आँप खाँदाका यस्ता छन् फाइदाहरु

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०८१, शनिबार

नेपालगन्ज: नेपालमा जेठ र असार महिनामा अत्यधिक खाइने फलफूलमध्ये एक हो, आँप । आँपलाई फलफूलको राजा भनेर पनि चिनिन्छ । केटाकेटी, युवा र बुढापाका सबैलाई मनपर्ने आँपले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । तराई क्षेत्रमा धेरै फल्ने आँप, हिमाल र पहाडमा पनि धेरै रुचाइन्छ ।

नेपालमा पाइने आँपका प्रकारमध्ये मालदह, दशहरी, आम्रपाली आदि हुन् । यीमध्ये नेपालमा मालदहको बजार धेरै छ । आँपका धेरै परिकार बनाएर खाने पनि गरिन्छ । काँचो आँपलाई कोरेर, सिलौटामा पिसेर आचार बनाइन्छ । काचो आँपलाई पकाएर खठीमिठी (गुलियो अचार) पनि बनाइन्छ । काचो आँप काटेर सुकाएर मरमसला हालेर बट्टा आचार पनि हालिन्छ । पाकेको आँप सबैभन्दा धेरै खाइन्छ ।

जेठ र असारमा पाइने आँप सस्तो र स्वास्थ्यका लागि लाभदायी मानिन्छ । आँपमा फाइबर, भिटामिन, मिनिरल्स, एन्टिअक्सिडेन्टजस्ता तत्त्वहर पाइन्छ ।

आँप खानुका फाइदा
-आल्सरेटिभ कोलाइटिस (आन्द्राको सुजन) कम हुन्छ ।
-पाचन स्वास्थ्य सुधार (विशेषगरी एमाइलेज जसले कार्बोहाइड्रेट तोड्छ) ।
-पोलिफेनोल्सले कब्जियतमा सहयोग गर्छ ।
-फलाम, जुन एनिमियाका लागि राम्रो हुन्छ ।
-भिटामिन ‘सी’ र भिटामिन ‘ए’ ले आँखा स्वस्थ, कोलेस्ट्रोल स्तर सन्तुलन राख्न र छालाको क्षति रोक्न मद्दत गर्छ ।
-भिटामिन ‘बी’ हुन्छ, जसले सेरोटोनिन स्राव गर्छ, जसले राम्रो निद्रामा सहयोग गर्छ।
-कोलन र स्तन क्यान्सर रोकथाम गर्छ ।

पकाएको आँप खाने विधि 

१) राम्ररी धुनुः

आँपलाई खाने बेलामा राम्ररी सफा पानीले धुनुपर्छ । यसले आँपको सतहमा रहेको धुँलो, फोहोर र केही कीटनाशक हटाउन मद्दत गर्छ ।

२) छिल्को हटाउनुः

आँपको छिल्को हटाएर मात्र खाने गर्नुपर्छ । धेरैजसो रसायन र कीटनाशक छिल्कामा हुने भएकाले छिल्को हटाउँदा सुरक्षित हुन्छ ।

३) पानीमा भिजाउनुः

आँपलाई खानुअघि १५-२० मिनेटसम्म सफा पानीमा भिजाउनुहोस् । यसले कीटनाशक र रसायनहरूको मात्रा कम गर्न मद्दत गर्छ ।

४) बेकिङ्ग सोडा प्रयोग गर्नुः

पानीमा अलिकति बेकिङ्ग सोडा मिसाएर आँपलाई धुनुपर्छ। बेकिङ्ग सोडाले कीटनाशक र रसायन हटाउन मद्दत गर्छ ।

५) नुन पानीमा भिजाउनुः

नुन पानीमा आँपलाई १०-१५ मिनेटसम्म भिजाउनुहोस् । यसले पनि कीटनाशक कम गर्न सहयोग पुर्‍याउँछ ।

६) भिनेगर प्रयोग:

पानीमा थोरै भिनेगर मिसाएर आँपलाई धुनुहोस् । भिनेगरले कीटनाशकको प्रभाव कम गर्न सहयोग गर्छ।

७) अर्ग्यानिक आँप छान्नुः

सकेसम्म अर्ग्यानिक रूपमा उब्जाएका आँप प्रयोग गर्नुहोस् । अर्ग्यानिक फलफूलमा कीटनाशकको मात्रा कम हुन्छ ।

  • २६ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech