नेपालगन्जमा बसेर महिलाको उपचारमा अहोरात्र खटिनु भएकी युवा डा.एलिस श्रेष्ठ !

कतिपय यस्ता रोग छन् जुन महिलालाई लाग्छ, पुरुषलाई लाग्दैन । प्रजनन् अंगदेखि शारीरिक बनावटले ती समस्या महिलामा देखिन्छन् । कतिले समयमै उपचारको बाटो रोज्छन् त कतिले रोग लुकाएर बस्छन् । त्यसले समयमै उपचार गरे निको हुने समस्या पनि जटिल बनिदिन्छ ।


    • प्रियास्मृति ढकाल

  • ९ असार २०८१, आईतवार

कतिपय यस्ता रोग छन् जुन महिलालाई लाग्छ, पुरुषलाई लाग्दैन । प्रजनन् अंगदेखि शारीरिक बनावटले ती समस्या महिलामा देखिन्छन् । कतिले समयमै उपचारको बाटो रोज्छन् त कतिले रोग लुकाएर बस्छन् । त्यसले समयमै उपचार गरे निको हुने समस्या पनि जटिल बनिदिन्छ । पछिल्ला दिनमा उमेर अनुसार महिलाहरुमा विभिन्न खाले स्वास्थ्य समस्याबाट जुधिरहेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.एलिस श्रेष्ठ हर्मोन गडबडी, अनियमित महिनावरी, बाँझोपन तथा आङ खस्ने समस्या विकराल बन्दै गएको बताउनुहुन्छ । भेरी अस्पतालको ओपिडीमा आउने कुल बिरामीमध्ये ६० देखि ८० प्रतिशत यही समस्याका हुन्छन् । किशोरीहरुमा अनियमित महिनावारीको समस्या बढी देखिएको उहाँको भनाइ छ ।

‘सामान्यतया महिलाको उमेर किशोरावस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ उहाँ भन्नुहुन्छ–‘महिनावारी व्यक्तिको शारीरिक बनावट अनुसार फरक हुन्छ । कारण पत्ता लगाएर उपचार गरे अनियमित महिनावारीलाई नियमित बनाउन सकिन्छ ।’ महिनावारीलाई नियमित बनाउन स्वस्थकर जीवनशैली अपनाउनु अति आवश्यक छ। शरीरको तौल नियन्त्रणमा राख्ने, दैनिक शारीरिक व्यायाम गर्ने हो भने महिनावारी गडबडी हुनबाट बच्न सकिन्छ ।

केही समस्या देखिने बित्तिकै चिकित्सकको परामर्शमा जानुपर्छ। अर्को समस्या छ बाझोपन । पछिल्लो समय महिलाहरुमा बाझोपनको समस्या पनि बढी छ । महिलाको मात्रै होइन पुरुषमा पनि बाझोपनको समस्या छ । अण्डा उत्पादन नहुनु, अनियमित महिनावारी, अस्वस्थ खानपिन लगायतका विभिन्न कारणले महिलाहरु यो समस्यासँग जुधिरहेका छन् ।

अर्को समस्या भनेको आङ खस्ने समस्या । ५० वर्ष उमेर पुगेका महिलामा आङ खस्ने समस्या विकराल रहेको अनुभव उहाँको छ । खासगरी कामकाजी महिला र धेरै सन्तान जन्माउने महिलामा आङ खस्ने समस्या धेरैछ । समयमै रोगको पहिचान गरेर उपचार गरियो भने रोगबाट मुक्ती पाउन सकिन्छ । तर धेरै महिलाले लाज र डरका कारण रोगलाई लुकाएर बसेको पाइएको छ । स्वास्थ्य सचेतना अभाव र समुदायको प्रभावका कारण पनि हुन सक्छ नेपालगन्जकै मधेशी समुदायमा समेत थुप्रै महिलाहरु आङ खस्ने समस्या लुकाएर बसिरहेका छन् ।

‘म नेपालगन्ज आसपासका क्षेत्रमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक दुई ठाउँ गएकी छु उहाँ भन्नुहुन्छ–‘शिविरमा जाँच गरिएका १० जना मध्ये ३–४ जनामा आङ खस्ने समस्या देखिन्छ । उपचारका लागि आउनुहोस् भन्यो आएको पाइदैन । यो एउटा ठूलो चुनौती हो ।’ एकथरी महिलाहरु आफ्नो स्वास्थ्यबारे सचेत छन् । अर्को थरी महिलाहरु स्वास्थ्यबारे हेलचेक्र्याइ गरेका छन् । नेपालगन्जमा ठूला र सुविधा सम्पन्न अस्पताल छन् । तर नगरक्षेत्रमै मातृमृत्युदर उच्च छ । लुम्विनी प्रदेशमा बाँके मातृमृत्युदरमा पहिलो नम्वरमा आउँछ । त्यसमा पनि नेपालगन्जका धेरैछन् ।

जटिल अवस्थामा पुगिसकेपछि मात्रै अस्पताल आउने प्रवृत्तिका कारण पनि मातृमृत्युदरलाई रोक्न चुनौतीपूर्ण बनेको डा.श्रेष्ठको भनाइ छ । नियमित स्वास्थ्य चेकजाँच, अस्पतालमा सुत्केरी हुने परिपाटीको विकास भयो भने मातृमृत्युदर तथा नवजात शिशु मृत्युदर कम गर्न सकिने डा.श्रेष्ठको सुझाव छ ।

को हुनुहुन्छ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एलिस श्रेष्ठ ?

नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरमा बुवा बलराम सिंह श्रेष्ठ र आमा भारती श्रेष्ठको कोखबाट वि.स २०४९ साल मंसिर ४ गते भेरी अस्पतालमै जन्मनुभएकी एलिस श्रेष्ठले माध्यामिक तहको शिक्षा नेपालगन्जकै जय बागेश्वरी उच्च माविबाट गर्नुभयो । वि.स २०६४ सालमा उत्कृष्ट अंकमा एसएलसी पास गरेपछि उहाँले काठमाण्डौंको एक कलेजबाट २०६७ सालमा प्लस टु उर्तिण गर्नुभयो ।

डा.श्रेष्ठलाई सानैदेखि डाक्टर बन्ने हुटहुटी थियो । उहाँले धरानमा रहेको BPKIHS मा ५० प्रतिशत स्कलरसीपमा एमबीबीएसमा नाम निकाल्नुभयो । सन् २०१७ मा एमबीबीएस उर्तिण गरेपछि उहाँले केही समय विर्तासिटी लगायतका अस्पतालमा काम गर्नुभयो । सन् २०१८ मा उहाँले बिर अस्पताल (NAMS) मा एमडीमा नाम निकाल्नुभयो ।

‘म सानोमा बिरामी भइरहन्थे उहाँ भन्नुहुन्छ–‘सधैं बिरामी भइरहन्छु अव ठूलो भएपछि डाकटर नै हुन्छु त्यसपछि त बिरामी हुनु पर्दैन भन्ने भावना सानैमा थियो । सायद त्यही भावनाले मलाई डाक्टर बन्ने प्रेरणा दियो ।’ श्रेष्ठको परिवार विजनेश, शिक्षण र वकिल क्षेत्रमा थिए । तर एलिसका दाजुबहिनी नै डाक्टर बन्नुभएको छ । एलिसका दाई जेनिस सिंह श्रेष्ठ सर्जन हुनुहुन्छ । दाईको प्रेरणाले पनि एलिसलाई डाक्टर बन्न थप बल पुग्यो ।

एमबीबीएस अध्ययन पूरा भएपछि प्रसूति तथा स्त्री रोग विशेषज्ञ नै बन्न किन मन लाग्यो त ?

डा.श्रेष्ठले यसलाई एमबीबीएस अध्ययनको अन्तिम वर्षको घटनासँग जोड्नुहुन्छ । ओजिटीका लागि उहाँहरुको टिम प्रसूति गृहमा थियो । एक जना महिला डेलिभरीको लागि अस्पतालमा भर्ना थिइन् । उनको बच्चा उल्टो रहिछ । ती महिलाको चित्कार र पीडाले एलिसलाई भावुक बनायो ।

के गरौं के नगरौं उहाँले केही मेलोमेसो पाउनुभएन । फेरी डेलिभरी केस ओजिटीको टिमले हेर्न पनि नमिल्ने । अन्य केसहरु हेर्दै आउनुभएको थियो एलिसले । त्यसपछि उहाँको मनमा स्त्रीरोग नै बन्ने चाहना भयो । र सन् २०२१ नोभेम्बरमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ नै बनेर भेरी अस्पतालमा आउनुभयो । करिव अढाइ वर्षदेखि भेरी अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागमा कार्यरत डा.श्रेष्ठले नेपालगन्जमै बसेर महिलाहरुको स्वास्थ्य समस्या निराकरणमा योगदान दिने योजना छ ।

‘कक्षा १० उर्तिणपछि मेरो बसाइ बाहिर नै भयो उहाँ भन्नुहुन्छ–‘जव म एमडी गरेर भेरी अस्पतालमा आए अव नेपालगन्जमै बसेर बिरामीको सेवा गर्छु भन्ने लागेको छ ।’ । पछिल्लो समय महिलाहरुमा बाझोपन, पाठेघरको मुखको क्यान्सर लगायतका समस्या बढ्दै गएको भन्दै डा.श्रेष्ठले समयमै उपचारका लागि आउन र स्वस्थ जीवन जिउन सबैमा आग्रह गर्नुभएको छ ।

  • ९ असार २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech