालसम्म २० हजार बढीको शल्यक्रिया भइसकेको छ । करीब डेढ लाख आँखाका बिरामीले ओपिडी सेवा लिएका छन् ।
मोडुलर अप्रेसन थियटर महंगो प्रविधि भएपनि बिरामीलाई भने सर्वसुलभरुपमै सेवा प्रवाह गर्दै आएको उनले बताए । ‘भिजन आँखा अस्पतालमा ६ हजार पाँच सय रुपैयाँमा शल्यक्रिया गरिन्छ,’ उनी भन्छन्–‘छ सय रुपैयाँ ल्याव जाँच शुल्क छ । भर्ना भएकै दिन शल्यक्रिया गरिन्छ । वेड निःशुल्क छ । यो भन्दा सर्वसुलभ अरु के हुन सक्छ ?’ अस्पतालको सुविधा सम्पन्न आफ्नै भवन छ । भाडा तिर्नु पर्दैन । सेवा सर्वसुलभ हुनु यो पनि एउटा कारण हो । तथापि डा.प्रचण्डलाई वुवा बाबुराम गौतमको निर्देशन छ–‘अस्पताल आउने कुनै पनि नागरिक पैसा नभएर फर्किन नपाउन् ।’ ‘त्यसैले पनि भिजन आँखा अस्पतालले हुने खाने वर्गहरुको मात्र उपचार गर्दैन, अस्पताल आएका विपन्न तथा गरीव नागरिकहरुलाई अस्पतालबाट पाउने सेवाका लागि बञ्चित हुनु पर्दैन्’ डा.गौतम बताउँछन् ।
अस्पतालले आफ्नो सेवालाई वर्सेनी बढाउँदै लगेको छ । बिरामीले आफ्नो रोग आफै हेर्न सकुन् भनेर सिलिट ल्याम्प प्रविधि जडान गरिएको छ । लेजर प्रविधि, आँखाको भिडियो एक्स रे लगायतका सेवालाई विस्तार गरिएको छ । इमरसन टेक्निकबाट लेन्सको पावर निकाल्ने प्रविधिको विकास गरिएको छ । ल्यावलाई अपग्रेड गराउँदै लगिएको छ । आँखाको एमआरआई मेसिन भित्र्याउने योजनामा अस्पताल छ । ३–४ महिनाभित्र ओसिटी अर्थात अप्टिकल कोहोरेन्स टोमाग्राफी प्रविधिमार्फत बिरामीलाई सेवा दिने तयारीमा अस्पताल रहेको पनि डा.गौतम बताउँछन् ।
‘आँखाको सबै चेकजाँच एउटै थलोमा गर्ने गरी योजना बनाउनेदेखि नयाँ–नयाँ प्रविधि भित्र्याइरहेका छौं,’ डा.गौतम भन्छन्–‘कुनै पनि आँखाका बिरामीहरु भिजनबाट रिफर हुन नपरोस् भन्ने हाम्रो चाहना हो ।’ उनले आँखा उपचार सेवालाई विस्तार गर्ने गरी आफूहरु लागिपरेको पनि बताए । आँखा उपचारको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुलाई लक्षित गरेर बाँके बाहिरका जिल्लाहरुमा आँखा अस्पताल नै खोल्ने योजना रहेको उनले सुनाए ।
अहिले पनि भिजन आँखा अस्पतालले लुम्विनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा पुगेर विशेषज्ञ सेवा दिँदै आएको छ । स्थानीय सरकारसँगको समन्वयमा टोलटोलमा पुगेर आँखा उपचारको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुलाई निःशुल्क सेवा दिँदै आएको पनि डा.गौतम बताउँछन् । आँखाको प्रेसर, पावर, दृष्टि नसा, दृष्टि पर्दा लगायतको सेवा दिने गरिएको छ । भिजन आँखा अस्पतालमै आएर पाउने सेवा जस्तै गरी अबको एक वर्षमा घरमै सेवा दिने गरी शिविर सञ्चालन गर्ने योजना बनाइएको पनि उनको भनाई छ ।
को हुन् डा.प्रचण्ड ?
डा.प्रचण्ड गौतम बाँके खजुराका स्थायी बासिन्दा हुन् । वि.सं. २०३३ सालमा तत्कालीन सितापुर गाविस–२ के गाउँ (हाल खजुरा गाउँपालिका २ के गाउँ) मा उनी जन्मिए । बाबुराम गौतम र महेश्वरी गौतमको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका प्रचण्डका एक जना दाजु छन् । बाबुराम आयुर्वेद चिकित्सक (कविराज) थिए । उनलाई अझै पनि गाउँमा डाक्टर भनेर चिन्दछन् । दुर्भाग्य उनका दुई छोरीको निधन भइसकेको छ । जेठी छोरी कोपिला गौतमलाई ५–६ वर्षको उमेरमै गुमाएका बाबुरामले अर्की कान्छी छोरी बन्दनालाई भने ७ वर्ष अघि गुमाए । मान्छेको जिन्दगीले सुख दुःख, हाँसोखुसी, रोदन चित्कार सबैसँग पौठेजोरी खेल्नुपर्छ ।
कतिपय चोटले जीवनलाई नयाँ परिस्थिति सिर्जना गरिदिन्छ । डा.गौतमलाई पनि दिदी बन्दनाको निधनले जीवनमा नयाँ परिस्थिति सिर्जना गराइदियो । दुई दिदिवहिनीको निधनपछि परिवारसँग सँगै बस्ने दवाव सिर्जना भयो । उनी सम्झन्छन्–‘भिजन आँखा अस्पतालको कन्सेप्ट कान्छी दिदी बन्दनाको निधनपछि बनेको हो ।’ प्रचण्डले कक्षा ७ सम्म गाउँकै शुक्र माविमा अध्ययन गरे । जनता माविबाट वि.सं. २०४८ सालमा एसएलसी गरे । पढ्नमा औषत प्रचण्ड आइएस्सी अध्ययनका लागि त्यसपछि भारतको वहराइच गए ।
दाई बाबुतरुण गौतम बहराइचमा बिएस्सी अध्ययन गर्दै थिए । वि.सं. २०५० सालमा इलाहावाद युर्निभर्सिटीबाट उनले आइएस्सी पूरा गरे । त्यसपपछि उनले सेकेन्ड लेप्टिनेटको तयारी गरे । तर, असफल भए । त्यसपछि उनलाई डाक्टर बन्ने चाहना भयो । परिवारले पनि साथ दियो । वि.सं. २०५१ सालमा एमबीबीएस अध्ययनका लागि उनी रसिया गए । वि.सं. २०५८ सालमा उनी एमबीबीएस पूरा गरेर नेपाल फर्किए । त्यसपछि मेडिकल अधिकृतको रुपमा भेरीमा काम गर्न थाले । उनलाई मेडिकल अधिकृतको रुपमा मात्रै काम गरेर हुँदैन भन्ने लाग्यो । त्यसपछि एमडी अध्ययनका लागि उनी काठमाडौं गए ।
एमडीको लागि न्याम्समा प्रवेश परीक्षा दिए । त्यही बेला नेपाल प्रहरीमा प्रहरी निरीक्षकको लागि पनि आवेदन माग भएको थियो । त्यसमा पनि उनले परीक्षा दिएका थिए । संयोग एकै दिन उनको दुवै ठाउँमा नाम निस्क्यो । तर, उनको एमडी पढ्ने हुटहुटी थियो । प्रहरी निरीक्षकमा दोस्रो नम्वरमा नाम निकालेका थिए । मुखमै आएको सरकारी जागिर छाडेर उनले आँखा रोग विशेषज्ञता हासिल गर्न एमडीमा भर्ना भए, त्यो पनि छात्रवृत्तिमा नाम निकालेर । वि.संं. २०६७ सालमा एमडी पूरा गरे । त्यसपछि उनले लुम्विनी नेत्र अध्ययन संस्थान भैरहवामा सहायक प्राध्यापकको रुपमा जागिरे जीवन सुरु गरे ।
सहायक प्रोफेसरका रुपमा सेवा गर्दै थिए, तर त्यही बीचमा वि.सं. २०७४ सालमा दिदी वन्दनाको निधन भयो । त्यसपछि भने उनी नेपालगञ्ज फर्किए । र, परिवारसँगै बस्ने निष्कर्षमा पुगे । आँखा उपचारमा प्राप्त विज्ञतालाई उपयोग गर्दै आँखा उपचारलाई प्रभावकारी गराउन सुरु भयो भिजन आँखा अस्पताल । १० लाखको लगानीबाट सुरु भएको भिजन आँखा अस्पतालमा लगानी बढेर अहिले करिब चार करोड पुगिसकेको छ ।
आँखा उपचारमा थालिएको यो प्रयासप्रति डा.गौतम सन्तुष्ट छन् । तर, प्यास मेटिएको छैन । उनी भन्छन्–‘अबको पाँच वर्षभित्र आँखा उपचारमा भिजन अस्पताल पश्चिम नेपालको मात्रै होइन, नेपालकै अब्बल अस्पताल बन्छ ।’