शम्शेरगन्जमा स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०८१, मंगलवार

नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं.८ शम्शेरगन्जमा स्वास्थ्य शिविर गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको समन्वय, कौशिल्या अस्पताल प्रालि कोहलपुर र माइडेन्टल क्लिनिक प्रालि कोहलपुरको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए ।

शिविरको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा उहाँले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन शिविरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले घरदैलोमा सेवा पाउँदा नागरिकहरुलाई लाभान्वित भएको बताउनुभयो ।

खासगरी वृद्धवृद्धाहरु स्वास्थ्य चेकजाँचका लागि टाढा जान नसक्ने र महिलाहरु पनि घरधन्दाका कारण घर छोड्न नसक्ने गरेको अवस्थामा गाउँघरमै शिविर राख्न उनीहरुलाई सहज भएको अध्यक्ष पौडेलको भनाइ छ । यस्तै वडाअध्यक्ष शालिकराम डाँगीले चिकित्सकहरु घरदैलोमा नै आएर विशेषज्ञ सेवा प्रदान गर्दा वडाबासीलाई सहजता मिलेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि वडाले स्वास्थ्य शिविरलाई उच्च प्राथमिकताका दिएर योजना बनाउने पनि उल्लेख गर्नुभयो । कौशिल्या अस्पतालका निर्देशक राम न्यौपानेले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँघरमा पुगेर शिविर गर्ने गरेको बताउनुभयो । उहाँले यस्ता शिविरका माध्यमबाट रोगको पहिचान हुने र उपचारमा सहजता ल्याउने बताउनुभयो । उहाँले शिविरमा आएका बिरामीलाई थप उपचार गर्नुपरे अस्पतालको सेवामा २५ प्रतिशत छुट दिने पनि जानकारी दिनुभयो ।

उहाँले थप उपचारका लागि पर्चा निशुल्क गरिने पनि जानकारी दिनुभयो । शिविरमा राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा, कौशिल्या अस्पताल र माइडेन्टल क्लिनिकका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिएको कौशिल्या अस्पतालका प्रशासकीय अधिकृत शंकर न्यौपानेले जानकारी दिनुभयो ।

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech