बालबालिकालाई लगाइने पोलियो र डिपिटी खोप अभाव

पोलियो र डिपिटीको खोप नहुँदा नियमितरुपमा खोप प्राप्त गर्नुपर्ने बाँकेका १३ हजार बालबालिका उक्त सेवाबाट वञ्चित छन् ।


    • स्वास्थ्य पेज

  • १८ बैशाख २०८१, मंगलवार

नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेमा बालबालिकालाई नियमित रुपमा लगाउनुपर्ने पोलियो र डिपिटी खोप अभाव भएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको हो । उक्त उमेर समूहका बालबालिकालाई नियमित रुपमा प्रत्येक महिना लगाउनुपर्ने उक्त खोप जिल्लाका स्वास्थ्य चौकीहरुमा नपुग्दा बालबालिकाहरु खोप लगाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनकराज गिरीले कार्यालयमा विगत केही समयदेखि पोलियो र डिपिटीको खोप नभएको बताउनुभयो । उहाँले गत माघ महिनादेखि नै जिल्लामा मागअनुसार खोप परिपूर्ति गर्न नसकिएको र नियमित हुन नसकेको बताउनुभयो । निरीक्षक गिरीले जिल्लामा उक्त खोप नहुँदा नियमित रुपमा खोप प्राप्त गर्नुपर्ने बालबालिकाहरुले खोपको मात्रा नपाएको तथा खोप अभाव भएको भनेर पटक पटक प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माग गरेको बताउनुभयो ।

“गत माघदेखि नै हामीसँग पोलियो र डिपिटी खोपको अभाव छ, स्वास्थ्य चौकीहरुबाट माग भएअनुसार नियमित परिपूर्ति गर्न सकेका छैनौं, खोप आपूर्ति गर्ने निकाय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पटक पटक माग गरेका छौं, तर पनि खोप आएको छैन, बालबालिकाहरुले नियमित खोपको मात्रा पाउन सकेका छैनन्” निरीक्षक गिरीले भन्नुभयोे ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध नियमितरुपमा ९ किसिमको खोप लगाउनुपर्ने उनको भनाइ छ । बाँकेमा उक्त खोप लगाउनुपर्ने बालबालिकाको संख्या १३ हजारको हाराहारीमा रहेको गिरीले बताउनुभयो । जिल्लामा पोलियो र डिपिटीको खोप नहुँदा नियमितरुपमा खोप प्राप्त गर्नुपर्ने १३ हजार बालबालिका उक्त सेवाबाट वञ्चित छन् ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech