नेपालगन्जबाट गएको चिकित्सक टोलिले सल्यानी जनतालाई दियो स्वास्थ्य सेवा

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०८१, मंगलवार

नेपालगन्ज: सल्यानको कालिमाटीमा आयोजित पाँच दिने निः शुल्क स्वास्थ शिविरमा एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । कालिमाटी गाँउपालिका स्वास्थ्य शाखाकोे आयोजनामा बैशाख ५ देखि ९ गतेसम्म शिविर चलेको थियो । उक्त शिविरमा एक हजार २५ जना स्थानीयहरुले स्वास्थ सेवा लिएका हुन् । त्यसक्रममा ७ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको, १० जना पाठेघर खसेका महिलाहरुलाई रिङ्ग राखिएको, ५ जनामा टिबीको खकार परिक्षण गरिएको थियो ।

कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले गाउँपालिकाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन लागि परेको बताउनुभयो । उहाँले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन पालिका लागि परेको उल्लेख गर्नुभयो । निःशुल्क स्वास्थ्य शिविरले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकहरुलाई ठूलो राहात प्रदान गरेको उहाँको भनाइ छ । सल्यानको विकट मानिने कालिमाटी गाउँपालिकाको सम्पूर्ण वडाका जनताहरुलाई मध्य नजर गर्दै गाँउपालिकाको वडा नं. १, ३, ५, ६ र ७ का स्वास्थ्य संस्थामा शिविर भएको हो । स्वास्थ शिविरमा विशेष गरि चिकित्सहरुको सेवाबाट जिन्दगीभर बन्चित भएका गरिब, असाहय तथा लामो समयसम्म विभिन्न रोगबाट पीडित भएर स्वास्थ पहुँचबाट बाहिर रहेका जनताहरुले धेरै ठूलो राहत पाएको कालिमाटी गाँउपालिकाकी उपाध्यक्ष सनसिल्ता वली डि.सीले बताउनुभयो ।

यस्तै कालिमाटी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेलले निःशुल्क स्वास्थ्य शिविरले दूरदराजका स्थानीयले लाभ लिएको बताउनुभयो ।स्त्रीरोग विशेषज्ञ डा. सन्देश आचार्यले पछिल्लो समय महिलाहरुमा पाठेघरको संक्रमणको उपचार अभावमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढिरहेको बताउनुभयो । उहाँले शिविरका माध्यमबाट लक्षित वर्गको रोग पहिचानमा सहजता भएको बताउनुभयो ।

स्वास्थ शिविरमा बिरामीहरुलाई जनरल फिजिसियन सम्बन्धि सेवा, स्त्रीरोग विशेषज्ञ सेवा, भिडियो एक्सरे सम्बन्धि सेवा, ल्याब प्रयोगशाला सम्बन्धि सेवा तथा छाती एवम् दीर्घ रोग सम्बन्धि समस्याहरु त्यसैगरी स्वास्थ शिविरमा उपचार गर्न आउनु भएका बिरामीहरुलाई निः शुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सन्देश आचार्य, त्यसैगरी डा. देवेन्द्र आचार्य र डा. रवि शर्मा वाग्लेले सेवा प्रदान गर्नुभएको थियो ।

शिविरमा उत्साह जनक रुपमा जनताहरुको सहभागिता भएको र जनताको स्वास्थ नै जनप्रतिनिधिको पहिलो प्राथमिकता रहेको वडा न. ६ का वडा अध्यक्ष टेक बहादुर पुलामीको भनाइ थियो । स्वास्थ सेवाको पँहुच भन्दा बाहिर रहेका आम नागरिकहरुलाई यस्ता खालका स्वास्थ शिविरले धेरै ठूलो राहत प्रदान गर्ने डा. देवेन्द्र आचार्यले जानकारी दिनुभयो । कालिमाटी गाँउपालिकाका स्वास्थ शाखा प्रमुख गोरख बहादुर थापाको संयोजकत्वमा शिविर भएको हो ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech