नेपालगन्जः आफन्तको छातीमा समस्या भई उपचार गर्न भेरी अस्पतालमा आएकी बाँके विनौनाकी सुमित्रा थारु चिकित्सकले प्रेस्क्रिप्सन गरेको सबै औषधि अस्पताल फार्मेसीमा पाइएपछि खुसी भइन् । चिकित्सकले चारथरि औषधि लेखिदिएका थिए । ‘आफु बिरामी हुँदा होस् वा आफन्त हुँदा प्राय भेरी अस्पतालमै आउछु उनले भनिन्–‘चिकित्सकले प्रेस्क्रिप्सन गरेका सबै औषधि कहिल्यै पाएकी थिइन् वाहिरबाट किनेर लैजान्थे । अहिले सबै औषधि अस्पताल फार्मेसीमै पाए ।’
भेरी अस्पतालको फार्मेसीमा दाङ कोलतराका पहल कुमाल औषधि किन्न पुगे । औषधि किन्नेहरुको लाइन थियो । उनी अस्पताल फार्मेसीको बेन्चमा बसे । ‘पहिला त बस्नलाई पनि बेन्च थिएन भुइँमा बस्नु पर्थ्यो उनले भने–‘कस्तो भिडभाड हुन्थ्यो अहिले अलि सजिलो भएको रहिछ ।’ उनी आफै हाड जोर्नीका बिरामी हुन् । दुई दुई महिनामा चेकअप गराउन भेरी अस्पताल आइरहन्छन् ।
थारु र कुमालको यो भनाइले भेरीको अस्पताल फार्मेसी व्यवस्थित बन्दै गइरहेको अनुभूति बिरामीले गर्न थालेको आभाष दिलाउँछ । पछिल्लो समय अस्पताल फार्मेसीमा आवश्यक सबै प्रकारका औषधिहरु पाइन थालेका छन् । त्यो पनि सस्तो मुल्यमा र गुणस्तरीय । भेरीको अस्पताल फार्मेसी इन्चार्ज उदयबीर शाही छन् । बिरामीलाई सस्तो मुल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउन नीतिगत रुपमै सुधारका प्रयासहरु प्रारम्भ भएकाले बिरामीहरु औषधि किन्नका लागि अव बाहिर जानुपर्ने अवस्थाको करिव अन्त्य भएको उनी दावी गर्छन् ।
बीमामा समेटिएका १२ सय औषधिमध्ये क्यान्सर र आयुर्वेद बाहेक अन्य सबै औषधिहरु अव फार्मेसीमा पाइने उनको भनाइ छ । बिरामीहरुले सस्तोमा गुणस्तरीय औषधिमात्रै प्राप्त गरुन् भन्ने उद्देश्यले नीतिगत सुधारमा जोड दिइएको उनले बताए । अस्पतालले मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे संयोजक र फार्नेसी इन्चार्ज शाही सदस्य सचिव रहेको ड्रग एण्ड थेरापी समिति बनाएको छ ।
यो समितिले अस्पतालका प्रत्येक विभागबाट चिकित्सकले प्रेस्क्रिप्सन गर्ने औषधिको ब्राण्ड माग्छ । त्यसलाई समितिले स्वीकृत गर्छ । त्यही स्वीकृतिको आधारमा अहिले टेण्डर आव्हान भइसकेको छ । सम्भवतः आगामी २४ गते टेण्डर खुल्ने छ । उनले भने–‘भेरी अस्पतालमै पहिलो पटक गुणस्तरीय औषधि उपलब्धताका लागि ‘डबल इन्भेलप सिस्टम’ मार्फत समितिको टेक्निकल कमिटिले पारित गरेका ब्राण्डको औषधि खरिद प्रक्रिया लागु गरिएको छ ।’
अस्पतालमा उपलब्ध हुने सम्पूर्ण औषधि, सर्जिकल, मेडिकल डिभाइस र त्यसको मुल्य सूचि अस्पतालको वेवसाइटमा हेर्न मिल्ने व्यवस्था मिलाइएको पनि उनले बताए । ‘अस्पताल फार्मेसीको सेवालाई बिरामीमैत्री बनाउँदै लगिएको छ उनले भने–‘सम्पूर्ण इमरजेन्सी र लाइफ सेभिङ औषधिको व्यवस्थापन गरिएको छ ।’ औषधि लिन लाइन बस्ने बिरामीलाई उपयुक्त बस्ने व्यवस्था मिलाइएको छ ।
जेष्ठ नागरिक, असक्त र अपांगता भएका व्यक्तीलाई लाइन लाग्नु नपर्ने व्यवस्था मिलाइएको छ । यस्तै नेपाल फार्मेसी परिषद्ले अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोशाक) अनिवार्य लगाउनुपर्ने व्यवस्थालाई पनि कार्यान्वयन गरिएको उनले बताए ।
यस्तै मेडिकल स्टोरलाई पनि पारदर्शी बनाउने प्रयास प्रारम्भ भएका छन् । नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधि तथा मेडिकल सामग्रीको सूचि प्रकासनसँगै उचित व्यवस्थापन गरिएको शाहीले बताए । करिव ५-६ महिना ढिला गरी हुने गरेको मेडिसिन, सर्जिकल, ल्याव, डायलाइसिस, क्याथल्याव, अक्सिजनको टेण्डर प्रक्रिया ४५ दिनमै सम्पन्न गरिएको उनले बताए ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डन्ट (मेसु) डा.निराजन सुवेदीले अस्पताल फार्मेसीलाई सुधारको निर्देशन दिएसँगै फार्मेसीले लय समाउन थालेको हो । प्रमुख मेसु डा.सुवेदीले अस्पतालमा उपचारका लागि आएका बिरामीले औषधि पाएनौं भन्ने गुनासो आउन नदिन फार्मेसी इन्चार्ज शाहीलाई निर्देशन दिएका छन् । अस्पतालको मुख्य आयस्रोतका रुपमा अस्पताल फार्मेसी पनि एक हो ।
को हुन उदयबीर ?
उनी बाँकेको बैजनाथमा जन्मिए । २०६६ सालमा सरकारी विद्यालय भगवती माविबाट एसएलसीमा प्रथम श्रेणीमा पास पाए । २०६७ सालमा मध्यपश्चिम प्राविधिक शिक्षालयबाट पूर्ण छात्रवृत्तिमा प्रथम श्रेणीमा डि फार्मेसी उर्तिण गरे । २०७० सालमा त्रिभुवन विश्वविद्यालय अन्तगर्तत चितवन मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा प्रथम श्रेणीमा बि फार्मेसी गरे । २०७५ सालमा छात्रवृत्ति करारमा जिल्ला अस्पताल जाजरकोटमा सेवा गरे ।
करारमा सेवा गरेको वर्ष दिन नपुग्दै उनले लोकसेवा आयोगमा फार्मेसी सुपरभाइजरमा नाम निकाले । ४ वर्ष सुर्खेत मेहलकुना अस्पतालमा सेवा गरे । सरकारी जागिरेकै क्रममा उनले २०७८ सालमा पोखरा विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा प्रथम श्रेणीमा मास्टर इन क्लिनिकल फार्मेसी उर्तिण गरे । त्यसपछि उनको भेरीमा सरुवा भयो । करिव ५ महिना अघि भेरी अस्पतालमा आएका उनी अहिले अस्पताल फार्मेसी र मेडिकल स्टोरलाई व्यवस्थित बनाउने भूमिकामा छन् ।