नेपालगन्जमा अत्याधुनिक सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै

    • समिर मान श्रेष्ठ

  • ८ असार २०८१, शनिबार

नेपालगन्ज: पश्चिम नेपालको स्वास्थ्य हबका रुपमा परिचित नेपालगन्जमा पछिल्लो समय निजी लगानीका अस्पतालहरु खुल्ने क्रम बढ्दै गएको छ।  रेफरल सेन्टरका रुपमा चिनिएको नेपालगन्जमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएपछि स्वास्थ्य क्षेत्रमा थप सम्भावना देखिएको छ ।

शहरलाई मेडिकल सिटीका रूपमा विकास गर्ने भन्दै अस्पताल खुल्ने क्रम बढेको हो । अस्पताल बढेका मात्र छैनन् स्तरीय सेवा समेत प्रवाह हुन थालेको छ । जसका कारण बिरामीहरुले विशिष्टिकृत सेवा प्राप्त गर्न थालेका छन् । यसअघि भारतका विभिन्न सहर तथा काठमाडौं जानुपर्ने बिरामीहरुको उपचार नेपालगन्जमै सम्भव हुन थालेको छ । यसले एकातिर बिरामीले छिटोछरितो उपचार सेवा पाएका छन् भने अर्को तर्फ लागत खर्च समेत जोगिन थालेको छ ।

विशेषज्ञ चिकित्सकहरु थपिदै जानु र सुविधा सम्पन्न अस्पतालहरु पनि खुल्दै जानुले नेपालगन्जलाई स्वास्थ्य हवको सम्भावना थप बलियो बनाइदिएको छ । नेपालगन्जमा मुटु रोग विशेषज्ञ, न्यूरो सर्जन, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, डर्माटोलोजिष्ट, फिजिसियन तथा मानसिक रोग विशेषज्ञ भरिभराउ छन् । त्यसैगरी ग्यास्ट्रो सर्जन, मिर्गौला रोग विशेषज्ञ, कलेजो रोग विशेषज्ञ पनि नेपालगन्जमै छन् ।

कुनै बेला नेपालगन्जमा विज्ञ चिकित्सक पाउनै मुश्किल पथ्र्यो पुराना चिकित्सकहरु भन्छन् -‘अहिले सबै अस्पतालमा विशेषज्ञ चिकित्सकहरु छन् यसले बिरामीहरुलाई धेरै सहज भएको छ ।’ पछिल्ला केहि वर्षयता नेपालगन्जमा वर्सेनि निजी अस्पताल खुलिरहेका छन् । यसवर्ष पनि नेपालगन्जमा केहि अस्पताल सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालनको तयारीमा छन् । एक समय सरकारी अस्पतालका रुपमा भेरी अस्पताल र निजी अस्पतालका रुपमा नेपालगन्ज मेडिकल कलेजले मात्र सेवा दिने गरेको नेपालगन्जमा अहिले दर्जनौ निजी अस्पतालले सेवा दिईरहदा स्वास्थ्य क्षेत्रको सम्भावना उजागर गरिदिएको छ ।

भेरी अस्पतालले आफ्ना सेवालाई थप विशिष्टिकृत गराउँदै लगेको छ भने नेपालगन्ज मेडिकल कलेजले पनि विशिष्टिकृत सेवा विस्तार गर्दै लगेको छ । करोडौ लगानी थप गर्दै पुराना अस्पतालले पनि सेवालाई स्तरीय बनाउँदै लैजाने र सुविधा सम्पन्न नयाँ अस्पतालहरु पनि खुल्दै जानुले नेपालगन्जले अव स्तरीय उपचार सेवा प्रवाह गर्दै आएको छ भन्ने सन्देश समेत दिइरहेको छ । पछिल्लो समय ८ करोडदेखि २० करोड लागत सम्मका नयाँ अस्पताल सञ्चालनमा आइरहेका छन् । १५ शैय्याको केयर सिटी अस्पतालले आफ्ना सेवालाई थप स्तरीय बनाएको छ ।

तीन वर्षदेखि आंशिक सेवा प्रवाह गर्दै आएको केयर सिटीले सेवा सुविधालाई थप स्तरीय बनाउँदै विशेषज्ञ सेवा बिस्तार गरेको घोषणा गरेको छ । नेपालगन्जका जनप्रतिनिधि र विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका व्यक्तित्वहरुलाई बोलाएर स्तरीय सेवा प्रवाह गरेको जानकारी गराएको छ । नेपालगन्ज उपमहानगरपालिका १८ भुजई गाउँमा सञ्चालनमा रहेको उक्त अस्पताललाई ‘एक बर्षभित्र ५० शैय्याको सुपरस्पेशियालिटी अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको संचालक समेत रहनु भएका बालरोग विशेषज्ञ डा विष्णु थापाले बताउनुभयो ।

यस्तै नेपालगन्जमा सुविधा सम्पन्न नेशनल अर्थोपेडिक हस्पिटलले पनि सेवा दिन सुरु गरिसकेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० सुर्खेतरोडस्थित वन कार्यालय नजिकै अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले अर्थोपेडिक डेडिकेटेड अस्पताल संचालनमा ल्याउनु भएको हो । १५ वेड क्षमताको उक्त अस्पताल औपचारिकरुपमा असार दोस्रो सातादेखि संचालनमा ल्याउने तयारी गरेपनि बिरामीको उपचार भने अहिलेदेखि नै सुरु भइसकेको डा.सद्दामले बताउनुभएको छ ।

लुम्विनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका अर्थोका बिरामीहरुलाई सहज, सर्वसुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ अस्पताल संचालनमा ल्याइएको यो अस्पतालले बिरामीहरुलाई भारत वा काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास गरिएको छ । करिव ८ करोडको लागतमा संचालनमा ल्याइएको नेशनल अर्थोपेडिक हस्पिटल अर्थो केन्द्रीत भएपनि अन्य विशिष्टिकृत सेवा समेत विस्तारको योजना लिएको छ ।

करिब डेढ वर्षअघि नेपालगन्ज न्यूरो अस्पतालले नेपालगन्जबाट सेवा सुरु गरेको थियो । नेपालगन्ज-१० स्थित जेल रोडमा रहेको अस्पतालको निजि भवनबाट २४ सै घण्टा ईमजेन्सी सेवा, अत्याधुनिक शल्यक्रिया, आइसियू, ओपिडी सेवा, ल्याब परिक्षण सेवा, फार्मेसी लगायतका सेवा दिईरहेको छ । वरिष्ठ न्यूरो सर्जन डा.जोशन न्यौपानेले उक्त अस्पतालबाट सेवा दिईरहनुभएको छ । अस्पताल प्रशासनले अस्पताल सम्भवत पश्चिम नेपालको एकमात्र न्यूरो डेडिकेटेड अस्पताल भएको जानकारी दिएको छ ।

धम्बोजी नजिक सुर्खेतरोड नेपालगन्जमा रहेको कान्ति आरोग्य अस्पतालले पनि विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको छ । उक्त अस्पतालले यस क्षेत्रमै पहिलो पटक दुरविन प्रविधिबाट हर्नियाको शल्यक्रिया गरिरहेको अस्पतालका संचालक समेत रहनु भएका बालरोग विशेषज्ञ डा रोमा बोराले बताउनुभयो । त्यस्तै अस्पतालले पश्चिम नेपालमै पहिलो पटक लेजर प्रविधिबाट पाइल्स, फिसर, फिस्टुलाको शल्यक्रिया सेवा सुरु गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१० सुर्खेतरोडमा सेन्ट्रल सिटी हस्पिटल एण्ड किरण प्रभा यूरो केयर सेन्टर प्रालिले समेत यस क्षेत्र र आसपासका बिरामीहरुलाई निरन्तर सेवा दिईरहेको छ ।  सुर्खेतरोड स्थित कुसुम पेट्रोल पम्प सामुन्नेमा रहेको हस्पिटलले विशेषतः यूरोका बिरामीलाई सेवा दिईरहेको छ । अस्पतालबाट यस क्षेत्रकै चर्चित युरोलोजिष्ट डा.दिपेश गुप्ताले सेवा दिईरहनुभएको छ । अस्पतालले यूरोसँगै सर्जरी, मेडिसिन, छाला तथा यौनरोग, प्याथोलोजी, रेडियोलोजी लगायतका सेवा समेत प्रवाह गरिरहेको छ ।

गणेशमान चोक नेपालगन्जमा सिर्दाथ अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालले सबैजसो सेवाहरु प्रदान गरिरहेको छ । यस्तै आदर्शनगरमा कृपा अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालले पनि नेपालगन्जमा केहिवर्षयता सेवा दिईरहेको छ । खासगरी मुत्ररोग, हाडजोर्नी लगायतको सेवा उक्त अस्पतालबाट प्रदान भईरहेको छ ।

गणेशमान चोकबाट भेरी अस्पताल जाने बाटोमा छ वेष्टर्न अस्पताल । पश्चिम नेपालकै चर्चित अर्थोपेडिक सर्जन डा.विनोद थापाको नेतृत्वमा रहेको यो अस्पतालले हाडजोर्नीको उपचार सेवामात्र दिइरहेको छैन यसले आफ्ना सेवालाई थप फराकिलो पार्दै प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा पनि दिइरहेको छ । यस्तै इएन्टी सेवा र सर्जरी सेवा पनि दिइरहेको छ । यसक्षेत्रका धेरै बिरामीको रोजाईमा वेष्टर्न अस्पताल पर्छ । यस्तै यही रुटमा छ एचसीआर्सी अस्पताल । अस्पतालले प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, इएनटी, मेडिसिन, डर्माटोलोजि लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

त्यस्तै टांगा स्टेन्ड नजिक लाइफ लाइन अस्पताल सञ्चालनमा छ । उक्त अस्पालले खासगरी मिर्गौलाका बिरामीहरुलाई सेवा दिईरहेको छ । निजि अस्पतालका रुपमा सञ्चालनमा रहेको लाइफ लाइनले डायलाइसिस सेवा समेत प्रदान गरिरहेको छ । उक्त अस्पतालबाट फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा.पारश श्रेष्ठले सेवा प्रदान गरिरहनुभएको छ । मिर्गौलाका बिरामीको उपचार केन्द्रका रुपमा रहेको लाइफलाइन अस्पतालले अन्य सेवालाई पनि थप विस्तार गर्ने योजना बनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-६ फुलटेक्रमा एक वर्ष अघि जनता सेवा अस्पताल संचालनमा आयो । यो अस्पताल नेपालगन्ज भेरी अस्पताल नजिकबाट सेवा दिईरहेको छ ।

बालबालिकाको उपचारमा केन्द्रित त्रिपुरा अस्पतालले गणेशमान चोक, विशेषज्ञ अस्पताल भृकुटिनगर र यशोधा अस्पतालले हुलाक नजिकबाट सेवा दिईरहेका छन् । यी अस्पतालहरुमा खासगरी बालबालिको उपचार हुन्छ । त्यस्तै विद्युत नजिक माँ जानकी अस्पताल र पासांगलामु मार्गमा वैष्णवी अस्पतालले समेत नेपालगन्जबाटै सेवा प्रदान गरिरहेका छन् । सुर्खेत रोडमा सन्तोष न्यूँ लाइफ अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा.वैभव टण्डन लगायतका चिकित्सकहरुले सेवा दिईरहनुभएको छ । नेपालगन्जमै अन्य अस्पताल सञ्चालनको तयारीमा छन् । यस्तै नेपालगन्जमै केही चर्चितक चिकित्सकहरुले आफ्नै लगानीमा अस्पतालहरु संचालनको तयारी गरेका छन् ।

दर्जनौ निजी अस्पताल स्थापना भएसँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका नागरिक काठमाडौं, भारतलगायत विभिन्न ठूला सहरमा गई चर्को मूल्यमा उपचार गर्नुपर्ने बाध्यता हट्ने जानकारहरु बताउँछन्। यस्तै स्वास्थ्य क्षेत्रको विकासमा पनि टेवा पुग्ने धेरैको विश्वास छ ।

  • ८ असार २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech