सूर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज उपमहानगर

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८१, मंगलवार

समिरमान श्रेष्ठ ।
नेपालगन्जः अस्पताल, शैक्षिक संस्था, सार्वजनिक स्थान र मन्दिर छेउछाउमा सूर्तिजन्य पदार्थको बिक्रि वितरण र प्रयोग गर्न पाइँदैन। ‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ ले यसलाई कानून विपरित मान्छ। यही ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्रि वितरण र सेवन गर्न बर्जित गरेको छ। अस्पताल लगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तिजन्य पदार्थको बिक्रि वितरण गर्न नपाइने ऐनमा उल्लेछ। यही कानुन र ऐनलाई नेपालगन्ज उपमहानगरपालिकाले कार्यान्वयन सुरु गरेको छ। स्वास्थ्यलाई गम्भीर असर पर्ने सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाले कडाइ सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले धुम्रपान तथा खासगरी सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ बर्ष २०८१ को प्रारम्भसंगै धुम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानकै रुपमा अगाडि बढाइएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । पहिलो चरणमा सचेतना प्रबद्र्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी नेपालगन्ज उपमहानगरपालिका अगाडि बढेको छ ।

धुम्रपान तथा सूर्तिजन्य पदार्थको कानुनसम्मत विक्रि वितरण, सार्वजनिक ठाउँहरुमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको नगर प्रमुख विष्टको भनाइ छ । धुम्रपान र सूर्तिजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउने नगर प्रमुख विष्टको भनाइ छ ।

सरकारले २०७१ सालमा सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमलूक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका जारी गरेको थियो। यति मात्र नभई महिला, बालबालिकालाई बिक्रि वितरणलाई ऐनले रोक लगाएको छ। तर पनि प्रभावकारी कार्यान्यन हुन सकिरहेको छैन् । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि सरकारले बनाएको कानून कागजमै सीमित भइरहेकाले बेला उपमहानगरपालिकाले भने कार्यान्वयनको पहल कदमी अगाडि बढाएको हो । ऐन कार्यान्वयन गर्ने निरीक्षक सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको प्रशासकीय अधिकृतलाई तोकिएको छ। त्यही भएर उपमहानगरपालिकाले प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई समेतसँगै राखेर नेपालगन्जमा प्रभातफेरी सहित अभियान थालिएको हो ।

सचेतना प्रबद्र्धनको अभियानसंगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति नेपालगन्ज उपमहानगरपालिकाले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ बमोजिम कारवाही गरिने स्पष्ट पार्नुभयो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्की, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको पनि उपस्थिति थियो । प्रभातफेरी पश्चात आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरबासीको साथ आवश्यक रहेको बताउनुभयो ।

स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वतःस्फूर्त धुम्रपान र सुर्तीजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उनीहरुको जोड छ । यो अभियानमा नेपालगन्ज जेसिजले पनि सहकार्य गरेको छ । धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगहरुको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech