राप्ती सोनारीमा १० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

    • स्वास्थ्य पेज

  • १५ चैत्र २०८०, बिहीबार

नेपालगन्जः बाँकेको राप्ती सोनारीमा गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको छ । राप्ती सोनारी गाउँपालिकामा १० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको छ ।

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार उक्त संख्यामा गाईभैँसीलाई खोप लगाइएको हो । जिल्लामा भने एक लाख पाँच हजार एक सय पाँच गाईभैँसीलाई उक्त खोप लगाइएको छ ।

सरकारले उपलब्ध गराएको अनुदानका आधारमा जिल्लाका आठ स्थानीय तहका गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । खोप लगाउने कार्यक्रम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

“अधिकांश स्थानीय तहमा खोप लगाइसकिएको छ । अबको एक सातामा खोप लगाइसक्छौँ”, उहाँको भन्नुभयो “यो खोप बाख्रा र बङ्गुरलाई पनि लगाउँछौँ । हाललाई (खुरफट्टा) गाई र भैँसीलाई प्राथमिकता दिएर खोप लगाउँदै छौँ ।” जिल्लामा अहिलेसम्म खोरेतको समस्या नदेखिएको र समस्या नआओस् भनेर सो खोप लगाइएको वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले उल्लेख  गर्नुभयो । प्रत्येक वर्ष खोप अनिवार्यरुपमा लगाउनुपर्ने उहाँको भनाइ छ ।

खोरेतविरुद्ध पशु चौपायालाई बुस्टर डोज पनि लगाउन आवश्यक भएको उहाँले बताउनुभयो । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका अनुसार जानकी गाउँपालिकामा १५ हजार डोज, खजुरा गाउँपालिकामा १५ हजार एक सय ५०, बैजनाथ गाउँपालिकामा १० हजार, कोहलपुर नगरपालिकामा पाँच हजार, डुडुवा गाउँपालिकामा १५ हजार, नेपालगन्ज उपमहानगरपालिकामा २० हजार तथा नरैनापुर नगरपालिकामा १५ हजार डोज खोप लगाइएको छ ।

गाई र भैँसीमा खोरेत रोगबाट क्षति हुनबाट बचाउन बर्सेनि उक्त खोप लगाइँदै आएको विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । खोप लगाउन ७० कर्मचारी परिचालन गरिएको छ । बाँकेमा गत वर्ष बुस्टर डोजसहित एक लाख ४७ हजार डोज खोप लगाइएको थियो । सबैभन्दा बढी पशुपालन हुने क्षेत्र डुडुवा, नरैनापुर जानकी र खजुरा गाउँपालिका रहेका छन् ।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech