फत्तेपुर स्वास्थ्य चौकीमा सोलार जडान, २४ सै घण्टा प्रसूति सेवा

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०८१, बुधबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी वडा नं. ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । सोलार जडानपश्चात् २४सै घण्टा प्रसूति सेवा सञ्चालनमा सहज र अनियमित विद्युत आपूर्ति हुँदा पर्ने समस्याहरूको समाधान हुने भएको छ । फत्तेपुर स्वास्थ्य चौकीका इन्चार्ज मनोजकुमार मिश्रले स्वास्थ्य चौकीमा सोलार जडान भएपछि अनियमित विद्युत आपूर्ति हुँदा भइरहने समस्याको समाधान भएको र अब २४सै घण्टा प्रसूति सेवासमेत सञ्चालन गरिने जानकारी दिनुभयो । “बत्तीको लोडसेडिङ तथा विद्युत आपूर्तिमा अनियमित हुँदा चिस्यान र भण्डारण गराएर राख्नुपर्ने भ्याक्सिनलगायतमा अत्यन्तै समस्या हुँदै आएको थियो, लामो समयसम्म बत्ती नहुँदा भ्याक्सिनहरू चिस्याउन र भण्डारणका लागि स्वास्थ्य कार्यालय नेपालगन्जसम्म पु¥याउनुपथ्र्यो” इन्चार्ज मिश्रले भन्नुभयोे, “अब सोलार जडान भएको छ, विद्युत अनियमितताबाट हुने सबै समस्याहरू हल भएका छन्, विशेष गरी प्रसूति सेवा अब २४सै घण्टा उपलब्ध गराउँछौ ।”

इन्चार्ज मिश्रका अनुसार राप्तीसोनारीका वडा नं. ३, ४, ५, ६ र ७ गरी पाँचवटा वडाहरूमा भ्याक्सिन चिस्याउने र भण्डारण गर्ने उपकरण छैनन् । ती वडाका मासिकरुपमा बालबालिकाहरूलाई लगाउनुपर्ने भ्याक्सिन तथा अन्य भ्याक्सिनसमेत यही स्वास्थ्य चौकीमा चिस्यान र भण्डारण गराएर वितरण गरिँदै आइएको छ । बत्ती नहुँदा भ्याक्सिन चिस्याउनका लागि स्वास्थ्य कार्यालय नेपालगन्जसम्म लैजानुपर्ने बाध्यता रहेको थियो । भ्याक्सिनलाई प्लस दुईदेखि प्लस ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुँदा नियमित बत्तीको आपूर्ति नहुने समयमा अत्यन्तै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा रहेका दुई थान एलआर फ्रीज र प्रसूति सेवाका उपकरणहरू नियमित सञ्चालनका लागि अब सोलार जडानपछि नियमित बत्ती आपूर्ति हुने र प्रसूति सेवा, इरिपोर्टिङ, इएलएमस रिपोर्टिङ, इहाजिरीलगायत अन्य सबै सेवाहरू सञ्चालनमा सहज हुने उहाँको भनाइ छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष रामलखन थारुले स्वास्थ्य चौकीमा सोलार जडान भएपछि २४सै घण्टा विद्युत आपूर्तिमा सहज भएको बताउनुभयो । उहाँले विद्युत आपूर्ति अवरुद्ध हुँदा हुने सबै प्रकारका समस्याको समाधान भएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ले आफ्नो संसदीय विकास कोषबाट वैकल्पिक ऊर्जाका लागि ५ लाख रुपियाँको बजेट विनियोजन गरिदिएको र सोही रकमबाट ३.२ केबी क्षमताको सोलार जडान गरिएको वडाध्यक्ष थारुले जानकारी दिनुभयो । सोलार जडान भएपछि यहाँबाट वितरण गरिने सबै वडाहरूका भ्याक्सिन चिस्यान र भण्डारणमा कुनै समस्या नहुने उहाँको भनाइ छ ।

  • १६ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech