भाँचिएको नभई अर्कै हातमा प्लास्टर गर्नेमाथि बझाङ अस्पतालले कारबाही गर्ने

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०८१, शुक्रबार

नेपालगन्जः जिल्ला अस्पताल बझाङले देब्रे हात भाँचिएर उपचारमा जाँदा दाहिने हातमा प्लास्टर गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ। अस्पतालका कर्मचारीले सोमबार जिल्लाको दुर्गाथली गाउँपालिका ७ का ६ वर्षीय बालक सचिन दौल्यालको देब्रे हात भाँचिएको ठाउँमा प्लास्टर नगरेर दाहिने हातमा प्लास्टर गरेका थिए।

सोही विषयलाई लिएर अस्पतालको गम्भीर लापरबाही भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो। सचिनको आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेर हात भाँचिएको थियो। त्यसपछि उहाँलाई उहाँका दाइले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्‍याउनुभएको थियो । उहाँलाई अस्पतालले भाँचिएको ठाउँमा अप्रेसन गर्न भनेको थियो। अस्पतालका कर्मचारीले अप्रेसन मंगलबार हुने भनेपछि सचिनको हातमा प्लास्टर गर्न सचिनलाई अर्को कोठामा लगिएको थियो।

प्लास्टर पछि सचिनका दाइले सचिनलाई क्यान्टिनमा खाजा खुवाउन लग्नु भएको थियो । त्यही समयमा भाँचिएको देब्रे हातमा प्लास्टर नगरेको तर दाहिने हातमा गरेको उहाँका दाहिले देखेर भिडियो बनाउन लगाउनुभएको थियो । तर क्यान्टिनका कर्मचारीले अस्पताललाई जानकारी गराएपछि अस्पतालले करिब १ घण्टापछि सचिनको देब्रे हातमा प्लास्टर गरेको हो।

सचिनको मंगलबार अप्रेसन भएपछि उहाँको बुधबार डिस्चार्ज भएको छ। लगातार अस्पतालको लापरबाही भनेर आलोचना भएपछि अस्पतालले बिहीबार एक विज्ञप्ति निकाल्दै कर्मचारीलाई कारबाही गर्ने जनाएको हो। विज्ञप्तिमा लेखिएको छ,‘ सो कार्यमा संलग्न कर्मचारीहरु माथि छानबिन गरि आवश्यक कार्वाही गरिने र आगामी दिनमा यस्तो त्रुटि हुन नदिन अस्पताल परिवार कटिबध्द रहेको समेत प्रस्ट पार्न चाहन्छौँ।’

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech