गर्भावस्थामा छालाको समस्या देखिए के गर्ने ?

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०८१, बिहीबार

गर्भावस्थामा महिलाको छालामा विभिन्न प्रकारको परिवर्तन देखा पर्छ । यसबेला छाला संवेदनशील हुने भएकाले डाबर आउने, चायापोतो आउने, चिलाउने, छाला सुक्खा हुने जस्ता समस्या देखा पर्छन् । यी समस्या गर्भावस्थामा सामान्य नै भएपनि कहिलेकाहीं जटिल समेत बन्न सक्छ ।

छालासम्बन्धी समस्या गर्भावस्थाको कुनै पनि चरणमा देखा पर्न सक्छन् । खासगरी दोस्रो र तेस्रो त्रैमासिकमा यस्ता समस्या देखिन्छन् ।

छाला चिलाउने समस्या ‘कोलेस्टेसिस’

गर्भावस्थामा प्रोजेस्टोन हार्मोनको मात्रा बढी हुन्छ । प्रोजेस्टोनको मात्रा बढी हुँदा त्यसले पित्तथैलीबाट आउने पित्तको प्रवाहमा असर गर्छ, जसले गर्दा गर्भवती महिलामा शरीर चिलाउने समस्या देखा पर्छ । विशेषगरी हत्केला र पैताला धेरै चिलाउने समस्या हुन्छ । यो समस्या गर्भावस्थाको तेस्रो चरणमा देखा पर्छ ।

पेटको बच्चा ठूलो छ, पेटमा एक भन्दा बढी बच्चा हुर्किरहेको छ र पहिलो बच्चा जन्माउने महिलामा छालासम्बन्धी समस्या धेरै देखा पर्छ ।

गर्भावस्थामा देखापर्ने छालासम्बन्धी अन्य समस्या

एक्जिमा’ एलर्जी

गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता निकै कमजोर भएमा एक्जिमाको जोखिम बढ्न सक्छ । यो बेला छाला सुक्खा हुने हुँदा संक्रमणको जोखिम बढ्छ, जसले एक्जिमाको सिकार हुन सक्छन् ।

चायापोतो

गर्भावस्थामा अनुहारको छालामा चायापोतो देखिने समस्या पनि धेरैमा देखा पर्छ । चायापोतो गर्भावस्थाको दोस्रो तीन महिनाबाट देखिन थाल्छ । यो बढ्दै जान सक्छ । गर्भावस्थामा छाला संवेदनशील हुन्छ, त्यही कारण अनुहारमा चायापोतो आउने सम्भावना बढ्छ ।

स्ट्रेच मार्क

गर्भधारणको क्रममा वजन बढ्नु, स्तनको आकारमा परिवर्तन हुनु, गर्भाशय बढ्नु जस्ता कारणले गर्भवती महिलालाई स्ट्रेच मार्क हुन्छ । जब छालामा अचानक बढी परिवर्तन हुन्छ, तब छालामा समावेश कोलाजन र इलास्टिन, जसले छालालाई टाइट राख्छ, त्यो स्ट्रेच भएर टुक्रिन्छ । यही कारण गर्भावस्थामा स्ट्रेच मार्कको समस्या देखा पर्छ ।

ण्डीफोर

गर्भावस्थामा डण्डीफोरको समस्या पनि सामान्य रूपमा देखा पर्छ । यो बेलामा हुने हार्मोनल परिवर्तनको कारण डण्डीफोरको समस्या निम्तिन्छ । गर्भावस्थामा छाला संवेदनशील हुने र एन्ड्रोजन हार्मोनको स्तर बढ्ने कारणले डण्डीफोरको समस्या देखा पर्छ ।

छाला कालो हुने

गर्भावस्थामा नाइटो भन्दामुनि कालो लाइन देखा पर्ने पनि हुन्छ । अनुहार, स्तन कालो हुने र बिस्तारै सम्पूर्ण शरीर नै कालो हुने हुन्छ । यस्तोमा शरीरको छालामा भएको परिवर्तन कुनै रोग पो हो कि भन्ने पनि लाग्न सक्छ । तर यो पनि गर्भावस्थामा हुने छालाको सामान्य समस्या हो यसबाट खासै आत्तिनु पर्दैन ।

डाबर आउने

गर्भावस्थामा आगोले जलेको जस्तो फोका उठ्ने समस्या पनि देखिन सक्छ । यस्तो समस्या देखिएको खण्डमा छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । साथै केही गर्भवती महिलामा पेट तथा तिर्घामा सानो सानो बिमिरा आउने समस्या पनि हुनसक्छ ।

गर्भावस्थामा छालाको समस्या देखिए के गर्ने ?

गर्भावस्थामा सामान्यदेखि जटिल किसिमका छालाको समस्या देखिन सक्ने भएकाले धेरै प्रकारको उपचार वा औषधिको प्रयोग गर्न हुँदैन । यसबेला छालामा स्याहारमा विशेष ध्यान दिनुपर्छ ।

गर्भावस्थामा छालाको सामान्य समस्या देखियो भने छालालाई सुक्खा हुन नदिन नियमित मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

गर्भवती हुनु भन्दा पहिले नै छालासम्बन्धी केही समस्या छ भने त्यसको उपचार गरेर मात्र गर्भवती भयो भने छालाको जटिल समस्या निम्तिने जोखिम कम हुन्छ ।

गर्भावस्थामा महिलाले एलर्जी हुने कुरा याद गरेर एलर्जीबाट जोगिएर पनि छालाको समस्याबाट बच्न सक्छन् । छालासम्बन्धी सामान्य समस्या देखिएमा जटिल हुन नदिन घाममा धेरै समय नबस्ने, सनस्क्रिनको प्रयोग गर्ने, पूरा बाहुला भएको कपडा लगाउने गर्नुपर्छ ।

कतिपय अवस्थामा गर्भवती महिलाको अवस्था हेरेर यसको उपचार गर्नुपर्छ । गर्भावस्थामा जटिल प्रकारको  छालासम्बन्धी समस्या देखा परेमा भने जुन पायो त्यही औषधि सेवन गर्न मिल्दैन । त्यसैले अस्पताल गएर चिकित्सकको सल्लाहमा गर्भावस्थालाई असर नगर्ने किसिमको औषधि सेवन गर्नुपर्छ ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech