एक चिकित्सक भएर ‘तिमीहरूको बाँच्ने अधिकार यति नै हो’ भनेर म कसरी भनौँ ?

    • डा.राजकुमार विक /बालरोग विशेषज्ञ

  • २९ फाल्गुन २०८०, मंगलवार

म र मेरो परिवार देशको दुर्गम ठाउँमा सेवा गरेर केही समयदेखि काठमाडौंमै जागिर गर्दै आएका छौँ। घरबाट टाढा भएको हुँदा हाम्रो सानो बच्चालाई हामी दिउँसो अफिस गएको समयमा हेरचाह गरिदिने र खुवाउने व्यक्तिको खोजीमा थियौँ। केही दिनअघिको कुरा हो। नजिकैको चिन्जानबाट एकजना बहिनी आउने कुरा पक्का भयो।

उनको दुई छोरी मध्ये ६ वर्षीय सानी छोरीलाई करिब २ वर्ष अघिदेखि ब्लड क्यान्सर देखिएर कान्तिबाल अस्पतालमा उपचार गर्दै रहेछिन्। पश्चिम बर्दियाकी गरिब परिवारकी उनले गाउँबाट चन्दा उठाएर उपचार गराउँदैआएकी रहेछिन्। दुवैजना छोरी,  त्यसमाथि एउटी छोरीलाई क्यान्सर देखिएको अवस्थामा घर-परिवारमा खासै राम्रो सम्बन्ध नभएको भन्ने गर्थिन्।

निम्न-वर्गीय परिवारमा जन्मिएकी उनी बाहिरी देश जान पासपोर्ट बनाउन दिएकी रहेछिन्। कतैबाट कामको अवसर आएमा दुई छोरी र आफ्नो ज्यान पाल्न विदेशिने सोचेकी रहेछिन्। उनीमात्रै हैन, हाम्रो गाउँ समाजमा रहने प्रायः दाजुभाइ तथा दिदिबहिनी रहर नभइ बाध्यताले गर्दा दिनहुँ विदेशिने गरेका छन्।

क्यान्सर उपचारको सबै चरण पार गरिसकेपछि सानी छोरीलाई गाउँमा हजुरबुवा हजुरआमा हुनुभएको ठाउँ पठाएकी थिइन्। एकदिन सानी छोरीलाई केही समस्या देखिएपछि हजुरबुवाले खजुरा क्यान्सर अस्पताल लग्नु भएको रहेछ। रगतमा हल्का समस्या मात्रै भनियो। अनि क्यान्सर उपचारको कोर्ष सकेपछि फलोअपको लागि फेरि कान्तिबाल अस्पतालमा हजुरबुवाले लिएर आउनुभयो।

छोरीको शरीर फुलेको देखिन्थ्यो र रगत जाँच गराउँदा क्यान्सर बल्झिएको देखियो। हुन त वयस्कभन्दा बालबालिकामा हुने रगतको क्यान्सरको उपचार बढी सफल हुने गरेको तथ्यांकले भन्ने गर्दछ। तर हरेक व्यक्तिको उपचार सफल हुन्छ नै भन्ने छैन। उनी सानीछोरीमा पनि त्यो कुरा सत्य हुन पुग्यो।

हाम्रो बच्चा हेर्ने बहिनीको छोरीमा त्यस्तो बज्रपात भएको देख्दा हामी बुढाबुढीको मन पनि खिन्न भयो। हामीलाई भेटेपछि बहिनी डाको छोडेर रुन थालिन्। एउटा अभिभावक र अर्को बाल चिकित्सक भएको नाताले ‘मेरो छोरीलाई बचाइदिनू पर्यो दाइ’ भनेर आफ्नो छोरीको ज्यानको लागि भिख माग्दै थिइन्। एकचोटि उपचार सफल भएन भने फेरि केमोथेरापी सुरु गर्न त सकियो तर त्यो उपचार सफल हुने सम्भावना तुलनात्मक रुपमा न्यून हुनेगर्छ। सबैभन्दा राम्रो उपाय भनेको नै बोनम्यारो प्रत्यारोपण नै हो। तर आर्थिक अवस्था न्यून भएकालाई बोन म्यारो प्रत्यारोपण गराउन विकल्प दिनु भनेको चर्केको घाउमा नुन छर्किनु जस्तो लाग्दछ।

निम्न वर्गीय व्यक्तिलाई बोनम्यारो ट्रान्स्प्लान्ट गर्नु परेमा आर्थिक अवस्था सम्झेर उपचार गर्ने आँट नै आउँदैन। फेरि केमो थेरापी गराउन आर्थिक अवस्था दयनीय रहेकाले बोनम्यारो ट्रान्स्प्लान्ट गर्न कसरी आँट गर्न सकुन् वा आँट गर्न सल्लाह दिउँ जस्तो भएको थियो। झन् त्यति नै बेला एकजना अध्ययनरत चिकित्सकले आर्थिक भारले गर्दा क्यान्सरको उपचार गराउन नसक्दा मृत्यु भएको भनी सामाजिक संजालमा समाचार पढेको थिएँ।

रगत क्यान्सरको उपचार भनेको केमोथेरापी वा बोनम्यारो ट्रान्सप्लान्ट मात्रै नभएर आवश्यकता अनुसारको खानपिन, सरसफाइ, सकरात्मक सोच, घर परिवारको साथ र स्नेह र सबैभन्दा महत्वपूर्ण कुरा पैसा नै थियो। यी सबै कुराबाट ती बहिनी र उनकी छोरी टाढा थिइन्। सास रहुन्जेल आश भनेझैँ अहिलेको समयमा सबैभन्दा उत्तम विकल्प भन्नु नै फेरि उपचार सुरु गर्नु नै हो भनेर सम्झाएँ।

सानीको नाकबाट रगत बगिरहेको थियो। प्लेटलेट जचाउँदा निकै कम भएर रगत चढाउनु पर्यो। उपचार सुरु गर्ने भनेकै दिन क्यान्सरको जटिलता (ट्युमर लाइसिस सिन्ड्रोम) देखिन थाल्यो। राति नै आइसियूमा पठाउने कुरा भयो तर कान्तिबाल अस्पतालमा खाली नभएकोले त्यो रात त्यही अन्कोलोजी वार्डमै बाध्यताले बस्नुपर्यो। भोलिपल्ट अवस्था झन् बिग्रियो र म आफ्नै अस्पतालको आइसियू वार्डमा बेड खाली छ कि भनी बुझ्न गएँ तर त्यहाँ खाली हुने सम्भावना देखिएन।

त्यो दिन मेरो ओपिडीको पालो भएर म एकदम व्यस्त थिएँ। त्यसैले चाहेर पनि उनीहरूसँग लामो समय बस्न पाएको थिइनँ। यत्तिकैमा वहाँहरूलाई आइसियूमा बेड नपाएर बाहिर लैजानु भन्न थालियो। एउटा गरिब निमुखा परिवारले कान्तिबाल जस्तो सस्तो, राम्रो र सर्वसुलभ अस्पतालमा आइसियूमा बेड नपाएर बाहिर अन्तै महँगो अस्पतालमा उपचार गर्न लग्नु भन्न जस्तो गाह्रो शब्द मेरो लागि सायद अरु छैन होला।

प्राइभेट अस्पतालसम्म बिरामी लगी भर्ना गर्ने क्षमता नभएका विचरा उनीहरूले महँगो उपचार गराउन सक्लान् भनेर कसरी पत्याउने हो? घरतिर फोन गर्दा ‘अब ज्यान नै जाने भए जिउँदो वा मुर्दा भए पनि यतै गाउँतिर लिएर आउनू’ भनेर कुरा भएछ। त्यही कुरा लिएर उनीहरू मकहाँ फेरि ओपिडीमा भेट्न आए।

मेरी श्रीमतीले पनि आफ्नो अफिसबाट फोनमा भन्दै थिइन्- ‘मिल्छ भने १-२ दिनलाई आइसियूमा बेड मिलाइदिनू न? अलि सजिलो भएपछि घर लिएर जान मिलोस् न। यत्तिकै गाह्रो भएको बेला त ज्यानै…’

श्रीमतीको कुरा सकिन नपाउँदै ती बहिनी ओपिडी बाहिर मुर्छा परेर ढलेको खबर पाएँ। उनलाई तुरन्तै इमर्जेन्सी कक्षमा लिएर जानु भन्दै श्रीमतीलाई पनि उनको अफिसबाट बिदा लिएर आउन खबर गरेँ।

बहिनीको अगाडि जे भनेर सान्त्वना दिए पनि मेरो मनले भन्दै थियो- गरिब परिवारमा जन्मिनु नै पाप हो। त्यसमा पनि हाम्रो जस्तो देश जहाँ स्वास्थ्य कहिले प्राथमिकतामा पर्ने गर्दैन। हामी त्यो देशका डाक्टर हौँ जहाँ बिरामीलाई पैसा छैन भने थप उपचारको व्यवस्था गर्न नसकी घर फर्क भन्नुपर्छ। प्रायः एम्बुलेन्समा बिरामीलाई बोकेर उपचार गर्न अन्तै लगिने गरिन्छ वा निको बनाएर घर फर्काइन्छ र शव बाहनले शवलाई ओसार्ने गर्दछ। तर त्यो दिन म धर्मसंकटमा थिएँ किनभने ६ वर्षीय कलिली सानीको जिउँदो शरीरलाई एम्बुलेन्समा राखेर उपचार गराउन नभइ यमराजकोमा पठाउन सल्लाह दिँदै थिए।’

पछि एकजना एम्बुलेन्स ड्राइभरसँग कुरा गरेर पूरा पैसा घरै पुगेर दिने सर्तमा उनीहरू करिब २० घण्टाको बर्दियाको यात्रामा निस्किए। सानीको श्वास फुलिएको सजिलै देख्न सकिन्थ्यो। एकछिन एम्बुलेन्समा चढाउन लाग्दा अक्सिजन जोड्न केही समय लागेको के थियो त्यही प्राण छोड्ने जस्तो गर्थिन्। ‘आमा मलाई बचाउनू, कहाँ लग्न थालेको’ भन्दै थिइन्। बेलुका कतिबेला कहाँ पुगेर श्वास छोड्ने होला भनेर सोच मग्न भएँ।

सानीछोरीले बाटोमा भोक लाग्यो भनेपछि आमाले स्याउ खान दिएकी रहेछिन्। ती अबोध बालिकाले ‘आमा, मलाई माथिबाट लिन आइसक्यो। मेरो जाने दिन आइसक्यो। हजुरहरू मिलेर बस्नुहोला। अर्को जुनीमा धनी घरमा हजुर हजुरकै कोखबाट जन्म लिन पाउँ’ भनेर भन्दै थिइन्।

नौ महिना कोखमा हुर्काएर ६ वर्षसम्म सँगै राखेर ठूलो बनाएकी छोरी अबको केही समयमा यो संसारबाट बिदा हुँदै थिइन्। एउटी आमाले आफ्नै कोखमा बच्चा तड्पीतड्पी मर्न लागेको कसरी हेर्न सक्छिन् होला? योभन्दा ठूलो दुर्भाग्य के हुन सक्ला र!

करिब रातिको २:३० बजेतिर सायद बुटवल आसपास क्षेत्रमा चिया पिउन भनी एम्बुलेन्स रोकिएको थियो। त्यति बेला नै ती सानीको स्या-स्या बढ्यो, घ्याप्लक-घ्याप्लक गर्न थालिन् र एक्कासी आमा चिच्याइन्। विचरीले घर नपुग्दै बाटैमा संसार त्यागेकी रहेछिन्। अघिसम्मको एम्बुलेन्स अब शव बोकेको गाडी भइसकेको थियो।

पहिलो पटक कसैलाई ‘तिमीहरू गरिब छौ र बाहिर लगेर उपचार गराउन नसक्ने भए जिउँदो लाश लगेर मृत्यु कुरेर बस्नू’ भन्नुपर्ने अवस्था आएको थियो। त्यो दिन मलाई आफ्नो पेसामा गर्व गर्न मन लागेन। मेरो केही सिप नलागेको महसुस गरेँ।

मेरो श्रीमतीको कानको जालीमा प्वाल परेर ८ वर्ष अगाडि नेपालगंज अस्पतालमा अप्रेसन गरेको तर विगत ६ महिनादेखि पटक-पटक कान पाकिरहने समस्या भएको हुँदा टिचिङ अस्पतालका डाक्टरहरूले सोही हप्तामा अप्रेसन गर्न सुझाउनु भएको थियो। त्यो दिन मेरो अर्को व्यक्तिगत तनाव पनि थियो। त्यसैले त्यस दिन मैले राम्रोसँग बिरामी हेर्न पनि सकेको थिइनँ।

अस्पतालमा काम गर्दा यस्ता घटना दिनहुँ देख्ने अनि महसुस गर्ने गर्दछु। यस्तो समस्या क्यान्सर, मुटु, म्रिगौला, थालेसेमिया, सिकल सेल एनिमिया, नसा, हड्डी सम्बन्धी रोग, दीर्घरोगी आदि थुप्रै बच्चाहरूमा देखिन्छ। हरेक नागरिकले बाँच्न पाउने अधिकार हुन्छ तर हाम्रो देशमा कुनै सिस्टम नै छैन।

हामीकहाँ अस्पतालमा आउने अधिकतम सेवाग्राहीले चिकित्सकको प्रेस्क्रिप्सन बिना अनावश्यक एन्टिबायोटिक र कफ सिरफकोको प्रयोग गरेको अत्याधिक मात्रामा भेटिने गर्छ। त्यसलाई हेर्ने जिम्मेवार निकाय को त? बदलिँदो प्रभावकारी सिस्टम मन पराउनेहरू एक्लै लड्न नसकेर दिनहुँ विदेशिएका छन्। यही देशमा बसेर परिवर्तन गराइ छाड्छु भन्नेको त खुट्टा तानेर नै लडाइदिन्छन्।

राजनीतिक अस्थिरता, राम्रालाई भन्दा हाम्रालाई छान्ने प्रवृत्ति कम नभएसम्म यो देश अघि बढ्ला जस्तो लाग्दैन। अन्तरआत्माबाट बिरामीको स्वास्थ्यप्रति जिम्मेवार हुने हो भने स्वास्थ्यमा आमूल परिवर्तन सम्भव छ। जिम्मेवार व्यक्तिले दीर्घरोगीको स्वास्थ्य समस्या बुझिदिए राम्रो हुने थियो। एक चिकित्सक भएर ‘तिमीहरू गरिब हौ, तिमीहरूको बाँच्ने अधिकार यति नै हो’ भनेर म कसरी र कहिलेसम्म भनौँ?

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech