घर–घरमा पुगेर पशुलाई ‘भ्याक्सिन’

    • स्वास्थ्य पेज

  • १५ चैत्र २०८०, बिहीबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले घर–घरमा पुगेर पशुलाई ‘भ्याक्सिन’ लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको पशु शाखाले नगरका सबै वडामा घर–घरमै पुगेर भ्याक्सिन लगाउने अभियान थालेको हो । विहीबार वडा नम्बर १८ का घर–घरमा पुगेर पशुलाई भ्याक्सिन लगाइएको छ । उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले वडा नम्बर १८ को अभियानको उद्घाटन गर्नुभयो ।

पशु शाखा प्रमुख लक्ष्मी चन्दका अनुसार पीपीआर, खोरेत, भ्यागुते र स्वाइनफिवर विरुद्धका भ्याक्सिन लगाइएको छ । पीपीआर २५ हजार, खोरेत २० हजार, भ्यागुते १५ हजार र स्वाइनफिवरको एक हजार डोज लगाउने लक्ष्य रहेको छ । उपमहानगरपालिकाले घर–घरमा गएर भ्याक्सिन लगाउनका लागि तीन जना भ्याक्सिनेटर र तीन जना सहयोगी नियुक्त गरेको छ । दिनेश विश्वकर्मा, हिरालाल अहिर र शिशराम यादवले भ्याक्सिन लगाइरहेका छन् ।

सबै वडाका प्रत्येक घर–घरमा पुगेर पशुलाई भ्याक्सिन लगाउने काम भइरहेको छ । वडा नम्बर १३, १४, १७, १९,२०, २१, २२ र २३ मा भ्याक्सिन लगाउने काम सकिएको छ । पशुमा कुनै पनि बेला पीपीआर, खोरेत, भ्यागुते र स्वाइनफिवर फैलिन सक्ने भएकाले उपमहानगरपालिकाले यी रोगविरुद्ध भ्याक्सिन लगाएको हो ।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech