सल्यान अस्पतालमा सर्पदंशको उपचार सुरु

    • स्वास्थ्य पेज

  • २६ असार २०८१, बुधबार

सल्यानः जिल्ला अस्पताल सल्यानले सर्पदंशका बिरामीको उपचार सुरु गरेको छ । गर्मी र बर्षात्‌को समयमा सर्पको टोकाइबाट घाइतेले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने र उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न सर्पदंशको उपचार सुरु गरेको हो । जिल्ला अस्पताल सल्यानमा सर्पले टोकेकाहरुको उपचार गर्न थालेपछि जिल्लाका बासिन्दालाई बाहिर जान नपर्ने भएको छ । जिल्ला अस्पतालमा केही दिनयता आएका सपंदंशका दुई जना बिरामी निको भएर घर गइसकेका छन् ।

यसअघि सर्पले टोकेकाहरु उपचारका लागि नेपालगन्ज जान बाध्य हुँदै थिए भने कतिले उपचारको अभाब तथा घरेलु उपचार गर्दा अकालमा ज्यान गुमाएका थिए । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुन बुढामगरले सर्पले टोकेकाको उपचारमा आवश्यक हुने एन्टी स्नेभ भेनम अस्पतालमा अहिले पर्याप्त मात्रामा भएको बताउनुभयो । गाउँमा सर्पदंशको घरेलु उपचार तथा धामीझाक्रीको भरपर्दा धेरैले ज्यान गुमाएका छन् ।

जिल्लामा उपचार नहुँदा गाउँबाट जिल्ला अस्पताल आएकालाई बाहिर रिफर गर्नुपर्दा परिवारलाई सास्ती हुने गर्थ्यो भने आर्थिक भार मात्र नभई अनावश्यक तनाव हुन्थ्यो । भेन्टिलेटरको आवश्यकता पर्ने बाहेक अन्य सबैको जिल्ला अस्पताल सल्यानमै उपचार भैरहेको उहाँको भनाइ छ । बिरामीलाई झारफुक गर्न नलागी र सर्पले टोकेको स्थान भन्दा केही माथि कपडा तथा डोरीले बाध्ने, काट्ने, चुस्ने जस्ता काम नगरी टोकेको ठाँउलाई चलाउन नदिई सिधै जिल्ला अस्पताल ल्याउन उहाँले आग्रह गरेका छन् । यहाँ घाँसदाउरा गर्दा, घरभित्र बसेको, सुतेको बेला र रातिको समयमा हिड्दा धेरैलाई टोकेको पाइएको उहाँको भनाइछ ।

  • २६ असार २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech