काठमाडौं: कूल जनसंख्याको ३० प्रतिशत नागरिक नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले २०७७ कार्तिकमा कुल जनसंख्याको १२ दशमलव ७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आवद्ध भएको जानकारी गराएका हुन् ।
मंगलबार आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले सो कुराको जानकारी गराएका हुन् ।आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको बसौलाले उल्लेख गरेका छन् ।
बिमा बोर्डले गतवर्ष देशभरका सेवा प्रदायकलाई १३ अर्ब बराबर भुक्तानी गरिएकोमा यसवर्ष ५ अर्ब भुक्तानी भइसकेको उनले बताए। सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बीमा बोर्डको नीति तथा तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको शुरुवात गरेको समेत उनले बताए ।
उनले सिमित जनशक्तिका बाबजुत आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारवाहीहरु सन्तोषजनक रहेको धारणा राखे।